
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा फैलिएको छ कि छैन भनेर तत्काल पत्ता लगाउन यतिबेला सरकारले एन्टिजेन परीक्षण थालेको छ ।
गत सोमबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सो परीक्षण सुरु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखले जनाएको छ । महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार यस्तो परीक्षण उपत्यकाका तीन हजार जनामा गरिने छ ।
यस्ता छन् एन्टिजेन परीक्षणबारे तपाईँले थाहा पाउनुपर्ने पाँच कुरा :
तत्कालै नतिजा थाहा हुने
पीसीआर परीक्षणको नतिजा आउन कम्तीमा आठ घण्टा लाग्ने गर्छ। तर एन्टिजेन परीक्षणको नतिजा आधा घण्टाभित्र आउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निर्देशक डा. वासुदेव पाण्डे बताउनुहुन्छ । चाँडै नतिजा आउने भएकाले सङ्क्रमित पत्ता लगाउन सजिलो हुने र सङ्क्रमितलाई छिटैआइसोलेशनमा राख्न सकिने उहाँको भनाई छ ।
परीक्षण सहजै र जहाँसुकै गर्न सकिने
एन्टिजेन परीक्षण सहजै र जहाँसुकै गर्न सकिने चिकित्सकहरु बताउँछन्। परीक्षणका लागि प्रयोगशालाको आवश्यकता नपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुन बताउनुहुन्छ ।
उहाँका अनुसार एन्टिजेन परीक्षणमा स्वाबलाई ठाउँको ठाउँ एउटा परीक्षण कीटमा राखेर केही क्षणमै नतिजा थाहा पाउन सकिन्छ ।
महिलाले गर्भवती भए/नभएको परीक्षण गरेजस्तै गरी यसलाई परीक्षण गर्न सकिने उहाँको भनाई छ ।
आरडिटी र एन्टिजेन परीक्षण एउटै होइन
तपाईँलाई लाग्न सक्छ एन्टिजेन र आरडीटी एकैखाले परीक्षण हो । तर आरडीटी र एन्टिजेनमा निकै फरक रहेको चिकित्सकहरू बताउँछन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निर्देशक डा. वासुदेव पाण्डे भन्नुहुन्छ-'आरडीटी परीक्षणमा शरीरमा कोरोनाभाइरससँग लड्ने एन्टिबडी विकास भएको छ कि छैन भनेर हेर्ने गरिन्छ। भने एन्डिजेन परीक्षणमा भने भाइरस नै छ कि छैन भनेर हेरिन्छ ।'
उहाँका अनुसार यो परीक्षणमा भाइरसको प्रोटिन हेर्ने गरिन्छ र त्यसैका आधारमा सङ्क्रमित पत्ता लाग्ने गर्छ।
कति प्रभावकारी ?
यो विधिबाट परीक्षण गर्दा शतप्रतिशत निश्चित हुन भने नसकिने चिकित्सकहरू बताउँछन । तत्कालै आवश्यक पर्दा मात्र यो परीक्षण उपयुक्त हुने जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे बताउनुहुन्छ ।
यसले सीटी भ्यालू ३० भन्दा बढी भएको देखाउँदैन भनिएको छ। यद्यपि यो पनि विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएकै परीक्षण विधि हो। तर ३० सीटी भ्यालू माथि नदेखाउने भनेको भर्खरै सङ्क्रमण भएको व्यक्तिलाई सङ्क्रमण नभएको देखाउने सम्भावना रहन्छ
त्यस्तो अवस्थामा उक्त व्यक्तिबाट अन्यलाई सङ्क्रमण सर्ने सम्भावना कायमै रहने डा. पाण्डेको भनाई छ ।
सरकारले पनि त्यसै कारणले गर्दा लक्षण देखिएकाहरूको एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि पीसीआर गराउनु पर्ने सिफारिस गर्ने निर्देशक डा. वासुदेव पाण्डे बताउँनुहुन्छ ।
शल्यक्रिया, समुदायमा सङ्क्रमण हेर्न र नाकामा परीक्षणका लागि उपयुक्त
यो परीक्षण विधि आमपरीक्षणका रूपमा नभई तत्कालको तत्कालै रिपोर्ट चाहिने स्थानमा उपयुक्त हुने सरकारी अधिकारीहरू र चिकित्सकहरू बताउँछन्।
जनस्वास्थ्यविद् पाण्डेका अनुसार अस्पतालहरूमा अन्य रोग लागेका र तत्कालै शल्यक्रिया गर्नुपर्नेका हकमा यो उपयुक्त हुने देखिन्छ।
त्यस्तै समुदायमा सङ्क्रमण फैलिएको छ कि छैन भनेर हेर्न पनि यसलाई प्रयोग गर्न सकिने र हाल सरकारले पनि त्यसैका लागि उपयोग गरिरहेको बताउनुहुन्छ ।
विभिन्न नाकाहरूमा मानिसहरूलाई तत्कालै परीक्षण गर्नुपर्ने हुँदा पनि यो उपयुक्त हुने डा. पाण्डेको ठम्याइ छ । बीबीसीबाट साभार
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
