नेपाल हेल्थ न्युज, काठमाडौं। काठमाडौको सुकेधारास्थित पाँचतारे होटल मर्क्यूरले क्यान्सर केयर नेपाललाई पाँच लाख सहयोग गरेको छ ।
क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि होटल मर्क्यूरले सो सहयोग गरेको हो । यसले क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि आर्थिक सहयोग गर्दै आएकोे छ ।
काठमाडौमा आयोजित एक कार्यक्रममा संस्थाका मानार्थ अध्यक्ष अभिनेत्री मनिषा कोइरालालाई मर्क्यूरका सञ्चालक देशबन्धु बस्नेतले सहयोगस्वरुप रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो ।
अभिनेत्री कोइरालाले सहयोगका लागि धन्यवाद दिँदै क्यान्सरपीडितका लागि उक्त सहयोग उपलब्धिमूलक र महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले संस्था र होटलबीच दीर्घकालीन सहकार्यको पनि अपेक्षा राखिएको धारणा राख्नुभयो ।
“यस संस्थाले लामो समयदेखि क्यान्सरपीडित भई आर्थिक रूपले कमजोर भएकाहरूलाई उपचारका क्षेत्रमा सहयोग गर्दै आएको छ”, अभिनेत्री कोइरालाले भन्नुभयो, “होटल मक्र्योर काठमाडौँले गरेको यो सहयोगले आगामी दिनमा क्यान्सरविरुद्धको लडाइँमा उहाँहरूलाई सहयोग र हौसला पुगेको छ ।”
सञ्चालक बस्नेतले अन्तरराष्ट्रिय क्यान्सर अस्पताल बनाउन खरिद गरिएको जग्गामा अहिले होटल स्थापना भएको बताउँदै क्यान्सरपीडितका लागि सहयोग गर्न पाउँदा आफू उत्साहित भएको उल्लेख गर्नुभयो ।
बस्नेतले भन्नुभयो, “अन्तरराष्ट्रियस्तरको क्यान्सर अस्पताल निर्माण गर्ने उद्देश्यले जग्गा खरिद गरिएको थियो, तर विभिन्न कारणले अस्पताल निर्माण हुन सकेन, आज होटल सुरु भएपछि क्यान्सरपीडितको उपचारमा सहयोग गर्न पाउँदा खुसी लागेको छ ।” उहाँले आगामी दिनमा पनि क्यान्सरपीडितको सहयोगका लागि संस्थासँग सहकार्य गर्ने बताउनुभयो ।
क्यान्सर केयर नेपालका अध्यक्ष डा मदनकुमार पियाले लामो समयदेखि आर्थिक रूपमा उपचार गर्न नसक्ने क्यान्सरपीडितका लागि संस्थामार्फत निःशुल्क उपचारमा सहयोग गर्दै आएको बताउनुभयो । “आर्थिक रूपमा कमजोर भएकाहरू जसले क्यान्सरको उपचार गर्न सक्दैनन्, वा उपचारलाई बीचमै छाड्न बाध्य हुन्छन्, उहाँहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।
विसं २०६५ मा स्थापना भएको क्यान्सर केयर नेपाल क्यान्सरपीडितको उपचारका साथै आमनागरिकमा क्यानसका साथै जनस्वास्थ्यका बारमा जनचेतना फैलाउँदै आएको छ ।
ईनर ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. सृष्टि श्रेष्ठ प्रजापति चयन
शनिबार, असार १३, २०८३
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
