नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघको पहलमा आज देशभरका स्वास्थ्य संस्थाहरुमा एक घण्टे धर्ना कार्यक्रम सञ्चालन भएको छ। बिहान १० बजेदेखि ११ बजेसम्म चिकित्सकहरूले काम रोकेर विरोधस्वरूप धर्नामा सहभागी भएका हुन्।
हालै उपभोक्ता अदालतले अस्पताल र चिकित्सकमाथि क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएपछि चिकित्सकहरूले त्यसको प्रतिवाद स्वरूप चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन्। संघको भनाइमा, अदालतको सो निर्णय चिकित्सकको पेशागत सुरक्षाविरुद्ध रहेको भन्दै आन्दोलनमा उत्रनु परेको हो।
संघले आइतबारको धर्नापछि सोमबार आकस्मिकबाहेकका सम्पूर्ण उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ। त्यसैगरी, मंगलबारको दिन सबै चिकित्सकहरूले आफ्नो लाइसेन्स (पेशागत प्रमाणपत्र) नेपाल मेडिकल काउन्सिलमा बुझाउने तयारी गरिएको छ।
संघको कार्यकारिणी समितिको शुक्रबार बसेको आकस्मिक बैठकले यी आन्दोलनका कार्यक्रमहरु तय गरेको हो। भक्तपुर अस्पतालका चिकित्सकहरू समेत आज बिहानको धर्नामा सहभागी भएका छन्, जसको जानकारी डा. सुनिल ढुंगेलले दिनुभयो।
यसैबीच, संघले आफ्नो सम्पूर्ण शाखा कार्यालयहरू मार्फत चिकित्सकहरूको हस्ताक्षर र काउन्सिलद्वारा प्रदान गरिएको प्रमाणपत्र संकलन गरी सोमबारसम्म केन्द्रीय कार्यालयमा पठाउने निर्णय समेत गरेको छ।
आन्दोलनमा नेपालका निजी मेडिकल कलेज, डेन्टल कलेज, अस्पताल संचालकहरूको संस्था (अफिन), औषधि उत्पादक संघ (एपोन), मेडिकल उपकरण व्यवसायीहरू (केमसान), नेपाल नर्सिङ संघ, फार्मेसी, फिजियोथेरापी, भेटनरीलगायत पेशागत संस्थाहरूले समर्थन जनाएका छन्।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
