नेपाल हेल्थ न्युज, काठमाडौं । युरोपका विभिन्न देशमा एक अज्ञात शुक्रकिट दातासँग सम्बन्धित गम्भीर आनुवंशिक समस्या सार्वजनिक भएको छ। ती दाताको शुक्रकिट प्रयोग गरेर जन्मिएका करिब १९७ बालबालिकामा क्यान्सरको उच्च जोखिम बढाउने विशेष प्रकारको जीन म्युटेशन रहेको पत्ता लागेको हो।
हालै गरिएको चिकित्सकीय परीक्षणपछि यो तथ्य बाहिर आएको हो। प्रारम्भिक जानकारीअनुसार, ती बालबालिकामध्ये केहीलाई पहिले नै क्यान्सर देखिएको छ भने केहीको ज्यानसमेत गएको पुष्टि भएको छ। दाताको पहिचान भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
युके बाहिर प्रयोग गरिएको शुक्रकिट
उक्त शुक्रकिट बेलायतका क्लिनिकमा प्रत्यक्ष रूपमा बिक्री नभए पनि, केही ब्रिटिश परिवारले डेनमार्कमा फर्टिलिटी उपचार गराउँदा सोही दाताको शुक्रकिट प्रयोग गरेका थिए। यसबारे सम्बन्धित परिवारहरूलाई जानकारी गराइसकिएको जनाइएको छ।
शुक्रकिट वितरण गर्ने डेनमार्कस्थित युरोपियन स्पर्म बैंकले प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै, समस्या थाहा पाउने बित्तिकै दातालाई तुरुन्तै प्रयोगबाट हटाइएको जनाएको छ।
१७ वर्षसम्म प्रयोग, पछि पत्ता लाग्यो जीन समस्या
उक्त दाताले सन् २००५ देखि करिब १७ वर्षसम्म शुक्रकिट दान गरेका थिए। दानको समयमा उनी पूर्ण रूपमा स्वस्थ थिए र सबै आवश्यक स्वास्थ्य परीक्षणमा सफल भएका थिए। तर पछि अनुसन्धान गर्दा उनको केही शुक्रकिटमा (टी.पी.५३) जीन मा गम्भीर म्युटेशन रहेको पत्ता लाग्यो।
यो जीन शरीरका कोषहरूलाई क्यान्सरबाट जोगाउन अत्यन्त महत्वपूर्ण मानिन्छ। दाताको करिब २० प्रतिशत शुक्रकिटमा यो म्युटेशन रहेको र त्यहीबाट जन्मिएका बालबालिकामा ली–फ्राउमेनी सिन्ड्रोम नामक दुर्लभ आनुवंशिक अवस्था देखा परेको बताइएको छ।
क्यान्सरको जोखिम अत्यधिक
विशेषज्ञहरूका अनुसार, यो सिन्ड्रोम भएका व्यक्तिमा जीवनकालभर क्यान्सर हुने सम्भावना ९० प्रतिशतसम्म पुग्न सक्छ। बाल्यकालमै क्यान्सर देखिने खतरा बढी हुन्छ भने पछि गएर स्तन क्यान्सरजस्ता रोगको जोखिम पनि उच्च रहन्छ।
लण्डनस्थित क्यान्सर अनुसन्धान संस्थानकी जेनेटिसिस्ट प्रोफेसर क्लेयर टर्नबुलका अनुसार, यस्तो जानकारी परिवारलाई दिनु नै निकै पीडादायक हुन्छ, किनकि उनीहरूले जीवनभर निरन्तर स्वास्थ्य परीक्षणको तनाव झेल्नुपर्छ।
नियमित जाँच आवश्यक
जोखिममा रहेका बालबालिकालाई प्रत्येक वर्ष सम्पूर्ण शरीर र मस्तिष्कको एमआरआई, साथै पेटको अल्ट्रासाउन्डजस्ता परीक्षण गर्न सिफारिस गरिएको छ, ताकि सम्भावित ट्युमर प्रारम्भिक चरणमै पत्ता लगाउन सकियोस्।
सबै देशमा एउटै नियम छैन
विश्वव्यापी रूपमा शुक्रकिट दान कति पटक प्रयोग गर्न पाइन्छ भन्नेबारे एउटै कानुन छैन। केही देशले सीमा तोकेका छन् भने केहीमा स्पष्ट नियम छैन। उदाहरणका लागि, बेल्जियममा एक दाताको शुक्रकिट ६ परिवारले मात्र प्रयोग गर्न पाउने व्यवस्था भए पनि व्यवहारमा त्यो संख्या बढी देखिएको छ। बेलायतमा भने एक दाताबाट बढीमा १० परिवारलाई मात्र अनुमति दिइन्छ। यो घटनाले शुक्रकिट दान, जेनेटिक स्क्रिनिङ र अन्तर्राष्ट्रिय नियमनबारे गम्भीर प्रश्न उठाएको छ। बीबीसी हिन्दी
एनआरएनएले दुई नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढाइने
सोमबार, मंसिर २९, २०८२
डिस्चार्जपछि सुत्केरी महिलाको मृत्यु
सोमबार, मंसिर २९, २०८२
नेपाल स्वास्थ्यकर्मी सङ्घको अध्यक्षमा रामजी घिमिरे पुनः चयन
सोमबार, मंसिर २९, २०८२
