नेभिगेशन

सञ्चालनमा नआएका ५७ अस्पताल पुनर्जीवन पाउने, स्वास्थ्य मन्त्रीको सक्रियता

नेपाल हेल्थ न्युज काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको नेतृत्वमा देशभर निर्माण त सम्पन्न भएका तर हालसम्म पूर्ण क्षमतामा नचलिरहेका ५७ वटा अस्पताललाई आगामी साउन महिनाबाटै सञ्चालनमा ल्याउने तयारी सुरु गरिएको छ।

अघिल्लो वर्षका बाँकी योजनाको समिक्षा गर्दै नयाँ आर्थिक वर्षमा समेत यस्ता अस्पताल थप निर्माण हुने योजनामा मन्त्रालयले तीव्रता दिएको छ। तर विगतमा बिना मापदण्ड अस्पताल निर्माण भइरहेका कारण धेरैजसो सञ्चालनमै आउन सकेका छैनन्। यही समस्यालाई समाधान गर्न हालै आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ तयार पारिएको छ।

पाँच, १० र १५ शय्या क्षमताका स्थानीय अस्पतालहरूलाई केन्द्र सरकारबाट चाहिने जनशक्ति, उपकरण, औषधि र अन्य स्वास्थ्य सामग्रीको समुचित व्यवस्था मिलाउने विषयमा पनि अब रणनीतिक योजना तयार पारिँदैछ।

त्यहीअनुसार मन्त्री पौडेलले मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा एउटा कार्यदल गठन गर्नुभएको छ। उक्त कार्यदलले संघ, प्रदेश र स्थानीय तहबीच समन्वयका साथ कसरी यस्ता अस्पतालहरू सञ्चालन गर्न सकिन्छ भन्नेबारे स्पष्ट दिशानिर्देश तयार पार्नेछ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, आगामी वर्षका लागि करिब एक अर्ब रुपैयाँको बजेट छुट्याइएको छ, जसले गर्दा यसपटक यी अस्पतालहरू साँच्चिकै जनतालाई सेवा दिने अवस्थामा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट