नेभिगेशन

ट्रमा सेन्टरका स्वास्थ्यकर्मी तथा कर्मचारीद्वारा बाढी प्रभावितका लागि ४३ लाख ६० हजार ९ सय रूपैयाँ सहयोग

नेपाल हेल्थ न्युज, काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले ४३ लाख ६० हजार ९ सय रुपैयाँ सहयोग गरेका छन्।

सेन्टरमा कार्यरत चिकित्सक, नर्सिङ स्टाफ तथा अन्य प्रशासनिक कर्मचारीको स्वेच्छिक योगदानबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा जम्मा गरिएको सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रथम श्रेणीका अधिकृतहरूले १० दिनको, द्वितीय श्रेणीका अधिकृतहरूले ७ दिनको र तृतीय श्रेणीका अधिकृतहरूले ५ दिनको तलब राहत कोषमा योगदान गरेका छन्। त्यस्तै, सोभन्दा तल्लो तहमा कार्यरत कर्मचारीहरूले ३ दिनको तलब राहत कोषमा जम्मा गरेका छन्।

गत १० भदौमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ। बाढीमा १ हजार ४ सयभन्दा बढीको मृत्यु भएको तथा ६ हजार ४ सयभन्दा बढी मानिस बेपत्ता रहेको बताइएको छ। बाढीका कारण हजारौँ परिवार घरबारविहीन भएका छन्।

बाढी प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकारले विभिन्न क्षेत्र तथा नागरिकलाई सहयोग गर्न आह्वान गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ