नेभिगेशन

सल्यानमा स्क्रब टाइफस संक्रमण बढ्दो, परीक्षण किट उपलब्ध गराउन सांसद मल्लको माग

नेपाल हेल्थ न्युज, काठमाडौं । सल्यानका विभिन्न स्थानीय तहमा स्क्रब टाइफस संक्रमण बढ्दै गएको भन्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद मल्लले सल्यानको दार्मा गाउँपालिकामा पछिल्लो एक महिनाको अवधिमा स्क्रब टाइफसका कारण उपचाररत ७ जनाको मृत्यु भएको जानकारी गराउनुभयो। संक्रमण फैलिँदै गए पनि रोग पहिचानका लागि आवश्यक परीक्षण किट पर्याप्त मात्रामा उपलब्ध नभएको उहाँको भनाइ छ।

स्थानीय तहले प्रदेश र संघीय सरकारसँग परीक्षण किट तथा आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गरेको लामो समय भइसके पनि अपेक्षित सहयोग नपाएको उहाँले संसद्मा बताउनुभयो।

मल्लका अनुसार सल्यानका दार्मा, कुमाख र बागचौरलगायत क्षेत्रमा स्क्रब टाइफसका बिरामीको संख्या बढिरहेको छ। पछिल्लो दुई महिनामा दार्मा र बागचौर क्षेत्रमा ३३५ जनाको स्वास्थ्य परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो। परीक्षण गरिएकामध्ये करिब ३५ प्रतिशतमा संक्रमण देखिनुले अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो।

उहाँले हाल सार्वजनिक भएको तथ्यांक परीक्षण भएका व्यक्तिमा मात्र आधारित रहेको उल्लेख गर्दै जोखिममा रहेका सबै क्षेत्रमा पर्याप्त परीक्षण गर्न सके संक्रमितको संख्या अझ बढी हुन सक्ने बताउनुभयो।

परीक्षण किटको अभावले समयमै रोग पहिचान गर्न, उपचार सुरु गर्न तथा संक्रमणको वास्तविक अवस्था मूल्यांकन गर्न समस्या भइरहेको सांसद मल्लको भनाइ छ।

स्वास्थ्य मन्त्रालयको वार्षिक प्रतिवेदनलाई उद्धृत गर्दै उहाँले नेपालमा स्क्रब टाइफस संक्रमितको संख्या आर्थिक वर्ष २०७९/८० मा ९ हजार २४३ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा २५ हजार ४९४ पुगेको बताउनुभयो। संक्रमणको भार कर्णाली र सुदूरपश्चिम प्रदेशमा तुलनात्मक रूपमा बढी देखिएको उहाँले संसद्मा उल्लेख गर्नुभयो।

स्वास्थ्य संकटका समयमा नागरिकले राज्यको प्रभावकारी उपस्थिति महसुस गर्नुपर्ने भन्दै मल्लले सल्यानमा तत्काल आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो।

उहाँले पर्याप्त परीक्षण किटसँगै आवश्यक औषधि र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न, स्वास्थ्यकर्मीलाई स्क्रब टाइफससम्बन्धी आवश्यक अभिमुखीकरण दिन तथा जोखिमयुक्त बस्तीमा घरदैलो स्वास्थ्य परीक्षण सञ्चालन गर्न माग गर्नुभएको छ।

साथै, संक्रमण नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गर्दै जोखिमयुक्त क्षेत्रमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट