
डा. निर्मलप्रसाद न्यौपाने रेडियोलोजीमा नेपालबाट युरोपियन डिप्लोमा गर्ने पहिलो रेडियोलोजिष्ट हुनुहुन्छ । यो रेडियोलोजिष्टको स्ट्यान्डर्ड एक्जामिनेसन सर्टिफिकेट हो जसले युरोपियन स्टैण्डर्डको रिपोर्टिङको प्रतिनिधित्व गर्छ । डा. न्यौपानेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट एमबीबीएस र एमडी गर्नुभएको हो । डा. न्यौपानेले भारतको बैङ्गलुरुस्थित नारायणा हृदयलयबाट कोर्डियोथोरासिक रेडियोलोजी विषयमा पोष्ट ग्राजुएट तालिम गर्नुभएको छ । कार्डियाक रेडियोलोजीमा थप तालिम प्राप्त गर्ने पनि डा. न्यौपाने पहिलो हुनुहुन्छ ।
मुलुकले न्युरो इमेजिङ, इन्टरभेन्सनल रेडियोलोजी, मस्कुलोस्केलेटल रेडियोलोजी, फिमेल इमेजिङ, चेस्ट (छाति) इमेजिङ आदिमा फड्को मारिसकेको छ । तर कार्डियाक रेडियोलोजीमा हामी धेरै पछाडि छौं । अत्यन्तै कम रेडियोलोजिष्टले कोरोनरी एवं कार्डियाक सिटी स्क्यान गरिरहेका छन् । तर त्यो भन्दा फङ्सनल कार्डियाक एम आर आई कसैले पनि गरेको पाइँदैन । कार्डियाक एम आर आई गर्न विदेश जानुपर्ने बाद्यता थियो । यसैलाई दृष्टिगत गरी काठमाडौंको बालुवाटारस्थित टेस्ला डायग्नोष्टिक क्लिनिकले अत्याधुनिक प्रविधिमा आधारित कार्डियाक एम आर आई सेवा सुरु गरेको छ । सम्भव त मुलुकमै पहिलोपटक स्पेशिफिक कार्डियाक एम आर आई सेवा सुरु भएको छ । अब बिरामीले कार्डियाक एम आर आई सेवा लिन विदेश धाउनुपर्दैन । यसै सेरोफेरोरोमा रहेर कार्डियाक रेडियोलोजिष्ट डा. न्यौपानेसँग जनस्वास्थ्य सरोकार राष्ट्रिय मासिक पत्रिकाले अन्तर्वार्ता प्रस्तुत गरेको छ ।
के हो कार्डियाक एमआरआई ?
सामान्य भाषामा भन्नुपर्दा चिरफार नगरी मुटुको सम्पूर्ण फङ्सन, मुुटुको चाल, भाल्भको कार्यक्षमता र मुटु तथा फोक्सोमा आउने तथा जाने रगतको सम्पूर्ण विश्लेषण हो कार्डियाक एम आर आई ।मस्तिष्क, जोर्नी र प्रोस्टेट आदिको एम आर आईमा स्थिर अवस्थामा इमेजिङ लिएर बिरामीको समस्या सजिलै पहिचान गर्न सकिन्छ । तर कार्डियाकमा त्यस्तो हुँदैन । मुटुको निरन्तर हार्ट विट (मुटुको धड्कन) भइरहने र यसरी धड्कन भइरहेको मुटुको एम आर आई गरेर तस्विर निकाल्न अरु स्थिर अवस्थाको जस्तो सहज हुँदैन । खासगरी कार्डियाक एम आर आईमा मुटुको च्याम्बरले पम्प गरे/नगरेको, रगत कुन ठाउँबाट कतातिर पम्पिङ भइरहेको छ आदि बारे छर्लङ जानकारी प्राप्त हुन्छ । कार्डियाक एम आर आईको विभिन्न कोणबाट मुटुको अवलोकन गर्नुपर्छ ।
यसले मुटुमा आउने रगत र जाने रगतको परिमाण, सिस्टममा जाने रगत र फोक्सोमा जाने रगत बराबर भए/नभएको, मुटुले राम्रोसँग काम गरे/नगरेको, मुटुको कुन च्याम्बरले कति काम गरेको छ, भाल्भ साँधुरो भए/नभएको लगायत मुटुको सम्पूर्ण कार्यक्षमता र समस्याबारे विश्लेषण सहितको जानकारी प्रदान गर्छ ।
कार्डियाक एमआरआईबाट के कस्ता जटिल समस्या पहिचान गर्न सकिन्छ ?
१.हाइपरट्रोफिक कार्डियोमायोप्याथी
वयस्क व्यक्तिहरुमा मुटुको भित्ता सुन्निएर रक्तसञ्चारमा जटिल अवस्था आउन सक्छ जसलाई हाइपरट्रोफिक कार्डियोमायोप्याथी भनिन्छ । कार्डियोमायोप्याथी एक वंशाणुगत रोग हो । कतिपयमा कार्डियोमायोप्याथीको लक्षण नदेखिन सक्छ । यो रोग निकै घातक हुन्छ । जस्तै ः मैदानमा खेलिरहेको खेलाडी एक्कासी लड्यो भने उसलाई अस्पताल पु¥याउन पनि भ्याईंदैन । शव परीक्षण (एटोप्सी) गरेर हेर्दा कार्डियोमायोप्याथी पुष्टि हुन्छ । यस प्रकारको समस्या भएका कतिपय व्यक्तिहरु एक्कासी लड्ने, बेहोस आदि हुने गर्छन् । यसरी मुटुको भित्ता सुन्निनुको मुख्य कारण, मुटुको भित्तामा घाउ भए/नभएको, मुटु सुन्निएर कुन भागमा असर पु¥याइरहेको छ वा मुटुमा रगत आउन जान कतिको अवरोध पुगेको छ भनेर थाहा पाउन कार्डियाक एम आर आई गर्नुपर्छ । नेपालमा हाइपरट्रोफिक कार्डियोमायोप्याथी भएका बिरामी धेरै छन् । विगतमा यस प्रकारको समस्या पहिचान गर्न भारत लगायतका देशमा जानुपर्दथ्यो ।

२. मायोकार्डाइटिस
कतिपय मानिसमा कोभिडलगायत भाइरल संक्रमणका कारण मुटु सुन्निने समस्या हुनसक्छ जसलाई मायोकार्डाइटिस भनिन्छ । इको कोर्डियोग्राफीबाट मुटु सुन्निएको पहिचान हुन सक्दैन । तर कार्डियाक एम आर आईबाट सुन्निएका मुटुको भागहरु स्पष्ट रुपमा पहिचान हुन्छ ।
३. मुटुको नसा बन्द भएको भागमा स्टेन्ट हालेर काम गर्छ कि गर्दैन भनेर पत्ता लगाउन सकिन्छ ।
४.मुटुका भाल्भहरु राम्रोसँग काम गरेको छ कि छैन पत्ता लगाउन सकिन्छ ।
५. जन्मजात हुने मुटुरोगहरुमा रगतको प्रकार निर्धारण गर्न सकिन्छ ।
६. मुटुमा रगत जमेर बसेको क्लट र मुटुमा हुने ट्युमरहरुको सम्पूर्ण रुपमा मूल्यांङकन गर्न सकिन्छ ।
७. मुटुलाई चारैतिरबाट घेरेर राख्ने पेरिकार्डियमसँग सम्बन्धित रोगहरुको पहिचान गर्न सकिन्छ ।
कार्डियाक एमआरआई कसरी गरिन्छ ?

कार्डियाक एमआरआई गर्न छुट्टै कार्डियाक कोइल प्रयोग गरिन्छ । विशेष किसिमको ईसीजी मेसिन जोडेर मोनिटरिङ गरिन्छ । यसमा विशेष ग्रेफाइड लिड प्रयोग गरिन्छ । एम आर आई गर्नुपूर्व छुट्टै प्रोग्राम तयार पारिन्छ । फोटो निकालेपछि त्यसलाई विश्लेषण गर्ने छुट्टै सफ्टवेर हुन्छ । सबै मिलाएर एउटा कार्डियाक एम आर आई गर्दा मात्रै झन्डै एकदेखि डेढ घण्टा लाग्छ । त्यसपछि त्यो सबै डाटाको एनालाईसिस गर्न अर्को दुईदेखि तीन घण्टा लाग्छ ।
कार्डियाक एमआरआईका के के फाइदा छन् ?
कार्डियाक एम आर आईको कुनै साइड इफेक्ट हुँदैन । मुटुको कुनै भागको नशा बन्द भएको ठाउँमा रगत आपूर्तिको अवस्था, रगत आपूर्ति कम भएको ठाउँका कोषिका जीवित भएनभएकोदेखि नशा खोल्न स्टेन्ट राख्ने कि नराख्ने भन्नेसमेत जानकारी प्राप्त हुन्छ । रगतको आपूर्ति नभएर कोषिका मरिसकेको अवस्थामा स्टेन्ट राख्दा कुनै फाइदा हुँदैन ।
यसैगरी, मुटुसम्बन्धि समस्या भएका बालबालिकाको शल्यक्रिया गरेपश्चात् मुटुमा आएको परिवर्तन र मुटुको अवस्थाबारे थाहा पाउन सकिन्छ । यसैगरी मुटुको ट्युमर पत्ता लगाउन सिटी स्क्यानभन्दा कार्डियाक एम आर आई धेरै गुणा प्रभावकारी मानिन्छ । यसबाट ट्युमरको अवस्था, ट्युमर फैलिएको भाग, मुटुको च्याम्बरको अवस्था, मुटुभन्दा बाहिर फोक्सोसम्म फैलिए/नफैलिएको जानकारी प्राप्त गर्न सकिन्छ ।
त्यस्तै, भल्भको अवस्था बुझ्न पनि कार्डियाक एम आर आई प्रभावकारी मानिन्छ । भल्भ साँघुरो भए/नभएको, रगत जान अप्ठेरो छ वा छैन, रगत फर्केर आइरहेको पो छ कि ? जस्ता कुरा जानकारी प्राप्त गर्न सकिन्छ । विशेषगरी मुटु वरिपरि पेरिकार्डियम लेयर हुन्छ । कसैकसैमा उक्त लेयर मोटो भइदिन्छ र मुटु रिल्याक्स हुन पाउँदैन । यस्तो अवस्थामा छाती र पेटमा पानी जम्ने जस्ता समस्या देखिन सक्छ । कार्डियाक एमआरआईको मद्दतले पेरिकार्डियम लेयरको अवस्थासमेत पहिचान गरिदिन्छ ।
कार्डियाक एमआरआई गर्न कहिले रिफर गर्ने ?
इकोकार्डियोग्राफी गरिसकेपछि पनि रोगबारे स्पष्ट पहिचान नभएको अवस्थामा अनिवार्य रुपमा कार्डियाक एम आर आई गर्न जरुरी हुन्छ । अन्यथा रोग पहिचान नभई थप जटिलता आउसक्छ । कतिपय अवस्थामा मुटुरोग विशेषज्ञले बिरामीको रोगको अवस्था हेरेर सिधै कार्डियाक एम आर आई गराउन पनि सक्छन् । समग्रमा भन्नुपर्दा मुटु रोग विशेषज्ञको सल्लाह अनुसार मात्र कार्डियाक एम आर आई गराउनुपर्छ ।
बिरामीले के कस्ता कुरामा ध्यान दिनुपर्छ ?
कार्डियाक एम आर आई गर्ने अघिल्लो दिन मुटुको चालमा फरक पार्नसक्ने चिज जस्तै कफी, कोला, ड्रिंक, क्याडवरी चक्लेट खान हुँदैन । कसैकसैलाई एम आर आईमा प्रयोग हुने नर्मल कन्ट्रासले पनि एलर्जी हुनसक्छ । त्यसैले एम आर आई गर्नुपूर्व कन्ट्रासको एलर्जीबारे जाँच गर्नुपर्छ । त्यस्तै गर्भवती महिलाको एम आर आई गर्दा आवश्यकताअनुसार योजना बनाउनुपर्छ । एम आर आई गर्दा प्रयोग गरिने औषधि मिर्गौलाले फिल्टर गर्न सक्ने वा नसक्ने सम्बन्धि जाँच पनि गर्नुपर्छ ।
कार्डियाक एम आर आई गर्दा कुनै समस्या हुन्छ ?
सामान्यतया एम आर आईको दौरानमा कुनै पनि समस्या आउँदैन । तर कतिपय अवस्थामा बिरामीलाई कुनै समस्या आएको अवस्थामा संकेत गर्न एउटा बजर उपलब्ध गराइन्छ । सो बजर बजाएमा बिरामीलाई असहज भएको बुझ्नुपर्छ ।
नतिजा प्राप्त गर्न कति समय लाग्छ ?
कार्डियाक एम आर आईको नतिजा २४ घण्टाभित्र उपलब्ध गराइन्छ । बिरामीको सम्पूर्ण कागजात नपुगेको र सम्बन्धित चिकित्सकसँग अन्य जानकारी लिनुपर्ने अवस्थामा भने केही बढी समय लाग्नसक्छ ।
खर्च कति लाग्छ ?
बिरामीको रोगको प्रकार र गर्नुपर्ने जाँच अनुसार यसमा लाग्ने खर्च फरक हुन्छ । औषधि दिनुपर्ने÷नपर्ने अवस्था हेरेर पनि खर्च फरक पर्छ । समग्रमा भन्नुपर्दा एउटा कार्डियाक एम आर आई गरेको खर्च २० देखि २५ हजारसम्म लाग्नसक्छ ।
गुणस्तरीयतामा कतिको ग्यारेन्टी दिन सकिन्छ ?
हामीले गरेको सम्पूर्ण जाँच र विश्लेषणको रिपोर्ट हामी सिडीमा हालेर बिरामी वा उसका आफन्तलाई उपलब्ध गराउँछौं । त्यो जाँच र रिपोर्ट संसारको जुनसुकै ठाउँमा गएर पनि देखाउन सकिन्छ । हामीले गरेको रिपोर्ट हेरेर ओहो नेपालमा पनि यस्तो डेडिकेटेड कार्डियाक एम आर आइ पनि हुन्छन् भनेर अचम्म मानेर हामीलाई धेरै डाक्टरहरुले तत्काल इमेल गर्नुहुन्छ । हामीले गरेको रिपोर्ट र उहाँहरुको सेकेन्ड अेपिनियनमा खासै भिन्नता पाइएको छैन ।
लुम्बिनी प्राविधिक विश्वविद्यालय पूर्वाधार अभावको चक्रमा
सोमबार, जेठ १८, २०८३
ओम सर्जिकल कन्सर्नलाई मेडिका कर्पोरेसन अमेरिकाको सम्मान
बिहीबार, वैशाख १७, २०८३
२५ वर्षको विश्वासः स्वास्थ्य प्रविधिमा ‘वेब ट्रेडिङ’को यात्रा
आइतबार, चैत २२, २०८२


