नेपाल हेल्थ न्युज, काठमाडौं । लामो समयसम्म बेवास्ता गरिएको योनि माइक्रोबायोमबारे अहिले वैज्ञानिक समुदायको ध्यान बढ्दो छ । अनुसन्धानहरूले देखाएका छन् कि योनिभित्र बस्ने सूक्ष्म जीवहरूको सन्तुलनले महिलाको प्रजनन स्वास्थ्यदेखि लिएर यौनजन्य संक्रमणको जोखिमसम्म प्रभाव पार्न सक्छ ।
योनिमा हजारौँ प्रकारका ब्याक्टेरिया, फङ्गस र भाइरसहरू मिलेर बनेको नाजुक पारिस्थितिक प्रणाली हुन्छ । तीमध्ये विशेष रूपमा ल्याक्टोबसिलस नामक लाभदायक ब्याक्टेरियाले महत्त्वपूर्ण भूमिका खेल्छ । पर्याप्त मात्रामा ल्याक्टोबसिलस भएमा यसले ल्याक्टिक एसिड उत्पादन गरी योनिको वातावरणलाई हानिकारक जीवाणुका लागि प्रतिकूल बनाउँछ । यसरी यसले संक्रमणबाट जोगाउन मद्दत गर्छ ।
यूकेको औषधि तथा स्वास्थ्यसम्बन्धी नियामक निकाय मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) मा माइक्रोबायोमसम्बन्धी कार्यरत विज्ञ ख्रिसी सेर्गाकीका अनुसार, “ल्याक्टोबसिलसले रोगकारक कीटाणुसँग पोषकतत्त्व र स्थानका लागि प्रतिस्पर्धा गर्छ र प्राकृतिक एन्टिबायोटिकसमेत उत्पादन गर्न सक्छ ।”
संक्रमण र क्यान्सरसँग सम्बन्ध
यदि योनि माइक्रोबायोम असन्तुलित भयो भने ब्याक्टेरियल भजाइनोसिस (बीभी) जस्ता संक्रमण बढ्न सक्छन् । यस्तो अवस्थालाई ‘भजाइनल डिस्बायोसिस’ भनिन्छ । अनुसन्धानहरूले देखाएका छन् कि ल्याक्टोबसिलसको कमी भएका महिलामा यौन सम्पर्कबाट सर्ने संक्रमण, विशेषगरी एचआइभी र ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को जोखिम बढी हुन्छ ।
यूकेको युनिभर्सिटी अफ लिभरपुल की प्राध्यापक लाउरा गूडफेलो भन्छिन्, “स्वस्थ माइक्रोबायोम जङ्गलजस्तै हो । यदि वातावरण सन्तुलित छ भने हानिकारक जीवाणु सजिलै बढ्न सक्दैनन् ।” एचपीभी संक्रमण दीर्घकालीन भएमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम बढ्ने चिकित्सकहरू बताउँछन् ।
गर्भावस्था र सन्तान जन्ममा प्रभाव
अनुसन्धानले योनि माइक्रोबायोम र गर्भावस्थाबीच पनि सम्बन्ध देखाएको छ । ल्याक्टोबसिलसको मात्रा कम हुँदा गर्भपतन, एक्टोपिक गर्भावस्था तथा समयअगावै शिशु जन्मिने जोखिम केही बढ्न सक्छ । यद्यपि विज्ञहरूका अनुसार यो मात्रै कारण होइन, तर एउटा जोखिम कारक भने हुन सक्छ ।
लन्डनस्थित इम्पेरियल कलेज लन्डन का अनुसन्धानकर्ताहरूले ‘ल्याक्टिन(भी’ नामक प्रोबायोटिकमाथि अध्ययन गरिरहेका छन् । यसमा ल्याक्टोबेसिलस क्रिस्पाटस नामक जीवित ब्याक्टेरिया हुन्छ, जसले उच्च जोखिममा रहेका महिलामा समयअगावै सन्तान जन्मिने दर घटाउन सक्छ कि सक्दैन भन्ने परीक्षण भइरहेको छ ।
यसैगरी अमेरिका, यूके र दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले पनि उक्त प्रोबायोटिकले एचआइभीको जोखिम कम गर्न सक्छ कि सक्दैन भन्नेबारे अनुसन्धान गरिरहेका छन् ।
कसरी जोगाउने योनि माइक्रोबायोम ?
विशेषज्ञहरूका अनुसार दैनिक जीवनशैलीले पनि योनि स्वास्थ्यमा प्रभाव पार्छ । अनावश्यक रूपमा योनि सफा गर्ने रासायनिक पदार्थ, स्प्रे वा वाइप्स प्रयोग गर्दा प्राकृतिक सन्तुलन बिग्रन सक्छ । कन्डम प्रयोग गर्दा लाभदायक ब्याक्टेरियाको मात्रा जोगिन सहयोग पुग्ने अध्ययनहरूले देखाएका छन् ।
साथै, भिटामिन ए, सी, डी, ई, फोलेट र क्याल्सियमयुक्त सन्तुलित आहार, स्वस्थ तौल कायम राख्नु र धूमपान नगर्नु पनि लाभदायक मानिन्छ ।
प्राध्यापक गूडफेलोका शब्दमा, “हरियो सागसब्जी खाने, पर्याप्त निद्रा लिने र प्रशस्त पानी पिउनेजस्ता सामान्य बानीहरूले समग्र स्वास्थ्य सुधार गर्छन्, जसले सम्भवतः योनि माइक्रोबायोमलाई पनि सकारात्मक असर पार्छ ।”
भविष्यतर्फको कदम
वैज्ञानिकहरू अब माइक्रोबायोममा आधारित परीक्षण र उपचार विकासमा जुटेका छन् । यदि सफल भएमा यसले व्यक्तिगत आवश्यकताअनुसार औषधि दिने नयाँ युगको सुरुवात गर्दै प्रजनन स्वास्थ्य सेवामा ठूलो परिवर्तन ल्याउन सक्छ ।
योनि माइक्रोबायोमबारे बढ्दो अनुसन्धानले महिलाको स्वास्थ्यबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ—जहाँ सन्तुलित सूक्ष्म जीवहरूले रोगबाट जोगाउने मात्र होइन, सुरक्षित मातृत्व र स्वस्थ भविष्यको आधारसमेत तयार पार्न सक्छन् ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
