नेपाल हेल्थ न्युज, काठमाडौं । अर्को महिना यूएसएआईडी विघटन भएको एक वर्ष पूरा हुँदै गर्दा, विश्वकै सबैभन्दा ठूलो विदेशी सहायता निकाय बन्द गरिनुका कारण मानवीय प्रभावहरू अब धेरै स्पष्ट र अस्वीकार गर्न कठिन बन्दै गएका छन् ।
नेपालमा कुपोषण अन्त्य गर्ने दशकौँको प्रगति उल्टिने जोखिम देखिन थालेको छ । एक समय नेपालमा बाल कुपोषण दर विश्वकै उच्चमध्ये थियो १९९६ मा ५ वर्षमुनिका ५७% बालबालिका स्टन्टिङका शिकार थिए । आज यो झरेर करिब २५% पुगेको छ । तर यो उपलब्धि अहिले अचानक खतरा सामना गरिरहेको छ, भनी नेपालबाट डेवेक्सकी योगदानकर्ता सुनीता न्यौपानेले रिपोर्ट गर्नुभएको छ ।
पश्चिम नेपालको कृष्णनगरमा जोखिम झनै प्रस्ट देखिन्छ । गेन्मती कहारले गत वर्ष आफ्ना जुम्ल्याहा बच्चामध्ये एक, रुही, लाई कुपोषणका कारण गुमाइन् । बाँचेकी छोरी, आरोही, अहिले २ वर्ष नाघेकी छिन् तर धेरैपटक उपचार खोज्दा पनि गम्भीर तीव्र कुपोषणको चक्रबाट निस्कन सकेकी छैनन् ।
पछिल्लो पटक स्वास्थ्यकर्मीहरूले उनको हातको घेराइ नाप्दा ९.५ सेन्टिमिटर मात्र थियो — सुरक्षित स्तरभन्दा धेरै तल उनी हिँड्न, सिधा बस्न वा टाउको स्थिर राख्नसमेत सक्दिनन् । ‘म मेरा बच्चाबाट एकछिन पनि आँखा हटाउन सक्दिन,’ गेन्मती भन्छिन्, ‘जसोतसो यो जन्ममा म अघिल्लो जन्मका पापको सजाय भोगिरहेको जस्तो लाग्छ ।’
कहार परिवारको यो अवस्था नेपालले नयाँ सुरु गरेको एकीकृत पोषण कार्यक्रमले सम्बोधन गर्न खोजेका गहिरा जोखिमहरूको प्रतीक हो । पोषण, सरसफाइ, स्वच्छता, शिशु आहार र खाद्य सुरक्षा एकैसाथ जोड्ने यो बहुक्षेत्रीय कार्यक्रम ४९८ स्थानीय तहमा लागू हुने थियो ।
हेलन केलर इन्टरनेशनलले नेपाल सरकारसँग साझेदारीमा नेतृत्व गरेको यस कार्यक्रमलाई (यूएसएआईडी) ले २०२४ देखि २०२९ सम्म ७२ देखि ९९ मिलियन डलरसम्म सहयोग गर्ने निश्चित भएको थियो। यसले नेपालका अमेरिकी–समर्थित पोषण प्रयासलाई विस्तार गर्ने अपेक्षा गरिएको थियो।
तर ट्रम्प प्रशासनको ‘काम रोक’ आदेशपछि यो कार्यक्रम जनवरीमा निलम्बन गरियो र अप्रिलमा आधिकारिक रूपमा समाप्त गरियो । पहिले समन्वित सुरक्षाजालको रूपमा चलिरहेको प्रणाली अहिले टुक्राटुक्रा भएको छ, कतिपय ठाउँमा त पूरै हराएको छ । स्वास्थ्य चौकीहरूमा उपचारात्मक पोषाहार तथा आधारभूत सामग्री अभाव छ । कर्मचारीहरूले जागिर गुमाए । कुपोषण स्क्रिनिङ र परामर्श रोकिएको छ ।
‘पहिले धेरै बालबालिकालाई गम्भीर कुपोषणबाट बचाउने यी स्रोत–साधन अहिले उपलब्ध छैनन्, जसले असंख्य बालजीवनलाई गम्भीर जोखिममा पारेको छ,’ कृष्णनगर नगरपालिकाका स्वास्थ्य संयोजक शंकर भट्टराई भन्नुहुन्छ ।
राष्ट्रिय अधिकारीहरूले पनि यो खाडल स्वीकार गरेका छन् र नेपालसँग आफ्नो स्रोतबाट यस्तो प्रणाली चलाउन पर्याप्त बजेट नभएको बताउनुहुन्छ । ‘हामी अझै दातृ निकायमा निर्भर रहनु हाम्रो ठूलो लज्जाको विषय हो,’ भन्नुहुन्छ स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिला विक्रम थापा ।
सुनीताको यो रिपोर्ट (द एड रिपोर्ट) को हिस्सा हो—डेभेक्सको नयाँ सम्पादकीय तथा डाटा परियोजना जसले अमेरिकी सहायता कटौतीले विभिन्न देशमा कार्यक्रम र सेवाहरूलाई कसरी बदलिरहेको छ भन्ने ट्र्याक गर्छ । यो परियोजना गेट्स फाउंडेशनको सहयोगमा चलेको भए पनि सम्पूर्ण सम्पादकीय काम स्वतन्त्र रूपमा गरिन्छ । ‘द एड रिपोर्टमा मौलिक रिपोर्टिङ,’ प्रमाणित अपडेट र तथ्यमा आधारित डाटा समावेश गरिन्छ, जसले विभिन्न क्षेत्र र देशमा भइरहेको वास्तविक अवस्थाको स्पष्ट तस्वीर प्रदान गर्छ ।
https://www.devex.com/news/devex-dish-in-nepal-nutrition-gains-begin-to-unravel-without-usaid-111480#:~:text=In%20Nepal%2C%20decades%20of%20progress,Sunita%20Neupane%20reports%20from%20Nepal
बिरामीलाई अनावश्यक रिफर नगर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन
शुक्रबार, माघ १६, २०८२
पाठेघरको शल्यक्रिया गराउन पुगेकी महिलाको मृत्यु
शुक्रबार, माघ १६, २०८२
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
