नेभिगेशन

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

नेपाली नागरिकलाई भारतमा उपचारमा सहुलियत, आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिमा भारतको सहयोग

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल र भारतबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको नेतृत्वमा तयारी तीव्र बनाइएको छ। यसै सन्दर्भमा नेपाल सरकारले भारतसँग स्वास्थ्यसम्बन्धी फ्रेमवर्क सम्झौता गर्न मन्त्रिपरिषद्को स्वीकृति प्राप्त गरेको छ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आधारित उक्त फ्रेमवर्कले नेपाल–भारतबीच द्विपक्षीय सहकार्यको नयाँ ढोका खोल्नेछ। मन्त्री पौडेलले गत अक्टोबर ७ मा भारत भ्रमणका क्रममा त्यहाँका स्वास्थ्य मन्त्री जेपी नड्डासँगको भेटमा फ्रेमवर्कमा हस्ताक्षर गर्ने सहमति जनाउनुभएको थियो। सोही क्रममा तनहुँको दुलेगौंडामा अवस्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रमा तीन सय शैय्याको संरचना निर्माण गर्न नेपालले राखेको प्रस्तावमा पनि भारतीय पक्षले सकारात्मक प्रतिक्रिया जनाएको थियो।

स्वास्थ्य मन्त्रालयले अब भारतीय स्वास्थ्य मन्त्रीको नेपाल भ्रमणको क्रममा औपचारिक रुपमा फ्रेमवर्कमा हस्ताक्षर गर्ने तयारी गरिरहेको छ। फ्रेमवर्क मस्यौदामा औषधी खरिद, स्वास्थ्यकर्मी तालिम, उपचारमा सहुलियत, तथा परम्परागत चिकित्सा प्रणाली विकासलगायत विषय समावेश गरिएको छ।

स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा भारतको सहयोग
फ्रेमवर्कअनुसार भारतले नेपाली स्वास्थ्यकर्मीलाई तालिम, अध्ययन तथा सीप विकासका अवसरहरू प्रदान गर्नेछ। साथै, भारतमा उत्पादित औषधी सुपथ मूल्यमा नागरिकसम्म पुर्‍याउन सरकार-देखि-सरकार प्रणालीमार्फत खरिद गर्न सकिने प्रस्ताव पनि मस्यौदामा समावेश गरिएको छ। नेपालमा उपचार सम्भव नभएका बिरामीको भारतमा उपचार गर्दा सहुलियत प्रदान गर्ने व्यवस्था पनि सम्झौतामा राखिएको छ।

आयुर्वेद र परम्परागत चिकित्सा विस्तारमा समझदारी
आयुर्वेद तथा परम्परागत चिकित्सा विज्ञानको विकासका लागि नेपाल र भारतबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। यसअन्तर्गत आयुर्वेद चिकित्साकर्मीलाई भारतमा तालिम तथा सीप विकासको अवसर खुल्नेछ। भारतले नेपालमा वैकल्पिक चिकित्सा प्रणालीको जनशक्ति विकास, प्रविधि हस्तान्तरण तथा तालिममा सहयोग गर्नेछ।

सन् २०१९ मा सकिएको पुरानो सम्झौतालाई प्रतिस्थापन गर्न नयाँ मस्यौदा तयार पारिएको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, मन्त्रिपरिषद्को निर्णयपछि अब सम्झौता तथा समझदारी प्रक्रियालाई औपचारिक रूपमा अघि बढाइनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट