
एउटा डाक्टर बन्न महँगा निजी विद्यालयमा अध्ययन गर्नुपर्ने धेरैको सोचाइ पाइन्छ । तर सरकारी विद्यालयमा अध्ययन गरेर पनि अव्वल डाक्टरको ओहदामा पुग्ने व्यक्ति पनि हाम्रो समाजमा छन् ।
यसैमध्येका एक हुनुहुन्छ—प्रा.डा. रत्नमणि गजुरेल । जो सरकारी विद्यालयबाट एसएलसी उत्तीर्ण गरेर चिकित्सा क्षेत्रमा अव्वल दर्जाको पहिचान कायम गर्न सफल हुनुभयो । उहाँको जन्म काठमाडौँको मुलपानी (हाल कागेश्वरी मनोहरा नगरपालिका) मा भएको हो । वरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिष्ट प्रा.डा गजुरेल हाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा निर्देशकको जिम्मेवारी वहन गरिरहनुभएको छ । उहाँ कार्डियाक सोसाइटी अफ नेपालको अध्यक्षसमेत हुनुहुन्छ । उहाँ नोभेम्बर २०२३ मा सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल ( साइमन) को अध्यक्षमा पनि निर्वाचित हुनुभएको छ । साथै डा. गजुरेल महाराजगञ्ज मेडिकल क्याम्पसको कार्डियोलोजी विभागको निवर्तमान प्रमुखसमेत हुनुहन्छ ।
प्रा.डा. गजुरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट २०६१ सालमा इन्टरनल मेडिसिनमा एमडी र बि.सं २०५६ सालमा आइओएमबाट एमबीबीएस उत्तीर्ण गर्नुभएको थियो । प्रा.डा. गजुरेल २०४६ सालमा महाराजगञ्ज मेडिकल क्याम्पसबाट हेल्थ असिस्टेन्ट कोर्ष अध्ययनका लागि भर्ना हुनुभएको थियो । बि.सं. २०४५ सालमा पद्मोदय माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेपछि उहाँले मेडिसिनमा करियर बनाउने सोच राख्नुभयो । त्यो बेला समाजमा डाक्टरी पेशालाई प्रतिष्ठित पेशाका रुपमा पनि लिइन्थ्यो । प्रा.डा. गजुरेल भन्नुहुन्छ—‘कति कुरा आफै बुझेँ, कति कुरा अन्जानमा परिवारको इच्छा अनुरुप डाक्टरी लाइनमा आइयो ।’

उहाँ भन्नुहुन्छ—‘त्यो बेला एक वर्ष मेडिकल अफिसर भएर काम नगरी पोष्ट ग्र्याजुएट अध्ययन गर्न पाइँदैनथ्यो । त्यसपछि त्रिवि शिक्षण अस्पतालको मेडिसिन विभागमा एक वर्ष मेडिकल अफिसर भएर काम गरेँ । सोही समयमा लोक सेवा आयोगको परीक्षामा सामेल भएर सो परीक्षामा एक नम्बरमा नाम निस्कियो । भक्तपुर अस्पतालमा पोष्टिङ पाएँ । त्यो बेला एमडीको कमन इन्ट्रान्स खुल्यो र परीक्षामा सामेल भई पास गरेँ । मेरिटमा टप फाइभ भित्र मेरो नाम निस्कियो । इन्टरनल मेडिसिनमा आएओएमबाट एमडी गर्ने अवसर पाएँ ।’
‘एमडी सकिएपछि कहाँ काम गर्ने ? नेपालमा बस्ने कि विदेश जाने ? अन्योल बढ्यो । लोक सेवा आयोगमा नाम निस्किए पनि परीक्षणकाल नै नसकी जागिर छाडेको थिएँ । पुनः काममा फर्कन मिल्छ कि मिल्दैन भनेर बुझ्न स्वास्थ्य मन्त्रालय गएँ ।’—प्रा.डा. गजुरेल भन्नुहुन्छ— ‘नेपालमा डाक्टरको अभाव भएकाले केही कानूनी प्रक्रिया पूरा गरेर पुनः सेवा सुरु गर्न सकिने आश्वासन त पाएँ । तर बुझ्दै जाँदा यो प्रक्रिया निकै झन्झटिलो रहेछ ।’
‘त्यहि समय त्रिवि शिक्षण अस्पतालको मेडिसिन विभागमा फ्याकल्टी डाक्टर (शिक्षण सहायक) को जागिर खुल्यो । छनौटमा परेँ । त्यसपछि इन्टर मेडिसिनको कार्डियोलोजी यूनिटमा काम सुरु गरेँ । मुटुसम्बन्धिका बिरामीहरुको सेवा गर्ने अवसर मिल्यो । यसमा पहिलेदेखि नै रुचि थियो । यसले अझै हौसला बढायो । यसै विधामा सब–स्पेशियालिटी गर्ने योजना बनाएँ । आफूसँगका कतिपय साथीले बिदेशमा सफलता हाँसिल गरिरहेका थिए । आफूले नेपाल मै बसेर केही गर्न नसकेको हो कि भन्ने अनुभूति नहोस भनी विदेशको पनि अनुभव लिने विचार गरेँ । कतिपयले विदेशमा गएर काम गर्न सल्लाह दिन्थे ।
नेपाल छाडेर ‘खुशी हुन सक्छु कि सक्दिन’ भनेर आफैंलाई जाँच्न मन लाग्यो । त्यसपछि केही समयका लागि जागिरबाट छुट्टी लिएँ र अमेरिका गएँ । हुन त मेरो उद्धेश्य अमेरिका बस्ने पटक्कै थिएन । त्यहाँ पुगेपछि नेपालमा नै फर्किएर सेवा गर्ने हुटहुटी बढेर आयो । आफूले नेपालको र अमेरिकामा भइरहेको अभ्यास राम्रोसँग तुलना गरेँ । अमेरिकामा छोटो तालिम, राम्रो सिप र लाइसेन्स परीक्षाको औपचारिकता पूरा गरेर पुनः स्वदेश फर्किएँ ।

‘म नेपालमै ठिक छु, नेपालमै केही गर्न सक्छु’ भन्ने आत्मविश्वास बढ्यो । नेपालबाट हेर्दा अमेरिका जति राम्रो लाग्थ्यो, अमेरिकाबाट नेपालमा हेर्दा पनि कतिपय कुुराहरु उत्तिकै राम्रो भएको पाएँ । सायद मेरो देशप्रतिको सकारात्मक सोच ले होला । यहाँ बिहान बेलुकाको समय आफन्त र परिवारसँग बिताएर दिउँसो काममा जान पाइन्छ र आत्म सन्तुष्टी पनि मिल्ने रहेछ ।'
अर्को कुरा मैले काठमाडौँमा सेटल हुन दुःख गर्नुपर्ने थिएन किनकि म काठमाडौंकै बासिन्दा थिएँ । नेपालमा पनि मेरो लागि काठमाडौंमै सम्पूर्ण भौतिक पूर्वाधार पारिवारिक लेवलबाट नै तयार थिए । आफूले कसरी गुणस्तरीय सेवा दिनेबारे चिन्ता मात्र लिए पुग्थ्यो । पारिवारिक समर्थन र सहयोग पनि राम्रो थियो । त्यसैले विदेशमा तीन वर्ष रेजिडेन्सी गर्नुभन्दा नेपालमा इन्टरभेन्सनल कार्डियोलोजीमा डीएम गर्ने सोच बनाएँ । त्यतिबेला नेपालमा डीएम कार्यक्रम सुरु हुने हल्ला थियो । सन् २००९ आईओएममा कार्डियोलोजी विषयमा डीएमको कोर्ष शुरु भयो । आवेदन दिएँ, इन्ट्रान्समा मेरिटमा छनौट भई डीएम कार्डियोलोजी पढ्न पाइयो । डा. मुरारी वराकोटी र म आइओएमको पहिलो ब्याचका बिद्यार्थी थियौं । हामी सन् २०१३ मा पास आउट भयौँ ।
त्यतिबेला क्याथल्यावको सेवा अहिलेको जस्तो थिएन । पहिलो ब्याच भएकाले केही कठिनाइ र असहजता भोग्नुपर्यो । यस्ता चुनौति र अप्ठ्यारापनालाई अवसरको रुपमा लिएर अगाडी बढ्न साहस गरेँ । सिकेका अनुभव नयाँ पीँढिका डाक्टरहरुलाई बाँड्न शुुरु गरेँ । त्यो बेला क्याथल्यावको प्रोस्युुडर पनि गर्नुपथ्र्यो । एक चिकित्सक शिक्षक भएकाले आफूले लिएको अनुभव अरुलाई सिकाउनुपथ्र्यो । यसका लागि थप विज्ञता हाँसिल गर्न जरुरी थियो र म इटली गएँ ।
सन् २०१४ मा इटलीको मिलानबाट बच्चा र वयस्कको जन्मजात मुटुको प्वाल र अन्य मुटुका रोगसम्बन्धि इन्टरभेन्सनल कार्डियोलोजीमा फेलोशिप गरेँ । त्यसपछि नेपाल फर्किएँ । त्यस लगत्तै एडल्ट कोरोनरी इन्टरभेन्सनमा फेलोसिप गर्न नेशनल हार्ट सेन्टरबाट छनौट भएकाले सिंगापुर जाने अवसर मिल्यो । सिंगापुर अलि खर्चिलो देश थियो । आफ्नो व्यक्तिगत खर्चमा निर्वाह हुने अवस्था थिएन । आफ्नै देशको विश्वविद्यालयमा योगदान दिने उद्देश्यले थप अध्ययन गर्न जान लागेको र डीएम गर्ने पहिलो ब्याचको विद्यार्थी पनि भएकाले खर्च जुटाइदिन स्वास्थ्य मन्त्रालय र अन्य स्टेक होल्डरसँग अनुरोध गरेँ । आईओएम र स्वास्थ्य मन्त्रालयको सिफारिसमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को छात्रबृत्ति पाएँ । एक वर्षको इन्टरभेन्सनल कार्डियोलोजीमा फेलोशिप गरेर सन् २०१५ मा नेपाल फर्किएँ । त्यसपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा सेवालाई निरन्तरता दिएँ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
