
दक्षता वास्तविक भित्री सुन्दरता हो । मेडिकल क्षेत्रमा मन, मस्तिष्क र व्यवस्थापनलाई निरन्तर सुन्दर रूपमा स्वीच गरिरहनुपर्छ । अध्ययनको व्यवस्थापन, बिरामीसँग नम्र रूपमा प्रस्तुत हुने, पीडा सुन्ने, बिरामीसँग असल सम्बन्ध स्थापित गर्ने जस्ता कार्य यो क्षेत्रको वास्तविक सुन्दर रूप हुन् । एमबीबीएसमा ९ सेमेस्टर हुन्छन । ५ वर्ष ६ महिना अध्ययन गर्नुपर्छ । यस अंकमा हामीले काठमाडौं मेडिकल कलेजमा विभिन्न व्याचमा डाक्टर अध्ययन गरिरहेका अव्वल विद्यार्थीको अध्ययनको राजबारे जानकारी गराउने कोशिस गरेका छौं ।
‘सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने प्रयास गरेकी छु’

होस्टलमा दुई जना रूम पार्टनर छौँ । बिहान करिब ६ बजेतिर उठ्ने गर्छु । एकैछिन शारीरिक अभ्यास गर्छु । आफ्नो अनुकुलताको आधारमा तालिका बनाउने गरेकी छु । कलेज जानुअघि करिब २ घण्टाजति अध्ययन गर्छु । बिहान ९.०० बजेदेखि अपरान्ह १२.०० बजेसम्म मर्निङ पोस्टिङ हुन्छ । १२ देखि १ बजेसम्म सैद्धान्तिक पढाइ हुन्छ । १ देखि २ बजेसम्म खानाको समय हो । २ बजे देखि ३ बजेसम्म फेरि अर्को सैद्धान्तिक कक्षा हुन्छ । त्यसपछि ४ बजेसम्म टुटोरियल कक्षा हुने गर्छ । त्यसपछि स्पेसिफिक फ्याकल्टीहरूको गाइडमा थप अभ्यासहरू हुने गर्छन् । हरेक दिन अध्ययन गर्ने शीर्षकको विषयवस्तुबारे पहिल्यै हेरेर जाने गर्छु । पढाइमात्र सबैकुरा होइन, आफूलाई सन्तुलनमा राख्नुपर्छ । आफ्नो खुशी र सहजीकरणका आधारमा तालिका व्यवस्थापन गरेमा क्षमता बढ्ने रहेछ । अध्ययन गर्दा साथीहरूबीच छलफल गर्नुपर्छ । पढाउँदा गम्भीर भएर सिक्ने र व्यवहारमा उतार्ने प्रयास गर्नुपर्छ । वास्तवमा कोही टपर भएर धेरै जान्ने वा एभरेज मार्क आएर कम जान्ने भन्ने हुँदैन, त्यो भ्रम हो । सबैको आ–आफ्नो अध्ययन गर्ने शैली हुन्छ । मलाई जसरी सजिलो लाग्छ, त्यसरी नै अध्ययन गर्छु । स्कोर ल्याउनु एउटा पार्ट हो भने ज्ञान हाँसिल गर्नु अर्को पाटो हो । कसैको राम्रो अंक आउँदैमा सबै कुरा आउँछ र ऊ गिफ्टेड हो भन्न मिल्दैन । कोही पनि सबैकुरामा पोख्त हुन सक्दैनन् । स्कोर गर्नु महत्वपूर्ण हो, तर यो बेन्च मार्क होइन । डाक्टर पढ्ने सानैदेखिको रहर हो, त्यही भएर एमबिबिएस पढिरहेकी छु । भविष्यमा केमा स्पेसलाइज (विशेषज्ञता) गर्ने भन्नेबारे सोचिसकेको छैन । तर इन्टर्नशीप गर्दै जाँदा क्लिनिकल्ली वर्किङ वातावरणले निर्णय गर्न सकिएला ।
‘थोरै समयमा धेरै कुरा बुझेर पढ्दा राम्रो गर्न सकिने रहेछ’

बिहान ९ बजेदेखि ४ बजेसम्म कलेजमा सैद्धान्तिक र व्यवहारिक कक्षा हुने गर्छ । ब्रेक वा कुनै क्लास नभएको बेलामा खेर जाने समयलाई पढाइमा उपयोग गर्छु । बेलुका दुई घण्टा र बिहानको समयमा पढाइलाई प्राथमिकता दिन्छु । मेडिकल पढ्ने विद्यार्थीले निरन्तर घोटिएर पढिरहनुपर्छ भन्ने मिस–कन्सेप्सन छ । तर वास्तवमा यस्तो होइन् । थोरै समयमा धेरै कुरा बुझेर पढ्दा काफी हुन्छ । अध्ययनमा लगनशीलता हुनुपर्छ । नबुझेका कुरा सोध्नुपर्छ । सोध्न डराउन हुँदैन । बिरामीको सेवाप्रति केन्द्रित हुनुपर्छ । अहिले पढाइसँगै जर्नल अफ नेपाल मेडिकल एसोसियसनको असिस्टेन्ट एडिटरको रूपमा समेत कार्यरत छु ।
‘अनुशासित र कन्सिस्टेन्सी भएर अध्ययन गर्छु’

सानैदेखि डाक्टर बन्ने इच्छा थियो । बुबा आमाले पनि साथ दिनुभयो । दाजुले पनि केएमसीबाट नै एमबीबीएस सकेर इन्टर्नशीप गरिरहनुभएको छ । हरेक दिन एकघण्टा अध्ययन गर्दा पनि हुन्छ । तर अनुशासन, संयमता र एकाग्रता चाहिने रहेछ । अध्ययनपछि नेपालमा बसेर सेवा गर्ने सोच छ । क्षमतावान् विद्यार्थी विदेश जाने प्रचलन बढेको छ । सबैले नेपालमा बस्ने सोच राख्नुपर्छ । मलाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ हुने चाहना छ । तर भविष्यमा के हुन्छ समयले देखाउँछ ।
‘इच्छाशक्ति आवश्यक रहेछ’

मलाई डाक्टर भएको देख्ने बुवामुमाको सपना हो । बाबालाई लाग्थ्यो रे समाजमा सबैभन्दा सम्मानित पेशा डाक्टरको हो रे ! त्यसैले छोरीहरूलाई डाक्टर नै बनाउँछु ता की सबैले सम्मान गरुन् । बुवा आफू भने वकिल हुनुहुन्छ । ठुलो हुँदैगएपछि आफूमा पनि चासो बढ्दै गयो । अध्ययनमा मिहिनेत गर्दै गएँ । अहिले होस्टेलमा बसेर एमबीबीएस अध्ययन गरिरहेको छु । अवस्थाअनुसार होस्टेलमा खाना पकाएर पनि खाने गर्दछौं । फुर्सद नहुँदा बाहिर पनि खानुपर्छ । मेरो एक बहिनी र भाइ छन् । बहिनी पनि एमबीबीएस पढिरहेकी छन् ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
