
नेपाल हेल्थ न्युज, काठमाडौँ । दशदिनभित्रै दुई जना र गत वर्षको असार महिनायता नेपालमा एक विदेशीसहित तीनजनामा एमपक्सको सङ्क्रमण देखिएपछि त्यसको नियन्त्रणका लागि सरकारले १४ वटा अस्पताललाई फोकल अस्पताल तोकेर त्यहाँ परीक्षण र उपचार गर्ने व्यवस्था मिलाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
खासगरी अफ्रिकी देशहरूमा धेरै देखिएको एमपक्सको प्रकोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गत अगस्ट महिनामा विश्वव्यापी जनस्वास्थ्य सङ्कट घोषणा गरेको थियो।
त्यसयता नेपालमा यही पुष महिनामा मात्रै साउदी अरेबियाबाट फर्किएका दुईजना नेपाली पुरुषमा एमपक्सको सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो।
समुदायसम्म पुग्न सक्ने खतरा उच्च रहेकाले त्यसको निगरानी र नियन्त्रणका लागि मन्त्रालयले काम गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताउनुभयो। ‘विशेषज्ञलाई फोकल पर्सन तोकेर यसको परीक्षण र उपचार गर्ने व्यवस्था मिलाएका छौँ,’डाक्टर बुढाथोकीले भन्नुभयो ।
‘त्यसबाहेक एकपक्सको नमुना लिन र भेरिअन्ट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आवश्यक पर्ने सामानहरू तयार अवस्थामा राखिएको छ।’ पछिल्लो समय देखिएको एमपक्सको भेरिअन्ट पहिलाको भन्दा घातक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
किशोरावस्थाका व्यक्तिहरूलाई पनि एमपक्स देखिएको अध्ययनहरूले देखाएका कारण त्यसप्रति विशेष सचेत रहनुपर्ने आवश्यकता रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको चिकित्सकीय अनुसन्धान एकाइका प्रमुख डा। शेरबहादुर पुनले बताउनुभयो।
पुस १३ गते साउदी अरेबियाबाट नेपाल आएका पूर्वी पहाडका ४४ वर्षीय पुरुषमा एमपक्स पुष्टि भएपछि अहिले उनी टेकुस्थिल सरूवा रोग नियन्त्रण महाशाखामा उपचारका लागि आइसोलेसनमा राखिएको मन्त्रालयले जनाएको छ।
त्यसअघि पुष ४ गते पनि साउदी अरेबियाबाट नेपाल आएका पश्चिम नेपालका ३६ वर्षीय अर्का एक पुरुषमा एमपक्स पुष्टि भएपछि उनलाई पनि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आइसोलेशनमा राखेर उपचार गरिएको थियो।
त्यसभन्दा अगाडि भने विक्रम सम्बत् २०८० सालको असार महिनामा एकजना विदेशी महिलामा पहिलोपटक नेपालमा एमपक्स सङ्क्रमण पुष्टि भएको थियो।
यसरी विदेशबाट नेपालमा आउने विदेशी वा विदेशमा रोजगारी गरेर नेपाल फर्किने नेपालीहरू एमपक्सको सङ्क्रमणसहित नेपाल प्रवेश गरेर त्यो अन्य व्यक्तिमा सर्न सक्ने सम्भाना तीव्र रहेका कारण त्यसका लागि प्रतिकार्य योजना बनाइएको प्रवक्ता डाक्टर बुढाथोकीले बताउनुभयो।
'हाम्रा १६ वटा सीमाका स्थल नाका र एक हवाई नाकामा रहेको हेल्थ डेस्कलाई कुनै मानिसमा शंकास्पद लक्षणहरू देखिए वा बढी सङ्क्रमण फैलिएका देशबाट आएकाहरूलाई स्क्रीनिङ गर्न भनेका छौँ, ' उनले भने।
‘गृह र परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर कुनै व्यक्तिमा पोजिटिभ देखिए जहाजमा उनीसँगैको सीटमा बसेका व्यक्तिमा पनि सङ्क्रमण छ कि भनेर कनट्याक्ट ट्रेसिङ गर्न तयारी अवस्थामा छौँ,’ उनले उहाँले भन्नुभयो ।
कसरी जोगिने?
एमपक्स भाइरसबाट सङ्क्रमित मुसा र बाँदरजस्ता जनावर र सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने यो भाइरसलाई सन् २०२२ मा पनि जनस्वास्थ्य सङ्कटका रूपमा घोषणा गरिएको थियो।
यो भाइरस सबैभन्दा पहिले जनावरहरूबाट मानिसमा सरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ। त्यसले गर्दा यसको लक्षण थाहा पाएर शङ्का लाग्ने वितिक्कै आइसोलेशनमा बस्ने र उपचारका लागि जान चिकित्सकहरू सुझाउँछन्।
पहिला ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने जस्तो लक्षण देखिने यो सङ्क्रमणमा पछि जब ज्वरो उच्च हुन्छ, त्यसपछि शरीरमा बिमिराहरू देखा पर्न सक्छन्।
चिकित्सकहरूका अनुसार अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा र हात र पैतालामा बढी देखिन्छ। गम्भीर बिरामीहरूमा शरीरभरि नै बिमिराहरू आउने हुन्छन्। मुख, आँखा र यौनाङ्गमा बिमिरा बढी फैलने र दुख दिने हुन्छ।
एमपक्सबाट जोगिन सङ्क्रमितको थुकको छिटा, नाक, मुख, आँखा वा खुला छालामा नपरोस् भनेर सतर्क रहन डा. पुन सुझाउँछन्। उनका अनुसार फुटेको छाला र श्वासनलीबाट पनि यो भाइरस शरीरमा प्रवेश गर्न सक्छ।
यो सङ्क्रमण कति घातक हो?
सन् २०२२ मा एमपक्सको क्लेड २ प्रकारको भेरिअन्ट देखिएको थियो र त्यसलाई कम घातक ठानिएको थियो। तर सन् २०२४ मा देखापरेको क्लेड १ भेरिअन्ट त्यो भन्दा घातक देखिएको बताइएको छ। अहिले जसमा पुष्टि भएको छ उनीहरूजस्तै सबैले परीक्षण गर्ने वा उपचारमा जाने नगरेको हुनसक्छ।
सङ्क्रमण भएर लक्षण देखिनु पूर्वको २१ दिनको इन्क्युबेशन पिरियडमै कतिपय मानिसहरू आफ्नो घरमा गइसकेको हुनसक्ने हुँदा एमपक्सको सङ्क्रमण समुदायमा पुगिसकेको हुनसक्ने अधिकारीहरू र चिकित्सक नै बताउँछन्।
एमपक्स हुँदा देखापर्ने बिमिरा ठेउलाजस्तै पनि देखिने भएकोले मानिसहरू घरमा अन्य मानिससँग अलग्गिएर नबस्ने कारणले पनि सङ्क्रमणको जोखिम रहेको डाक्टर पुन ठान्छन्।
सन् २०२४ मा विश्व स्वास्थ्य संगठनले दोस्रो पटक जनस्वास्थ्य सङ्कटका रूपमा घोषणा गरेपछि अध्ययनहरूमा धेरैजसो १५ वर्ष मुनिका बालबालिका र महिलामा यो सङ्क्रमण देखिएको डाक्टर पुन बताउँछन्।
'यदि त्यो क्लेडले बालबालिकालाई सङ्क्रमण गर्ने हो भने त यसको जोखिमबारे बालबालिकालाई लिएर कसैले सोचेको छ जस्तो लाग्दैन,' डाक्टर पुनले भने।
क्लोड १ भेरिअन्टको प्रकोप देखिँदा बिरामी पर्नेमध्ये १० प्रतिशतको ज्यान लिएको र त्यो बढ्दो रूपमा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले सचेत समेत गराएको थियो।
सन् २०२३ को सेप्टेम्बर आसपासमा उक्त भाइरसमा केही परिवर्तन देखा परेको थियो। उत्परिवर्तनहरू (म्युटेसन्स) बाट नयाँ खालको प्रजाति 'क्लेड १ बी' उत्पन्न भएको थियो जुन त्यसयता तीव्र गतिमा फैलिरहेको वैज्ञानिकहरूले बताएका छन्।
नेपालमा भने पछिल्लोपटक दुई नेपालीमा देखिएको एमपक्स कुन भेरिअन्ट हो भन्नेबारे परीक्षण भइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अब केही दिनमा अन्य व्यक्तिमा पनि देखियो भने त्यसलाई समेत राखेर परीक्षण गर्ने वा नदिएको हकमा दुई जनामा देखिएकै भेरिअन्ट परीक्षणका लागि आफूहरू तयार अवस्थामा रहेको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताउनुभयो।
सरकार मात्रैले नियन्त्रण गर्न सम्भव नहुने भन्दै जहाँ लक्षण देखिन्छ त्यतिबेला नै सतर्क हुन र परीक्षण तथा उपचार गराउन पनि मन्त्रालयले आममानिसहरूलाई अनुरोध गरेको छ। बीबीसी
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
