जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य वीमावापत् उपचार गरिएको रकम तत्काल भुक्तानी गरिदिन पूर्वका निजी अस्पताल र मेडिकल कलेज सञ्चालकहरुले सरकारसँग आग्रह गरेका छन् ।
सर्वसाधारणले बीमावापत् तिरेको रकम राज्यको ढुकुटीमा हुँदाहुँदै पनि भुक्तानी नदिएर राज्यको लुटतन्त्र भएको उनीहरुले आरोप लगाएका छन् ।

नोवेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मा, बिराट मेडिकल कलेजका डा. ज्ञानेन्द्र मानसिंह कार्की र बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले राजधानीमा संयुक्त पत्रकारसम्मेलन गर्दै आफूहरुलाई ८ महिनादेखिको बीमा उपचार सेवावापत्को रकम राज्यले भुक्तानी नदिँदा मर्कामा परेको गुनासो व्यक्त गरेका छन् ।
कोरानाकालमा कोभिड बिरामीलाई उपचार गरेवापत् दिने भनिएको क्षतिपूर्ति सरकारले अहिलेसम्म दिएको छैन । बीमावापत्को रकम पनि नदिनुमा अघिल्लो र अहिलेको सरकार जिम्मेवार छन् । नोबेल मेडिकल कलेज, बिएनसी अस्पताल,बिराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेजलगायतका निजी स्वास्थ्य संस्थाहरुले बीमा कार्यक्रम अन्तर्गतको उपचार सेवा रोकेको भन्ने सरकारी बुझाइ छ । वास्तवमा बीमा हामीले रोकेको होइन । निजी अस्पतालहरुबाट उपलब्ध गराउन दिइएको बीमा कार्यक्रम नेपाल सरकार आफैँले रोकेको नोवेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले बताउनुभयो । सरकारले गत १५ जेठमा प्रस्तुत गरेको बजेट वक्तव्यको १५१ नम्बर बुँदामा स्वास्थ्य बीमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालमा मात्रै सञ्चालन गर्ने भनेको छ ।
‘चालु बजेटमा निजी स्वास्थ्य संस्थाहरुलाई बीमामार्फतको उपचार सेवा नदिने भनिसकेपछि गर्छौं भनेर पनि भएन । सरकारको सिस्टममा हामी चलेका हुन्छौं । भुक्तानी गर्ने निकायले बीमा वापत्को रकम नदिने भएपछि नागरिकलाई सुुसुचित गर्ने हाम्रो दायित्वभित्र पर्छ । त्यसैले सरकारले निजी अस्पतालमार्फत दिइरहेको सुविधा रोक्ने भएकाले बीमा कार्यक्रम रोक्न बाद्य भएका छौं ।’—डा. शर्माले स्पष्ट पार्नुभयो ।
विश्व बजारमा नागरिकले बीमा रकम तिर्ने र बीमा कम्पनिहरुले उपचारको जिम्मा लिने गर्छन् । अहिले मुलुकमा बीमार्फत् राज्यले निःशुल्क स्वास्थ्य सेवा दिइरहेको भान पारिएको छ । तर त्यस्तो होइन । नेपालमा तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा लागू गरिएको बीमा कार्यक्रममा अहिले अतिरञ्जित तरिकाले नचाँहिदो क्रेडिट राज्यले लिन खोजिरहेको उहाँले बताउनुभयो ।
दुई छाकको लागि संघर्ष गरिकेका बालुवा चाल्ने गिटी कुट्ने व्यक्तिहरुले स्वास्थ्य बीमा गर्ने गरेको पाइएको छ । दालभात राम्रोसँग खानपुग्ने कमै व्यक्तिले बीमा गर्छन् । पछिल्लो समयमा मध्यम वर्ग पनि बीमा कार्यक्रममा सहभागी भएका छन् । सरकारले ५ जना परिवारका लागि वर्षमा ३ हजार पाँच सय तिरेपछि १ लाख रुपियाँसम्मको उपचार सेवा दिने र त्यो भन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ४ सयका दरले बीमा रकम लिएर उपचार सेवा उपलब्ध गराउने व्यवस्था छ ।
२०७२ साल चैत २५ गते कैलाली जिल्लाबाट शुरु भएको बीमा कार्यक्रम ७७ जिल्लाको ७४६ वटा स्थानीय तहमा लागू भइसकेको छ । हालसम्म १७ लाख ४३ हजार ४७ परिवार बीमा कार्यक्रममा आवद्ध भइसकेको राष्ट्रिय बीमा वोर्डले जनाएको छ ।
अहिले बीमावापत् उठाइएको अर्बौ रकम राज्यको ढुकुटीमा राखिएको छ । तर सेवा प्रदायक निजी स्वास्थ्य संस्थाहरुलाई ८—९ महिनादेखि भुक्तानी दिइएको छैन । यो सरकारको रकम होइन । यो त केवल आम नागरिकले आफ्नो स्वास्थ्य उपचारका लागि अग्रिम तिरेको रकम हो ।
आफूले प्रधानमन्त्रीको स्वकीय सचिवमार्फत् प्रधानमन्त्रीसमक्ष इमेलबाट लिखित रुपमा पठाएको थिएँ । स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव सबैलाई पठाउँदा पनि सुनुवाई भएन । हाम्रा प्रमुख कार्यकारी अधिकृतहरु दैनिकजसो राष्ट्रिय बीमा बोर्डमा गएर धर्ना दिइरहेका छन् ।
अहिलेको स्वास्थ्य सचिव मरासिनीलाई आफ्नो परिचयसहित समस्याबारे निवेदन लेखेर जानकारी गराएँ । अर्थसचिवलाई पठाउँदा पनि उहाँले रिस्पोन्स नगरेको डा. शर्माको भनाइ छ ।
‘अहिले मलाई त देशमा लुटाहा बसेको जस्तो अनुभूति भइरहेको छ । उनीहरु राज्य र जनताप्रति कुनै जवाफदेही नभएको जस्तो आततायी अवस्था देखिएको छ । तपाईहरु काठमाडौंमा बसेर यो कुराको अनुभव गर्न सक्नुहुन्न । सम्पन्न व्यक्तिहरु प्रायः काठमाडौंमा बसेका हुन्छन् । प्रधानमन्त्री, मन्त्री र सचिवहरु कालो सिसा राखिएको एसीवाला कारमा कुद्ने मात्र हुन् । उहाँहरुलाई थाहा छैन कि एउटा बालुवा चालेर जिविकोपार्जन गरिरहेको व्यक्तिले उसको दुई महिनाको बच्चा आन्द्रा फुटेर उपचार गर्न आउँदा पैसा नभएका कारण अस्पतालमा उपचार गर्न नपाएर बाटोमा मरेको कुरा । एउटी गर्भवती महिला औषधि किन्न नसकेर थलिएर मर्नुपरेको छ । तर यो कुरा बताउँदै गर्दा यहाँका राज्यको संयन्त्रमा बसेका ठूलावडाहरु पत्याउँदैनन् । उनीहरुलाई यो मर्म नै थाहा छैन ।
हिजो र आजका कुनै पनि सरकारी पदाधिकारीहरुले यो कुरा बुझेनन् ।’—डा.शर्माले भन्नुभयो— ‘हिजो झापाबाट वर्षौ जेल बसेर विभिन्न चरणका दुःख कष्ट व्यहोर्दै आएका पूर्व प्रधानमन्त्री केपी शर्मा वली थिए । अहिले त्यस्तै दुःख र कष्ट भोगेर आएका शेरबहादुर देउवा प्रधानमन्त्री छन् । पात्र मात्र फरक हुन् । व्यवहार एउटै छ ।’
बीमावापत् बिरामीलाई औषधि पनि उपलब्ध गराउनुपर्छ । कुनै पनि औषधि प्रदायक संस्थाले दुई महिनाभन्दा बढीको समय उधारो दिदैनन् । बीमावापत् नोवेल र काठमाडौं मेडिकल र पिपुल्स डेन्टल कलेजमा मात्र महिनामा करिब ४ करोड रुपियाँको बीमा वापत्को औषधि खरीद गरेर दिएका छौं । औषधि किनेर दिन नसकेपछि बिमितहरु उत्पिडन र शोषणमा परेको डा. शर्माले गुनासो गर्नुभयो ।
राज्य पूर्णरुपमा लुटतन्त्रको पक्षमा देखिन्छ । अर्बौ रुपियाँ राज्यको ढुकुटीमा राखेर रकम भुक्तानी नगरिनु दुःखको कुरा हो । न कोरानाको उपचारबापत्को रकम दिइयो न बीमा वापत्को नै
।
नोवेल मेडिकल कलेजले राज्यबाट पाउनुपर्ने रकम कोभिडको १० करोड १६ लाख ६० हजार ५ सय र बीमाको ६२ करोड ६२ लाख छ । बीएण्डसी अस्पतालको बीमा वापत् ५४ करोड जति रकम भुक्तानी लिन बाँकी छ । विराट मेडिकल कलेजको बीमा वापत्को ४६ करोड रुपियाँ भुक्तानी बाँकी छ ।
निजी अस्पतालहरुले मनोमानी गरेको भन्ने राज्यपक्षको गुनासोप्रति उनीहरुले आफूहरुले त्यसो नगरेको बताएका छन् । पारदर्शीरुपमा सेवा दिएको दुर्गा प्रसाई बताउनुहुन्छ । हामीहरुले दिएको उपचार सेवामा कुनै शंका लागेमा अनुगमन गरेर ठीक बेठिक छुट्याउनसमेत उहाँले बताउनुभयो ।
यो बीचमा सरकारसँग कुरा भएन ? भन्ने पत्रकारहरुको प्रश्नमा बीमा वोर्डमा जाँदा कुनै रिस्पोन्स नभएको बताए । बीमा वोर्डले पहिलाको भुक्तानी नदिएसम्म बीमा कार्यक्रमअन्तर्गतको सेवा सुचारु गर्न सक्ने अवस्था छैन । हस्पिटलको क्यास फ्लो रोखिएको अवस्था छ ।
असार मसान्तभित्र राज्यलाई ठूला मेडिकल कलेजहरुले तिर्नुपर्ने कर धेरै हुन्छ । नोवेल मेडिकल कलेजले शिक्षा र स्वास्थ्यमा सबैभन्दा धेरै कर तिरेकाले गतवर्ष हामीलाई सम्मानित गरेको थियो । वर्षमा करोडौं कर राज्यलाई बुझाइरहेको नोवेलका सञ्चालक डा. शर्माको भनाइ छ ।
राज्य उपचारवापत्को रकम दिँदैन । वैंक किस्ता र राज्यलाई तिर्ने करले ढाड सेक्ने गरेको छ । अनि कसरी सेवा सुचारु गर्ने ? बीमाको उपचार नहुँदा आम्दानी घट्ने भन्ने हुँदैन । यो बढेर जान्छ । बीमाले आम्दानी घटाएको छ । तर त्यो भन्दैमा राज्यले ल्याएको नीतिमा गैर जिम्मेवारी पनि बन्न हुँदैन ।
अर्थसचिवको गैर जिम्मेवार बोली ठिक लागेन । अपराधीहरुले ठगेका छन् । बील धेरै उठाएका छन् भन्ने उहाँको भनाईले आफूलाई निकै नरमाइलो अनुभूति गराएको डा. शर्माको भनाइ छ । नबुझेको मान्छेले नबोलेको राम्रो । यो पीडा उहाँहरुले बुझ्नुभएको छैन ।
एकलाख भित्रको रकम सक्ने वा नसक्ने भन्ने कुरा बीमितमा निहीत हुन्छ । बीमितलाई उपचार गर्न मन नभएमा नगर्न पाइन्छ, सामान्य रोगमा अस्पताल नजान पनि सकिन्छ । बीमाको कार्डमा कति रकम छ भन्ने कुरा अस्पतालको काउन्टरमा हेर्न पाइन्छ । निजी अस्पतालले उहाँहरुको कार्डबाट प्राप्त हुने सुविधा तलमाथि हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
पहिलाको बाँकी भुक्तानी पाउनुपर्ने माग हो कि सरकारले पुनः बीमा सुचारु गर्दिनुपर्यो भन्ने हो ? भन्ने प्रश्नमा उनीहरुले भनेका छन्—‘अहिलेसम्म हामीले उपचार गरेको रकम पाउनुपर्छ । कोरोना काल र बीमावापत्को रकम दिएमा हाम्रो कुनै गुनासो छैन ।’
बीमा कार्यक्रम निजीलाई दिने नदिने भन्ने कुरा राज्यको नीतिगत कुरा हो । तर अहिलेसम्म उपचार गरेको रकम भुक्तानी दिन ढिलाई गर्न नहुने बिराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्र मानसिंह कार्कीको भनाइ छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
