नेभिगेशन

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

नेपाल हेल्थ न्युज, झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध खोप अभियान सञ्चालन हुँदैछ। असोज ५ देखि १५ गतेसम्म सञ्चालन हुने यस अभियानमा जिल्लाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जना नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ।

अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भइसकेको र आवश्यक सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

जिल्लाका १३१ वटा वडामा ९०० खोप केन्द्र स्थापना गरिएका छन्। अभियान सम्पन्न गर्न करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जानकारी दिनुभएको छ। झापामा जेईको सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि उच्च सतर्कताका साथ खोप अभियान चलाउन लागिएको हो।

जिल्लामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा सात जनाको मृत्यु भइसकेको छ। मृत्यु भएका कसैले पनि जेई विरुद्धको खोप नलगाएको पाइएको छ।

स्वास्थ्य कार्यालयका प्रमुख दासले लक्षित समूहका कोही पनि नागरिक खोपबाट नछुटुन् भनेर स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक तयारी पूरा गरिएको बताएका छन्। खोप सुरक्षित भएकाले लक्षित समूहका नागरिकलाई अभियानमा सहभागी भएर खोप लगाउन उहाँले आग्रह गर्नुभएको छ।

गर्भवती, यसअघि खोप लगाउँदा गम्भीर एलर्जी (एनाफिलेक्सिस) भएका व्यक्ति तथा खोपका कुनै तत्वबाट गम्भीर एलर्जी भएकाहरूले यो खोप लगाउनु हुँदैन। ज्वरो आएको अवस्थामा खोप नलगाई ज्वरो निको भएपछि मात्र लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ।

जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। सङ्क्रमित चराचुरुङ्गी तथा सुँगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो रोगको सङ्क्रमण सर्ने गर्छ। रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट