नेभिगेशन

धनीमाझ लोकप्रिय बन्दै लक्जरी पानी, कस्तो हुन्छ स्वाद ?

जनस्वस्थ्य सरोकार, काठमाडौँ । तपाइँलाई कुनै यस्तो रेष्टुराँ थाहा छ जसमा राखिएको खानेकुराको सूचीमा राम्रो वाइनको सट्टा लक्जरी पानी हुन्छ? अथवा नवविवाहित जोडीलाई स्याम्पेन वा जुसको सट्टा फेन्सी पानी पिउन दिइन्छ ?

यहाँ चर्चा गरिएको पानी गुणस्तरीय मिनरल वा तपाईँको धारामा आउने पानी होइन। यसको मूल्य सयौँ डलरसम्म पर्न सक्छ। यो पानी पनि वाइन जस्तै खानेकुराको सितनसँगै आउँछ।

चर्को मूल्य पर्ने यस्तो पानी प्राकृतिक स्रोतहरू जस्तै ज्वालामुखी बिस्फोटन भएका चट्टानहरू, हिमनदीका बरफ, वा कुहिरोका थोपाहरूबाट सङ्कलन गरिन्छ। कुनै कुनै यस्तो पानी सिधै बादलबाट पनि निकालिएको हुनसक्छ।

प्रशोधन नभएको यो पानी बोतलमा बेचिने पानीजस्तो नभई जुन ठाउँबाट ल्याइएको हो त्यस्तै किसिमको विशेषता बोकेको हुन्छ।

अहिले विश्वभरि सयौँ यस्ता फाइन वाटरुका ब्रान्डहरू छन्। यस्ता पानीहरूबारे हामीलाई सुझाव दिने विज्ञहरू पनि भेटिन्छन्।

पानीको पनि स्वाद हुन्छ ?
वाइन चाख्ने मानिसहरू जस्तै पानीको स्वादका पारखीहरू पनि हुन्छन्। उनीहरूको पेसा भनेकै हरेक उत्पादनको स्वाद लिएर त्यसलाई मिनरल, स्वाद र मुखमा हुने अनुभवका आधारमा मूल्याङ्कन गर्नु हो।

“पानी विशुद्ध पानी मात्रै होइन। हाम्रो विश्वका हरेक ठाउँमा हुने पानी फरक हुन्छ र त्यसको स्वाद पनि हुन्छ,” लन्डनमा अस्थायी किसिमको स्टोर सञ्चालन गर्दै आएका पानीसम्बन्धी परामर्शदाता र स्वादका पारखी मिलिन पटेल भन्नुहुन्छ ।

उहाँले मानिसहरूका लागि धाराको पानी, बोतलको पानी लगायतका विभिन्न प्रकारका पानी चाख्ने कार्यक्रमहरू पनि आयोजना गर्नुहुन्छ ।

पटेलले विशेषगरी युवाहरूलाई विभिन्न प्रकारका पानी र त्यसको स्वादबारे शिक्षा दिने अभियानमा आफू रहेको बीबीसीसँग बताउनुभयो ।

‘सम्झनुहोस् त हामीले विद्यालयमा प्राकृतिक जलविज्ञान चक्र– वाष्पीकरण, द्रवीकरण र वर्षाको बारेमा सिक्यौँ। यद्यपि हामीले पुनर्खनिजीकरणको प्रक्रिया छुट्ट्यायौँ,’ उहाँले भन्नुभयो ।

‘जब पानी जमिनमा खस्छ जमिनले त्यसलाई सोस्छ त्यसपछि विभिन्न चट्टान र माटोमा घुलेर क्याल्सिअम, म्याग्नेसिअम, पोटासिअम, सिलिका आदि जस्ता खनिजहरू पानीमा घुल्न पुग्छन्। यो प्रक्रियाले पानीमा खनिजहरूको स्वाद आउँछ’ पटेल भन्नुहुन्छ ।

हिउँका बरफ र वर्षाको पानीबाट सङ्कलित पानी जमिनमा राम्रोसँग घुलमिल हुन पाएको हुँदैन त्यसकारण त्यस्तो पानीमा टीडीएस भनिने डिजल्भ्ड सोलिडको मात्रा कम हुन्छ। तर झरना र कुवाको पानीमा यस्तो मात्रा बढी हुन्छ।

पटेलसँग विश्वका विभिन्न ठाउँका पानीहरूको सङ्कलन छ। उनीसँग भएका पानीको एक बोतललाई ३१८ डलर अर्थात् ४२ हजार नेपाली रुपैयाँसम्म पर्छ। उहाँले आयोजना गर्ने कार्यक्रमहरूमा पानीको स्वाद चाखेका मानिसहरूले हरेक फरक पानीको स्वादमा कस्तो किसिमको भिन्नता थियो भन्ने थाहा पाउँछन्।

मिलिन पटेल बालबालिकाहरूका लागि पानी चाख्ने कार्यक्रम आयोजना गर्छन्

“हामी मानिसहरूलाई पानीलाई स्वादहीन मात्रै मानेर नचाख्नुहोस् भन्छौँ। जब उनीहरू स्वाद पहिचान गर्न थाल्छन् र ध्यान दिएर पानी चाख्न थाल्छन् उनीहरूले त्यसको वर्णन गर्न प्रयोग गर्ने शब्दहरूले तपाइँलाई चकित पार्छ,” पटेल भन्नुहुन्छ ।

‘हामी नरम, नौनी जस्तो, तमतम्याइलो, मखमली, तीतो र कहिलेकाँही अमिलो। म यसलाई अक्वाटेस्टोलोजी भन्छु।’

अनि धेरैले पानी चाखिसकेपछि आफूलाई बाल्यकालको, बिदामा जाँदाको वा आफ्ना हजुरबुवा हजुरआमाको घर जाँदाको याद आएको बताउने गरेको उहाँ सुनाउनुहुन्छ ।

द फाइन वाटर सोसाइटीले हरेक वर्ष भुटानदेखि एक्वेडरसम्मका विश्वभरिबाट फाइन वाटरका उत्पादकहरू भेला गर्छ र अन्तर्राष्ट्रिय पानी चाख्ने प्रतिस्पर्धा आयोजना गर्छ।

यो सम्मेलनमा सहभागी हुने अधिकांश मानिसहरू दुर्गम ठाउँमा पानी उत्पादन गर्ने पारिवारिक व्यवसाय सञ्चालन गरिरहेकाहरू हुन्छन्।

“पानी चाख्ने कुरा आरम्भमा निकै हास्यास्पद कुराको रूपमा लिइयो,” फाइन वाटर सोसाइटीका सह संस्थापक डा माइकल मासाले भन्नुभयो ।

“मदिरा सेवन गर्न छोड्नुपर्ने अवस्था आएपछि मैले यो सबै प्रक्रिया २० वर्ष अगाडि सुरु गरेको थिएँ,” उहाँले बीबीसीसँग भन्नुभयो ।

‘जब अचानक मेरो टेबलबाट वाइन हट्यो मैले टेबल वरिपरि हेर्दा त्यहाँ त्यसअघि कहिल्यै नदेखेको अर्को बोतल देखेँ र त्यो पानी थियो। मैले जिज्ञासु भएर वाइनको सट्टा पानी लिएँ।”


फाइन वाटरले शरीरलाई आवश्यक तरल मात्रै नदिएर त्यसभन्दा धेरै कुरा दिने उहाँ ठान्नुहुन्छ । यो पानी मानिसहरूका लागि केही पृथक् कुरा अनुभव गर्ने, अरूलाई सुनाउने र आनन्द लिने अवसर पनि भएको उहाँले बताउनुभयो । उहाँका अनुसार यो कुरा वाइनले प्रदान गर्न सक्दैन।

डा. मासाका अनुसार अहिले फाइन वाटरको माग निरन्तर बढ्दो छ। उनी अहिले स्वस्थ जीवनशैलीको अभ्यास गर्ने युवा पुस्ताहरू माझ कम मदिरा उपभोग गर्ने र त्यसको सट्टा कार्बोनेटेड सफ्ट ड्रिङ्क्स प्रयोग गर्ने चलनका कारण यस्तो पानीको माग बढेको उहाँ ठान्नुहुन्छ ।

अर्को कुरा यी दुर्लभ र अप्रशोधित पानीहरू वर्षौँ पुराना वाइन जस्तै यससँग जोडिएका विगतका कथाहरूसँगै प्रचार गर्न सकिन्छ। यस्तो भयो भने तिनीहरूलाई अझ आकर्षक बनाउन सहयोग पुग्छ।

स्पेन र संयुक्त राज्य अमेरिका जस्ता देशका केही रेस्टुराँहरूले निश्चित प्रकारका फाइन वाटरहरूलाई सितनसँगै खानेकुराको सूचीमा राखेका छन्।

‘म अहिले अमेरिकाको एउटा तीन(तारे रेस्टुराँको लागि पानीको मेन्यू अर्थात् सूची तयार गर्दैछु। हामी खाना र वातावरणको पूरक हुने गरी १२ देखि १५ वटा सावधानीपूर्वक तयार गरिएका पानीका सूचीहरू समावेश गर्ने योजनामा छौँ, डा. मासा भन्नुहुन्छ ।

“तपाइँले बिफ मगाउँदा एउटा र माछा मगाउँदा अर्को स्वादको पानी पाउनुहुन्छ। माछाको स्वादमा कमी आउन नदिन कम खनिज भएको पानी चाहिन्छ,” मासा भन्नुहुन्छ ।

मासाले एउटा अति विलासी आवास र अपार्टमेन्ट परियोजनामा पनि काम गरिरहेका छन्। उक्त आवासमा वाइन राख्ने ठाउँहरूको सट्टा “पानीका स्वादको अनुभव लिने” कोठाहरू राखिनेछन्।

डा. मासाका अनुसार धार्मिक कारणले मदिरा नखाने संस्कार भएका मानिसहरूमा विशेष गरी विवाह समारोहहरूमा फाइन वाटर लोकप्रिय छ। उहाँ महँगो स्याम्पेनको सट्टा राम्रो उपहार पनि हुनसक्ने बताउनुहुन्छ । तर यो प्रचलनका रूपमा बढ्दै जाँदा यसका आलोचकहरू पनि छन्।

नैतिक रूपमा गलत

विश्वमा सफा पानीको पहुँचका लागि सङ्घर्ष गरिरहेका लाखौँ मानिसहरू छन्। मानिसका लागि आधारभूत आवश्यकताको वस्तुलाई मुद्रा आर्जनको विषय बनाउने कुरा धेरैले सहजै स्वीकार्न सक्दैनन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार २.२ अर्ब मानिसहरू अहिले पनि सुरक्षित पिउने पानीको पहुँचबाट वञ्चित छन्। जसमध्ये ७० करोड ३० खास मानिसहरूले अझैसम्म आधारभूत खानेपानी सेवा समेत पाएका छैनन्।

अरू कतिपय आलोचकहरूले यसलाई फेसन र एउटा जालझेलको विषय मात्रै भएको टिप्पणी गरेका छन्। उनीहरूका विचारमा पानी जहाँको भए पनि उस्तै हो। चाहे त्यो धाराको पानी होस् वा बोतलको पानी अथवा तथाकथित फाइन वाटरमा मूल्यभन्दा अरू कुनै कुराको भिन्नता छैन।

वातावरण संरक्षणकर्मीहरूले भने बोतलमा राखिएको जुनसुकै पानी भए पनि त्यो हाम्रो ग्रहका लागि हानिकारक भएको तर्क गरेका छन्। उनीहरूका अनुसार अन्ततः ती बोतलहरू फोहोरको रूपमा परिणत हुन्छन्।

लन्डनस्थित ग्रेशम कलेजमा वातावरण विषयका प्राध्यापक क्यारोलिन रोबर्ट्स दशौँ लाख मानिसहरू सफा पानीका लागि सङ्घर्ष गरिरहँदा एउटा पानीको बोतलका लागि सयौँ डलर खर्च गर्नु अनैतिक भएको बताउँछिन्। उनी यसलाई आफ्नो सम्पत्तिको प्रदर्शन गर्नुजस्तै भएको बताउँछिन्।

“तपाइँले ठीक छ, म अन्टार्कटिका वा हवाई कतैबाट विमानमार्फत् ल्याइएको पानीको यो अद्भुत बोतलको लागि पैसा तिर्दैछु, भन्दा मानिसहरूलाई राम्रो लाग्न सक्छ। तर त्यसको पैसा बाहेक कुनै अर्थ छैन,” उनले बीबीसीसँग भनिन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार हरेक दिन २,००० भन्दा बढी फोहोर उठाउने ट्रकमा अट्ने प्लास्टिक विश्वका महासागर, नदी र तालहरूमा फालिन्छ

'त्यसभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो पर्यावरणीय रूपमा धेरै हानिकारक पनि छ। चाहे त्यो माइक्रोप्लास्टिकमा परिणत हुने र उत्पादनको लागि जीवाश्म इन्धन चाहिने प्लास्टिक होस् वा दुर्गम क्षेत्रहरूबाट हजारौँ माइल ढुवानी गर्दा कार्बन उत्सर्जन भएर हानिकारक प्रभाव पार्ने सिसा होस्।”

'त्यसकारण यो पैसाको मात्रै कुरै होइन। यो तथाकथित फाइन वाटरले निम्त्याउने वातावरणीय क्षतिको पनि विषय हो।'

तर डा. मासाको तर्क फरक छ। उनी फाइन वाटर धनीहरूका लागि मात्र उत्पादन नहुने बताउँछन्। उनका अनुसार कतिपय गुणस्तरीय फाइन वाटरलाई मात्रै दुई अमेरिकी डलर पर्छ। उनी प्राकृतिक रूपमा पाइने फाइन वाटर र वातावरणीय प्रभाव पार्न सक्ने प्रशोधित पानी फरक रहेको बताउँछन्।

'दिगोपनाको दृष्टिकोणबाट प्रशोधित धाराको पानी प्लास्टिकको बोतलमा राख्नु कुनै अर्थ छैन। तपाईं आफ्नो गाडी लिएर बजारमा जानुहुन्छ, प्लास्टिकका बोतलहरू घरमा ल्याउनुहुन्छ पानी पिउनुहुन्छ र बोतल फ्याँक्नुहुन्छ। यो बेकार हो,” उनी भन्छन्।

उनी तिर्खा मेट्नका लागि प्रशोधित बोतलको पानी पिउनुको सट्टा धाराकै पानी खान सुझाव दिन्छन्। उनी विश्वमा कैयौँ मानिसहरूलाई पिउन योग्य धाराको पानीमा पहुँच नरहेको उदाहरण दिँदै भएकाहरूले सदुपयोग गर्नुपर्ने तर्क गर्छन्।बीबीसीनेपालीबाट साभार

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट