
नेपाल हेल्थ न्युज, चितवन । चितवनस्थित बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालमा कार्यरत बाल अर्बुद रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा अर्बुद भएका बालबालिका मध्ये पचास प्रतिशतभन्दा बढी अस्पतालको पहुँच बाहिर रहेका जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो ‘नेपालमा वर्षेनी करिब एक हजार पाँच सयजना बालबालिकालाई अर्बुद हुने गरेको अनुमान छ । यसमध्ये अस्पतालको पहुँचमा आधा मात्र आउँदछन् । अस्पताल आउनेमध्ये बिपी कोइराला अर्बुद अस्पतालमा चार सयको हाराहारीमा मात्र छन्। ’
अस्पतालद्वारा अर्बुद भएका बालबालिकालाई स्टेसनरी सामग्री वितरण गर्न बिहीबार आयोजित कार्यक्रममा उहाँले भरतपुर अर्बुदअस्पताल आएका ६० प्रतिशत बालबालिकालाई अर्बुद निको हुने गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार समग्र नेपालमा निको हुने दर ३० प्रतिशत मात्रै रहेको छ । तर निको हुने दर बढाएर ८० प्रतिशत पुर्याउन सकिने उहाँको भनाइ छ । ‘अहिले अभिभावकमा चेतनाको कमी छ । आधा बिरामी त अस्पताल नै आउँदैनन् । आएका पनि उपचार प्रक्रिया पूरा नगरी बीचमै छोड्छन्’, उहाँले भन्नुभयो–,‘अस्पतालमा शय्याको संख्या थप गर्ने र उपचार सर्वसुलभ बनाउने हो भने बाल अर्बुदलाई न्यूनीकरण गर्न सकिन्छ ।’
विश्व बाल अर्बुद दिवसका अवसरमा आयोजित सो कार्यक्रममा अभिभावकबीच जनचेतनामूलक कार्यक्रम समेत आयोजना गरिएको थियो । नेपालमा बालबालिकाको अर्बुद रोगको उपचार बिपी कोइराला मेमोरियल अर्बुद अस्पताल भरतपुरसँगै भक्तपुर अर्बुद अस्पताल, पाटन अस्पताल, तिलगंगा आँखा अस्पताल, कान्ति बाल अस्पताललगायत उपचार हुन्छ ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई बाल अर्बुदसम्बन्धी विश्वव्यापी अभियानको ‘फोकस’ राष्ट्रका रुपमा समेत सूचीकृत गरेको छ । सरकारले बालबालिकाको अर्बुद उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निःशुल्क गरेको छ ।
सरकारले एक लाखसम्मको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । डा पौडेलका अनुसार उपचार हुने अस्पतालमा पुगिसकेकामध्ये २० देखि ३० प्रतिशत आर्थिक अभावका कारणले उपचार नगरीकन वा उपचार बीचैमा छाडेर घर जाने गरेका छन् ।
नेपालमा बर्सेनि २५ हजार नयाँ अर्बुद रोगी थपिने गरेकामा तीमध्ये एक हजार पाँच सय बालबालिका रहने गरेका छन् । कार्यक्रममा बिपी कोइराला मेमोरियल अर्बुद अस्तपालका कार्यकारी निर्देशक डा शिव पौडेल, उपनिर्देशक डा उमेश नेपाल, अभिभावक तथा बिरामीहरुको उपस्थिति रहेको थियो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
