नेपाल हेल्थ न्युज, ताप्लेजुङ । ताप्लेजुङमा पहिलोपटक एपेन्डिक्ससहितका जटिल शल्यक्रिया सेवा औपचारिकरूपमा सुरु भएको छ। विशेषज्ञ चिकित्सक तथा अत्यावश्यक उपकरणको उपलब्धतापछि जिल्ला अस्पताल ताप्लेजुङबाट यस्तो सेवा सुरु गरिएको हो।
जिल्ला अस्पतालका प्रमुख डा. प्रनाम जयरुको आगमनसँगै अस्पतालमा सामान्य र ल्याप्रोस्कोपिक शल्यक्रिया सञ्चालनमा आएको हो। माघ महिनादेखि अस्पतालमा एपेन्डिक्स, हर्निया, हाइड्रोसिल लगायतका शल्यक्रिया हुन थालेका हुन्।
पछिल्लो पाँच महिनामा अस्पतालले १३६ जना बिरामीको सफल शल्यक्रिया गरेको जानकारी दिएको छ। तीमध्ये आठ जनाले एपेन्डिक्सको शल्यक्रिया गराएका छन् भने हालै एक ६ वर्षीय बालकको हर्निया शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ।
शल्यक्रिया सेवा डा. जयरुको नेतृत्वमा एमडिजिपी डा. ताई अन्जुक लामासहितको चिकित्सक टोलीद्वारा प्रदान गरिँदै आएको छ।
अस्पतालमा हातका चोटपटक, पाइल्स, फिस्टुला, बालबालिकाका यौन अङ्गसम्बन्धी समस्या (जस्तै सर्कमसिजन), हर्निया तथा अन्य विभिन्न किसिमका सर्जरी गरिँदै आएको छ।
शल्यक्रिया सेवा सुरु भएसँगै ताप्लेजुङका नागरिकलाई अन्य शहर धाउनुपर्ने झन्झटबाट राहत मिलेको छ। फुङ्लिङ–५ का बिक्रम लिम्बूले “अब रोगको शल्यक्रियाका लागि ठूलो खर्चमा बाहिर जानु नपर्ने भएपछि निकै खुशी लागेको” प्रतिक्रिया दिनुभयो।
स्थानीयवासी, जनप्रतिनिधि र राजनीतिक दलहरूले अस्पतालमा अन्य विशेषज्ञ सेवाहरू ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै डा. जयरुले देखाएको अग्रसरताको प्रशंसा गरेका छन्।
डा. जयरुका अनुसार, केही उपकरणको व्यवस्था भएसँगै सेवा सुरु गरिएको हो भने नयाँ आर्थिक वर्षमा प्रदेश सरकारको बजेटबाट सेवा थप व्यवस्थित र प्रभावकारी बनाउने तयारी भइरहेको छ। उहाँले प्रभावकारी स्वास्थ्य सेवा सञ्चालनमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको पनि बताउनुभयो।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
