नेभिगेशन

आवासीय चिकित्सकमाथि अन्याय भएको भन्दै चिकित्सा शिक्षा संघर्ष अभियानको आपत्ति

नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा संघर्ष अभियानले वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकमाथि कलेज प्रशासनले अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाउँदै विरोध जनाएको छ।

अभियानले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत आवासीय चिकित्सकलाई चिकित्सा शिक्षा आयोगले तोकेको पारिश्रमिक तथा तलब–भत्ता उपलब्ध नगराइएको, आईओएम डिन कार्यालयले तोकेको ड्युटी आवरको पालना नगरी लगातार ३६ घण्टाभन्दा बढी काममा लगाइएको तथा चिकित्सकमाथि झुटा मुद्दा लगाइएको आरोप लगाएको हो।

अभियानका अनुसार कलेज प्रशासनले आवासीय चिकित्सकलाई तत्काल छात्रावास खाली गर्न भन्दै धम्कीपूर्ण सूचना जारी गर्नुका साथै उनीहरूलाई कलेजबाट फिर्ता पठाउन आईओएममा पत्राचारसमेत गरेको छ।

चिकित्सा शिक्षा संघर्ष अभियानले आवासीय चिकित्सकमाथि भइरहेको भनिएको व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै सम्बन्धित निकायको भूमिकामाथि समेत प्रश्न उठाएको छ। अभियानले समस्याको समाधान वार्ता र आपसी समझदारीबाट गर्नुपर्नेमा चिकित्सकहरूलाई लामो समयदेखि आन्दोलनमा जान बाध्य पारिएको दाबी गरेको छ।

विज्ञप्तिमा नेशनल मेडिकल कलेजले विगतदेखि नै राज्यका नियम–कानुनको उल्लंघन गर्दै आएको आरोपसमेत लगाइएको छ। कलेजका गतिविधिमाथि सम्बन्धित नियामक निकायले प्रभावकारी अनुगमन नगरेको भन्दै अभियानले नियामक निकायको भूमिकामाथि पनि प्रश्न उठाएको छ।

अभियानले कलेज प्रशासनको व्यवहारमा सुधार नआए सरकारले सम्बन्धन खारेजीको प्रक्रियासमेत अघि बढाउनुपर्ने माग गरेको छ। साथै कलेज सञ्चालकलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गर्न माग गरिएको छ।

आवासीय चिकित्सकहरूको पक्षमा आफूहरू रहेको स्पष्ट पार्दै अभियानले उनीहरूमाथि लगाइएका भनिएका मुद्दा तत्काल फिर्ता लिन, आफ्ना गल्ती स्वीकार गर्न र चिकित्सकहरूका माग शीघ्र सम्बोधन गर्न माग गरेको छ।

माग सम्बोधन नभए आफूहरू आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिँदै अभियानले त्यसबाट उत्पन्न हुने घटनाक्रमको जिम्मेवारी सम्बन्धित प्रशासनले लिनुपर्ने जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ