नेपाल हेल्थ न्युज, काठमाडौं । लामो समयसम्म बेवास्ता गरिएको योनि माइक्रोबायोमबारे अहिले वैज्ञानिक समुदायको ध्यान बढ्दो छ । अनुसन्धानहरूले देखाएका छन् कि योनिभित्र बस्ने सूक्ष्म जीवहरूको सन्तुलनले महिलाको प्रजनन स्वास्थ्यदेखि लिएर यौनजन्य संक्रमणको जोखिमसम्म प्रभाव पार्न सक्छ ।
योनिमा हजारौँ प्रकारका ब्याक्टेरिया, फङ्गस र भाइरसहरू मिलेर बनेको नाजुक पारिस्थितिक प्रणाली हुन्छ । तीमध्ये विशेष रूपमा ल्याक्टोबसिलस नामक लाभदायक ब्याक्टेरियाले महत्त्वपूर्ण भूमिका खेल्छ । पर्याप्त मात्रामा ल्याक्टोबसिलस भएमा यसले ल्याक्टिक एसिड उत्पादन गरी योनिको वातावरणलाई हानिकारक जीवाणुका लागि प्रतिकूल बनाउँछ । यसरी यसले संक्रमणबाट जोगाउन मद्दत गर्छ ।
यूकेको औषधि तथा स्वास्थ्यसम्बन्धी नियामक निकाय मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) मा माइक्रोबायोमसम्बन्धी कार्यरत विज्ञ ख्रिसी सेर्गाकीका अनुसार, “ल्याक्टोबसिलसले रोगकारक कीटाणुसँग पोषकतत्त्व र स्थानका लागि प्रतिस्पर्धा गर्छ र प्राकृतिक एन्टिबायोटिकसमेत उत्पादन गर्न सक्छ ।”
संक्रमण र क्यान्सरसँग सम्बन्ध
यदि योनि माइक्रोबायोम असन्तुलित भयो भने ब्याक्टेरियल भजाइनोसिस (बीभी) जस्ता संक्रमण बढ्न सक्छन् । यस्तो अवस्थालाई ‘भजाइनल डिस्बायोसिस’ भनिन्छ । अनुसन्धानहरूले देखाएका छन् कि ल्याक्टोबसिलसको कमी भएका महिलामा यौन सम्पर्कबाट सर्ने संक्रमण, विशेषगरी एचआइभी र ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को जोखिम बढी हुन्छ ।
यूकेको युनिभर्सिटी अफ लिभरपुल की प्राध्यापक लाउरा गूडफेलो भन्छिन्, “स्वस्थ माइक्रोबायोम जङ्गलजस्तै हो । यदि वातावरण सन्तुलित छ भने हानिकारक जीवाणु सजिलै बढ्न सक्दैनन् ।” एचपीभी संक्रमण दीर्घकालीन भएमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम बढ्ने चिकित्सकहरू बताउँछन् ।
गर्भावस्था र सन्तान जन्ममा प्रभाव
अनुसन्धानले योनि माइक्रोबायोम र गर्भावस्थाबीच पनि सम्बन्ध देखाएको छ । ल्याक्टोबसिलसको मात्रा कम हुँदा गर्भपतन, एक्टोपिक गर्भावस्था तथा समयअगावै शिशु जन्मिने जोखिम केही बढ्न सक्छ । यद्यपि विज्ञहरूका अनुसार यो मात्रै कारण होइन, तर एउटा जोखिम कारक भने हुन सक्छ ।
लन्डनस्थित इम्पेरियल कलेज लन्डन का अनुसन्धानकर्ताहरूले ‘ल्याक्टिन(भी’ नामक प्रोबायोटिकमाथि अध्ययन गरिरहेका छन् । यसमा ल्याक्टोबेसिलस क्रिस्पाटस नामक जीवित ब्याक्टेरिया हुन्छ, जसले उच्च जोखिममा रहेका महिलामा समयअगावै सन्तान जन्मिने दर घटाउन सक्छ कि सक्दैन भन्ने परीक्षण भइरहेको छ ।
यसैगरी अमेरिका, यूके र दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले पनि उक्त प्रोबायोटिकले एचआइभीको जोखिम कम गर्न सक्छ कि सक्दैन भन्नेबारे अनुसन्धान गरिरहेका छन् ।
कसरी जोगाउने योनि माइक्रोबायोम ?
विशेषज्ञहरूका अनुसार दैनिक जीवनशैलीले पनि योनि स्वास्थ्यमा प्रभाव पार्छ । अनावश्यक रूपमा योनि सफा गर्ने रासायनिक पदार्थ, स्प्रे वा वाइप्स प्रयोग गर्दा प्राकृतिक सन्तुलन बिग्रन सक्छ । कन्डम प्रयोग गर्दा लाभदायक ब्याक्टेरियाको मात्रा जोगिन सहयोग पुग्ने अध्ययनहरूले देखाएका छन् ।
साथै, भिटामिन ए, सी, डी, ई, फोलेट र क्याल्सियमयुक्त सन्तुलित आहार, स्वस्थ तौल कायम राख्नु र धूमपान नगर्नु पनि लाभदायक मानिन्छ ।
प्राध्यापक गूडफेलोका शब्दमा, “हरियो सागसब्जी खाने, पर्याप्त निद्रा लिने र प्रशस्त पानी पिउनेजस्ता सामान्य बानीहरूले समग्र स्वास्थ्य सुधार गर्छन्, जसले सम्भवतः योनि माइक्रोबायोमलाई पनि सकारात्मक असर पार्छ ।”
भविष्यतर्फको कदम
वैज्ञानिकहरू अब माइक्रोबायोममा आधारित परीक्षण र उपचार विकासमा जुटेका छन् । यदि सफल भएमा यसले व्यक्तिगत आवश्यकताअनुसार औषधि दिने नयाँ युगको सुरुवात गर्दै प्रजनन स्वास्थ्य सेवामा ठूलो परिवर्तन ल्याउन सक्छ ।
योनि माइक्रोबायोमबारे बढ्दो अनुसन्धानले महिलाको स्वास्थ्यबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ—जहाँ सन्तुलित सूक्ष्म जीवहरूले रोगबाट जोगाउने मात्र होइन, सुरक्षित मातृत्व र स्वस्थ भविष्यको आधारसमेत तयार पार्न सक्छन् ।
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२

