नेपाल हेल्थ न्युज, बैतडी । ‘खोकी न सोकी क्षयरोग पो हो कि ? ’ भन्दै स्वास्थ्यकर्मीको टोली क्षयरोग पत्ता लगाउन गाउँ गाउँ पुग्न थालेका छन् । समुदायमा क्षयरोगका बिरामी भए पनि आफैँ उपचारमा नआउँदा क्षयरोगी पत्ता लगाउन टोली परिचालन गरिएको हो । यो वर्ष बैतडीमा चार जना थप क्षयरोगी पत्ता लागेसँगै बिरामीको सङ्ख्या १०२ पुगेका छन् ।
पत्ता लागेका ९८ जना पुराना र यो वर्ष थप चार जना गरेर १०२ जनाको क्षयरोगीको नियमित उपचार भइरहेको छ । तथ्याङ्क अनुसार बैतडीमा गत वर्ष क्षयरोगका कारण ११ जना र चालु आर्थिक वर्षमा दुई जना गरेर १३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताउनुभयो ।
विश्व क्षयरोग दिवसका अवसरमा पारेर सोमबार स्वास्थ्य कार्यालयले सरोकारवालासँग अन्तर्क्रिया गरेको छ । क्षयरोग पत्ता लगाउन समुदाय स्तरमै स्क्रिनिङ कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो ।
सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । क्षयरोगको औषधी सबै स्वास्थ्य संस्थामा निःशुल्क पाइने गरेको छ । क्षयरोगीले छ महिनासम्म नियमित औषधी सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने स्वास्थ्यकर्मीले बताएका छन् ।
लगातार दुई हप्तासम्म खोकी लाग्नु, छाती दुखेर स्वास फेर्न गाह्रो हुनु, तौल घट्नु वा थकाइ लाग्नु, रगतसहित वा रहित खकार खोक्नु, साँझ पख हल्का ज्वरो र पसिना आउनु जस्ता लक्षण देखिएमा क्षयरोग हुन सक्छ भन्ने मान्यता रहेको छ । पछिल्लो समय ‘खोकी न सोकी क्षयरोग पो हो कि रु’ भन्ने मान्यता अनुसार क्षयरोग पत्ता लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताउनुभयो ।
पुर्चौडी नगरपालिका र सुर्नया गाउँपालिकामा क्षयरोगमुक्त कार्यक्रम सञ्चालन भइरहेको स्रोतव्यक्ति जयसिंह बडालले बताउनुभयो । उपकरणसहित स्वास्थ्यकर्मीको टोली परिचालन भएर रोगी पत्ता लगाउने काम भइरहेको उहाँले बताउनुभयो । एक जना क्षयरोगीले घरपरिवार र समुदायलाई सङ्क्रमित बनाउन सक्ने भएकाले रोगी पत्ता लगाउन ठुलो उपलब्धि मानिने उहाँले बताउनुभयो ।
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
