काठमाडौंको नेशनल रिफरेन्स ल्याबोरेटोरीमा कार्यरत डा. सुजन शर्माले सन् २०१२ देखि नेपालमा काम गर्नु शुरु भएको हो । उहाँले भारतको कर्नाटकस्थित कस्तुरबा मेडिकल कलेजबाट एमडी गर्नुभएको छ । सुरुमा काठमाडौं विश्वविद्यालयबाट सेवा सुरु गर्नुभएका डा. शर्माले झापाको विएण्डसी अस्पतालमा केही समय काम गर्नुभयो । राजधानी बाहिर र भित्र बसेर प्याथोलोजिष्टको भूमिका निर्वाह गर्नुभएका डा. शर्माको अनुभव ।
घटना नं.१
‘आफू जन्मेको गाउँ ठाउँमा काम गर्नुपर्छ’ भनेर एक पटक म जनकपुर गएँ । चार पाँच दिन काम पनि गरेंँ । तर काम गर्ने वातावरण नभएपछि म काठमाडौं फर्कें । राजधानीबाहिर आधारतभूत उपकरण, सेवा सुविधा नहुँदा निकै समस्या छ । जनकपुरका म जस्ता धेरै प्याथोलोजिष्ट साथीहरु राजधानीका ठूला अस्पताल र ल्याबहरुमा काम गर्छन् । तर जनकपुर अञ्चल अस्पतालमा जम्मा एक जना मात्र प्याथोलोजिष्ट छ । यद्यपी राजधानीबाहिर प्याथोलोजिष्टहरुलाई काम गर्ने वातावरण नबन्दा निरास हुनुपर्ने अवस्था छ ।
घटना नं.२
केही दिनअघि २५ वर्षकी एक युवतीको परीक्षणका क्रममा स्तन क्यान्सर भेटेँ । यो उमेरमा उनलाई क्यान्सर देखिएकाले मलाई पनि नरमाइलो लाग्यो । तर मैले उनलाई सजिलै भन्न सकिनँ । समस्या कन्फर्म गर्न नमुनाको रिपोर्ट मलाई पढाउने सरलाई पठाएँ । उहाँबाट पनि क्यान्सर भएको निश्चित भयो । अनि मात्र क्यान्सर भएको जानकारी दिएँ । यसरी कुनै रिपोर्टमा शंका लागेमा समूहमा छलफल गरेर सत्य तथ्य पत्ता लगाउने कोशिस गर्नुपर्छ । हचुवाको भरमा रिपोर्ट दिन हुँदैन । फिजिसियनसँग भेट नभएपनि फोनमा कुरा गरिरहनुपर्छ ।
यी त प्रतिनिधि पात्र मात्र हुन् । अतः बिरामी भएपछि उपचारका लागि जाने चिकित्सक समक्ष नै हो । चिकित्सकले लेखिदिएको जाँच गरेपछि मात्र समस्याको पहिचान हुन्छ र ‘कुन उपचार शुरु गर्ने ?’ ‘कस्तो औषधि सिफारिस गर्दा बिरामी निको हुन्छ’ भन्ने निक्र्योल गरिन्छ । प्याथोलोजिष्टहरु पर्दा पछाडिका हिरो हुन् जसले रोगको सही पहिचान गरेर सही उपचारमा मद्धत पुर्याइरहेका हुन्छन् ।
प्रयोगशाला र जनशक्तिको विस्तार
पछिल्लो समयसामान्य रोग परीक्षणका लागि नमुना भारत पठाउनुपर्ने बाद्यता छैन । मुलुकभित्र नै विशेष प्रकारका परीक्षणहरु भइरहेका छन् । तर धेरै प्याथोलिजिष्टहरु राजधानी केन्द्रित छन् । राजधानीबाहिर धेरै ठाउँमा प्यालोलोजी सेवा विस्तार हुन सकेको छैन । अझै पनि करिब ८० प्रतिशत प्याथोलोजीको काम काठमाडौंबाट हुने गरेको छ । झापाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा बसेर काम गर्दा इटहरीदेखि ताप्लेजुङसम्म जम्मा चारजना प्याथोलोजिष्टले काम गरेको पाएँ । राजधानी बाहिर पर्याप्त जनशक्ति छैनन् र अत्याधुनिक प्रयोगशालाहरु सञ्चालनमा आउन सकेका छैनन् । अत्याधुनिक प्रयोगशालाहरुको विस्तार र भरपर्दो जनशक्ति नहुँदा नमुना परीक्षण गर्न एजेण्टहरुले भारतको सिलगुडी लैजाने गर्छन् ।
खै सुविधा ?
पहिलो काम त सरकारले आफ्ना मातहतका अस्पतालहरुमा लोकसेवामार्फत पदपूर्ति गर्नुपर्छ । यसबाट नेपाली मुद्रा विदेशिने सम्भावना न्युनिकरण हुनुका साथै मुलुकमा रोजगारीको अवसर बढ्दै जान्छ । यसका साथै मुलुकमा प्याथोलोजी सेवालाई विकेन्द्रीकरण गर्दै जानुपर्छ ।
विश्वस्तरीय उपकरण जडित सुविधायुक्त ल्याबहरु सञ्चालनमा ल्याउने वातावरण सृजना गर्नुपर्छ । सरकारले ग्रामीण क्षेत्रमा पनि प्रयोगशाला विस्तार गर्ने वातावरण सृजना गर्नुपर्छ । यसका लागि विभिन्न सुविधा र सहुलियत उपलब्ध गराउनुपर्छ ।
यद्यपी नेपालमा करिब दुई दर्जन जति प्याथोलोजिष्टहरु उत्पादन भइरहेको वर्तमान अवस्थामा स्वदेशबाट नै राम्रो प्याथालोजी सेवा उपलब्ध गराउन सकिन्छ । गुणस्तरीय सेवा उपलब्ध गराउन प्याथोलोजिष्ट, निजी क्षेत्रका ल्याब सञ्चालक सबैको भूमिका महत्वपूर्ण हुनुपर्छ ।
सबै समस्या बताउने कि
कतिपयले आफ्नो विगतदेखिका जीवनशैलीलगायतका समस्या बताउने गर्दैनन् । यस प्रकारको प्रवृत्ति गलत हो । यदि सबै कुरा नबताउँदा रिपोर्ट गलत पनि आउन सक्छ । त्यसैले विरामीले चिकित्सकलाई आफ्ना विगतका सबै समस्या बताउनुपर्छ । हरेक चिकित्सकलाई आफ्नो विरामी राम्रो भएर जाओस् भन्ने चाहना हुन्छ । ‘विरामीको खुसी नै आफ्नो खुसी हो’ भन्ने मान्यता हामीहरुको हुन्छ ।
मेडिकल प्रयोगशाला व्यवस्थापन प्रणाली ‘निदान्यो’ स्वदेशी सफ्टवेयर सार्वजनिक
शनिबार, असोज ३, २०८३
डा. सुजन शर्मा स्पेनको बहुराष्ट्रिय कम्पनी बायोसिस्टम्स एस.ए. का प्राविधिक सल्लाहकार नियुक्त
बिहीबार, साउन १४, २०८३
अंकोप्याथोलोजीः क्यान्सरको सही निदान र उपचारका लागि एक महत्वपूर्ण कडी
बुधबार, जेठ २८, २०८२
ल्याव टेष्ट गर्दा सावधान ! यी तरिकाबाट तपाईं ठगिन सक्नुहुन्छ
शनिबार, चैत ३०, २०८१
