नेपाल हेल्थ न्युज, म्याग्दी । सदरमुकाम बेनीस्थित प्रदेश अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी)बन्द भएपछि टाढाटाढाबाट उपचारका लागि आएका बिरामीहरू ठूलो मर्कामा परेका छन् ।
नेपाल चिकित्सक सङ्घको आह्वानमा आवासीय चिकित्सकहरूको न्यायोचित र व्यावहारिक माग सम्बोधन नभएको भन्दै शुक्रबारदेखि अस्पतालका चिकित्सकहरूले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै ओपिडी सेवा पूर्ण रूपमा बन्द गरेका हुन् ।
ओपिडी सेवा ठप्प हुँदा नियमित चेकजाँच र उपचारका लागि अस्पताल धाउने बिरामीहरू उपचार नपाएर निराश फर्कन बाध्य भएका छन् ।
धवलागिरि गाउँपालिका–२ लुलाङका भबिराम विक शनिबार बिहानै उपचारका लागि अस्पताल आइपुगेका थिए। तर, ओपिडी सेवा बन्द भएपछि उपचार नपाएर उनी घर फर्किन बाध्य भए।
अस्पतालमा उपचार नहुने भएपछि अब बाहिर क्लिनिक धाउनुपर्छ। घरमा नियमित खाने औषधि पनि अस्पतालमा पाइएन, विकले दुःखेसो गरे।
गत दुई वर्षदेखि गण्डकी प्रदेशका अस्पतालहरूमा सार्वजनिक बिदाका दिन समेत बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म १३ घण्टे ओपिडी सेवा विस्तार गरिएको थियो। बेनीको प्रदेश अस्पताल पनि यो सुविधा दिने पहिलो अस्पतालमध्ये एक हो। तर अहिले सेवा अवरुद्ध हुँदा गाउँगाउँबाट आएका बिरामीहरू थप समस्यामा परेका छन्।
अस्पतालका डा। रामु सापकोटाले गम्भीर अवस्थामा आएका बिरामीहरूको मात्र आकस्मिक कक्षमार्फत उपचार भइरहेको जानकारी दिए। ूओपिडी सेवा भने पूर्ण रूपमा बन्द गरिएको छ, उनले भने।
आन्दोलनरत चिकित्सकहरूले आवासीय चिकित्सकहरूलाई सरकारी आठौँ तह बराबर मासिक निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने मुख्य माग राख्दै आन्दोलन थालेका हुन्। आन्दोलनका कारण देशभरका सरकारी अस्पतालहरूको ओपिडी सेवा प्रभावित भइरहेको छ। बेनी अस्पतालमा कार्यरत चिकित्सकहरूले आन्दोलनबारे जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षणसमेत गराएका छन्।
सरकारी स्तरबाट समाधानको पहल नहुँदा सामान्य बिरामीहरू उपचारबाट वञ्चित भई हैरान हुन थालेका छन्। आन्दोलन कहिले अन्त्य हुन्छ र सेवा कहिले सामान्य बन्छ भन्ने अन्योल कायमै छ।
दुई दिनको बिदापछि सरकारी अस्पतालमा बिरामीको भीड, सेवा व्यवस्थापनमा चुनौती
सोमबार, वैशाख २१, २०८३
सरकारद्वारा मन्त्रालय पुनर्संरचना: ४ मन्त्रालय खारेज हुँदै
सोमबार, वैशाख २१, २०८३
१५ दिनसम्म राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन’
सोमबार, वैशाख २१, २०८३
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३

