
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप निजी क्षेत्रले पनि ल्याउन सक्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफल अघि बढाएको छ । यद्यपी अहिलेसम्म कुनै निर्णय भने हुन सकेको छैन । निजी क्षेत्रले खोप ल्याउन निर्देशिका अझै बनिसकेको छैन ।
औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले कोरोना विरुद्धको खोप निजी क्षेत्रले ल्याउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘निजी क्षेत्रले कोरोनाविरुद्धको खोप ल्याउन सक्छन् । तर, सरकारको तर्फबाट निजी क्षेत्रलाई खोप ल्याउन दिने/नदिने भन्ने विषयमा आधिकारिक निर्णय आउन बाँकी छ । सरकारको तर्फबाट निर्णय नआएसम्म यसै भन्न सकिदैँन । ’
यदि निजी क्षेत्रले खोप आयात गर्ने अनुमती पाए उनीहरुसँग सम्बन्धित देशमा भएको दर्ता सम्बन्धी कागजातहरु आवश्यक पर्ने हुन्छ । यस्तै खोपको स्थायित्व, सेल्फलाइफ सम्बन्धि कागजात हेरिन्छ । त्यसैको आधारमा अनुमती प्रदान गर्न सकिने औषधि व्यवस्था विभागले जनाएको छ ।
जोखिम क्षेत्रमा रहेकाहरूका लागि खोप ल्याउने दायित्व सरकारको रहेको भन्दै त्योबाहेक अरू निजीक्षेत्रले पनि ल्याउन सक्ने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । अमेरीका, बेलायत लगायतका देशमा कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्य सुरु भइसकेको छ । कोभिड-१९ विरुद्धको खोप नेपालले पनि ल्याउने तयारीलाई तिव्र बनाएको छ ।
यद्यपी अहिलेसम्म कुन खोप प्रयोगमा ल्याउने भन्ने निक्र्योल निस्किसकेको छैन । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु खोप आयातका लागि कटिबद्ध भएर लागी रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले खोप भित्र्याउन सम्वन्धित देशहरुसंग कुटनितीक पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो- ‘खोप आयो भने सबै नागरिकले लगाउन पाउनेछन् । त्यसका लागी पहल भइरहेको छ । ’
मुख्यतः खोप खरिद गर्दा खोपको एकरुपता, भण्डारण क्षमता, मूल्य हेरेर खरिद प्रकृया अघि बढाउनुपर्ने विज्ञहरुको सुझाव छ ।
स्वास्थ्य मन्त्रालयको खोप सल्लाहकार समितिका संयोजक समेत रहनुभएका खोप विज्ञ डा.श्यामराज उप्रेतीले जोखिमका आधारमा खोप लगाइने बताउनुभयो । उहाँले भन्नुभयो- ‘७२ प्रतिशतलाई पुग्ने गरी खोप ल्याउने तयारी छ । प्राथमिकताका आरधमा खोप लगाइनेछ । ’
कोरोनाविरुद्धको खोपका लागि ४८ अर्ब बजेट आवश्यक पर्ने सरकारको आँकलन छ । सरकारले खोप भित्र्याउने, मास भ्याक्सिनेसन र लजिस्टिक म्यानेजमेन्टका काम गर्न छुट्टै युनिट खडा गरेको छ ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
