नेपाल हेल्थ न्युज, फुङलिङ । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै जिल्ला अस्पताल ताप्लेजुङले चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको बिदा र काज स्वीकृत नगर्ने निर्णय गरेको छ।
मौसम विज्ञान विभागले ताप्लेजुङसहित विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको अवस्थामा अस्पतालले बिहीबारदेखि लागू हुने गरी अत्यावश्यक अवस्थाबाहेक सात दिनसम्म बिदा तथा काज स्वीकृत नगर्ने निर्णय गरेको हो।
सम्भावित विपद्का समयमा स्वास्थ्य सेवा प्रभावकारी र निरन्तर रूपमा सञ्चालन गर्न अस्पतालले चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आकस्मिक बैठक बोलाएर आवश्यक पूर्वतयारीबारे छलफल गरेको थियो।
बैठकले विपद् तथा आपत्कालीन अवस्थामा अस्पतालबाट प्रदान गरिने आकस्मिकलगायत स्वास्थ्य सेवा प्रभावकारी बनाउन आवश्यक जनशक्ति तथा स्रोतसाधन तयारी अवस्थामा राख्ने निर्णय गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण थापामगरले जानकारी दिनुभयो।
अस्पतालले विपद्का बेला आवश्यक पर्ने औषधि, स्वास्थ्य सामग्री, उपकरण, इन्धन तथा अन्य स्रोतसाधनको उपलब्धता सुनिश्चित गर्ने तयारी गरेको जनाएको छ। आवश्यकताअनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल परिचालन गर्ने व्यवस्था समेत मिलाइएको छ।
विपद्का समयमा तत्काल परिचालन गर्न सकिने गरी अस्पतालले इमर्जेन्सी मेडिकल टिम (आपत्कालीन स्वास्थ्य टोली) समेत गठन गरेको डा. थापामगरले बताउनुभयो।
सम्भावित विपद्का कारण स्वास्थ्य सेवामा पर्न सक्ने असर न्यूनीकरण गर्दै बिरामीलाई निरन्तर आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले जनशक्ति, औषधि तथा आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको छ।
आवासीय चिकित्सकमाथि अन्याय भएको भन्दै चिकित्सा शिक्षा संघर्ष अभियानको आपत्ति
शुक्रबार, असोज ९, २०८३
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा १५ स्टाफ नर्स माग
शुक्रबार, असोज ९, २०८३
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
शुक्रबार, असोज ९, २०८३

