नेभिगेशन

विश्व मुख स्वास्थ्य दिवस २०२५ः ‘स्वस्थ मुख, सकारात्मक सोच’

दाँत र मुख स्वास्थ्यको महत्वमा जनचेतना र रोकथामका उपाय

dental-hygine-day-2025-1742467886.jpg
नेपाल हेल्थ न्युज, काठमाडौं । हरेक बर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाउदै आइरहेको छ । यो बर्षको नारा ‘स्वस्थ मुखः सकारात्मक सोच’ रहेको छ ।

मुख स्वास्थ्यको महत्व र समग्र स्वास्थ्यमा यसको प्रभाव बारे आम नागरिकमा जनचेतना जगाउने, दाँत, मुखसम्बन्धि रोगको भार कम गर्ने, स्वस्थ्य व्यवहारलाई प्रोत्साहन गर्ने, दाँत हेरचाह र उपचार सम्बन्धी निर्णय लिन सशक्त बनाउने, निवारणका उपायहरुको प्रवद्र्धन र जागरुकता बढाएर, रोग भार दीर्घकालीन रुपमा कमी गर्ने विश्व मुख स्वास्थ्य दिवसको उद्देश्य रहेको छ ।

चिकित्सकहरुले नियमित ब्रस गर्ने, फ्लस गर्ने, र दाँतको जाँच गर्ने जस्ता निवारणका काउपायहरूमा जोड दिएका छन् । उनीहरुले स्वस्थ मुख सम्बन्धी अभ्यासहरूलाई प्रवद्र्धन गरेर, नियमित दाँत परिक्षण गरी रोग भार कम गर्न जोड दिएका छन् । उनीहरुले मुखको स्वच्छता र आहारसँग सम्बन्धित स्वस्थ व्यवहार अपनाउन प्रेरित गरेका छन् । दाँत हेरचाह र उपचार सम्बन्धी निर्णय लिन ढिला नगर्नसमेत आग्रह गरिएको छ । त्यसैले मुख स्वस्थ्य सम्बन्धी पहल गर्न मुख स्वास्थ्य कर्मी, नीति निर्माता, समुदायका नेतार व्यक्ति एक ठाउँमा भेला हुन जरुरी छ । यसबाट मुख स्वास्थ्य समस्याको निवारणका उपायहरुको प्रवर्धन र जरारुकता बढ्ने, रोग भार दीर्घकालीन रुपमा कमी गर्न मद्धत पुग्ने अपेक्षा गरिएको छ ।

विश्वमा मुख स्वास्थ्यको अवस्था
विश्व स्वास्थ्य संगठन ग्लोबल ओरल हेल्थ स्टाटस रिपोर्ट २०२२ अनुसार विश्वमा करिब ३.५ बिलियन मानिसमा मुख तथा दाँतको समस्या रहेको छ । मध्यम आय भएका देशमा मुख तथा दाँतको समस्या ४ जना मध्ये ३ जनामा देखिएको छ । विश्वमा करिब २ बिलियन मानिसमा स्थाई दाँत किराले र ५१४ मिलियन बालबालिकामा दुधे दाँत किराले खाने समस्या देखिएको छ ।

नेपालमा मुख स्वास्थ्यको अवस्था
विश्व स्वास्थ्य संगठनको अध्ययन (सन् २०१९) अनुसार, नेपालमा १ देखि ९ वर्ष उमेर समूहका बालबालिकामा दाँत किराले खाने रोग ५१.२%, दाँत किराले खाने रोग ५ वर्ष माथि ३१.५%, १५ वर्ष माथि उमेर समूहमा जटिल प्रकृतिको गिजा रोग १४.८% र ३.४ प्रतिशत (प्रति १ लाख) मा ओठ र मुख क्यान्सरको समस्या रहेको छ । यी रोगहरु विकसित र अल्पविकसित देशहरुमा जनस्वास्थ्य समस्याको रुपमा रहेका छन् । हालसम्म एकीकृत रुपमा सूचना संकलन र विश्लेषण गर्न सकिएको छैन । जसको कारणले तथ्यमा एकरुपता पाईदैन । साथै स्वास्थ्य बीमालाई सबैको पहुँचमा पुर्याउन सकिएको छैन ।

दाँत तथा मुख सम्बन्धी प्रमुख समस्या
दाँत किराले खाने, जिन्जिभाइटिस, दाँत झर्ने, आरो डेन्टल ट्रमा, च्यातिएको ओठ र तालु, मुखको क्यान्सर दाँत तथा मुख सम्बन्धि प्रमुख समस्या रहेका छन् ।

विश्व मुख स्वास्थ्य दिवस कसलाई लक्षित गरी मनाइन्छ ?
व्यक्तिगत तह, विद्यालय र युवा समूह, मुख स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था, सरकार र नीति निर्माताहरूलाई लक्षित गरिएको छ ।

मुख स्वास्थ्यमा ध्यान नदिँदा समग्र स्वास्थ्यमा निम्न समस्या
मुटु रोग, धमनी, बन्द हुने, हृदय घात र स्ट्रोक, इन्डोकार्डाइटिस, श्वास प्रश्वास संक्रमण अर्थात मुखमा भएका केही कीटाणुहरू फोक्सोमा जान सक्छन् र यसले निमोनिया गराउनसक्छ । यसैगरी गर्भावस्था र जन्मजात जटिलताहरू देखिनसक्छ । यसले पेरियडोन्टाइटिस भनिने गिजाको रोग, अवधि नपुगी बच्चा जन्मिने र कम तौलको बच्चा जन्मनसक्छ । यसैगरी मधुमेहका जटिलताहरू पनि देखिनसक्छ । अनुसन्धानले गिजाको रोग भएका मानिसहरूलाई रगतमा चिनीको मात्रा नियन्त्रण गर्न गाह्रो हुने देखाएको छ । नियमित दाँतको हेरचाहले मधुमेह नियन्त्रणमा सुधार गर्न सक्छ । डिमेन्सिया पनि हुनसक्छ । जिन्जिभाइटिस ब्याक्टेरिया मस्तिष्कमा जान सक्ने र न्यूरोन्स (मस्तिष्कका कोषहरू) को सूजन र विनाश गर्न सक्छ । यो अल्जाइमर रोगसँग जोडिएको हुन सक्छ । यी रोगहरु विकसित र अल्पविकसित देशहरुमा जनस्वास्थ्य समस्याको रुपमा रहेका छन् । धेरै देशहरूका लागि दाँत तथा मुख सम्बन्धी रोगहरू एक प्रमुख स्वास्थ्य चिन्ताको विषय बनेका छन् । यसले मानिसहरूको जीवनभर नकारात्मक असर पार्छ ।
मुख सम्बन्धी रोगले निम्त्याउसक्ने समस्यामा दुखाइ र शारीरिक असुविधा,सामाजिक दूरी, आत्मविश्वासमा कमी हुन् ।

जोखिम कारक
धेरैजसो मुख सम्बन्धी रोगको मुख्य कारकहरुमा सुर्तीजन्य पदार्थको प्रयोग, मदिरा सेवन र उच्च चिनीयुक्त अस्वस्थ आहार रहेका छन् यसले प्रमुख नसर्ने रोग, मुटु रोग, क्यान्सर, दीर्घकालीन श्वासप्रश्वास समस्या र मधुमेह निम्त्याउन सक्छ । चिनीको उच्च खपत र मधुमेह, मोटोपना र दाँतको क्षय बीचको कारणात्मक सम्बन्ध पनि छ ।

रोकथाम
चिनीको मात्र कम प्रयोग गर्ने, मौसम अनुसारको फलफूल र तरकारीहरू प्रयाप्त प्रयोग गर्ने, सन्तुलित आहार लिने, मुख्य पेय पदार्थको रूपमा पानीलाई प्राथमिकतामा राख्ने, सुपारी लगायत सबै प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग बन्द गर्ने, मदिरा सेवन कम गर्ने, खेल्दा र साइकल एवं मोटरसाइकलमा यात्रा गर्दा सुरक्षात्मक उपकरणहरूको प्रयोगलाई प्रोत्साहन गर्ने, फ्लोराइड युक्त टूथपेस्ट (१००० देखि १५०० पीपीएम) ले दिनको दुई पटक दाँत माझ्न प्रोत्साहित गरिएको छ ।

उपयोगी सुझाव
फ्लोराइड भएको टुथपेस्टले दिनको दुई पटक नरम ब्रसले दाँत सफा गर्नुहोस । डेन्टल फ्लस वा विशेष ब्रस प्रयोग गर्नुहोस्, जिब्रोको लेपको कारणले सास गन्हाउनबाट बच्न जिब्रो सफा गर्नुहोस्, पर्याप्त पानी पिउनुहोस्, वर्षमा कम्तिमा दुई पटक नियमित रूपमा दन्त परिक्षण गर्नुहोस्, सन्तुलित आहार खानुहोस् । सोडा जस्ता मिठाई र चिनीयुक्त पेय पदार्थहरू सीमित गर्नुहोस् । यदि कुनै महिला गर्भवती हुने योजनामा छिन् भने दाँतको जाँच गराउनुहोस् । हर्मोनल परिवर्तनका कारण, गर्भवती महिलाहरूलाई जिन्जिभाइटिस हुन सक्छ र गिजा सुन्निने र सजिलै रगत बग्ने अनुभव हुन सक्छ । धुम्रपान नगर्नुहोस् । धुम्रपानले गिजाको रोगको सम्भावना बढाउँछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट