नेपाल हेल्थ न्युज, काठमाडौं । मुगु जिल्लामा फैलिएको इन्फ्लुएन्जा (भाइरल ज्वरो) को संक्रमण दिनप्रतिदिन गम्भीर बन्दै गएपछि स्थानीय युवाहरूले सरकारसँग तत्काल आपतकालीन चिकित्सक टोली पठाउन माग गरेका छन्। स्थानीय युवा आशीष देवकोटाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमसमक्ष जिल्लाको बिग्रँदो स्वास्थ्य अवस्थाबारे ध्यानाकर्षण गराएको हो।
युवाहरूले मुगु जिल्ला अस्पतालको कमजोर पूर्वाधार र बढ्दो बिरामीको चापले स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने भन्दै तत्काल पहल आवश्यक रहेको बताएका छन्। स्थानीयका अनुसार हाल अस्पतालमा दैनिक २०० भन्दा बढी इन्फ्लुएन्जा तथा श्वासप्रश्वाससम्बन्धी बिरामी उपचारका लागि आउने गरेका छन्, तर अस्पतालमा जम्मा ५० शय्याको मात्र व्यवस्था छ।
लामो समयदेखि एक्सरे मेसिन बिग्रिएको, आवश्यक औषधि तथा मेडिकल उपकरणको अभाव रहेको र अक्सिजन प्लान्टसमेत सञ्चालनमा नरहेको जनाइएको छ। यस कारण गम्भीर अवस्थाका बिरामीको उपचारमा ठूलो समस्या भइरहेको स्थानीयको गुनासो छ।
यसैबीच, प्रकोप सुरु भएको १७ दिनभित्र रारा छायानाथ नगरपालिका–१२, बाम गाउँमा मात्रै पाँच जनाको ज्यान गइसकेको छ। मृतकमध्ये शिशु र साना बालबालिकासमेत रहेका छन्। यति गम्भीर अवस्था हुँदासमेत केन्द्र सरकारबाट प्रभावकारी पहल नदेखिएको भन्दै युवाहरूले चिन्ता व्यक्त गरेका छन्।
मन्त्रीसमक्ष बुझाइएको मागपत्रमा संक्रामक रोग विशेषज्ञसहित चिकित्सक, नर्स र प्राविधिकहरूको टोली २४ घण्टाभित्र मुगु पठाउन आग्रह गरिएको छ। साथै बिग्रिएको अक्सिजन प्लान्ट र एक्सरे मेसिन तत्काल मर्मत वा नयाँ जडान गर्न, आवश्यक औषधि र उपकरण पर्याप्त मात्रामा उपलब्ध गराउन माग गरिएको छ। हालको ५० शय्याको अस्पताललाई आपतकालीन रूपमा आईसीयू सेवासहित कम्तीमा १०० शय्यामा विस्तार गर्नुपर्ने माग पनि राखिएको छ।
युवाहरूले २०६६ सालमा जाजरकोट क्षेत्रमा फैलिएको झाडापखाला र हैजाको महामारीको उदाहरण दिँदै, समयमै कदम नचाल्दा ठूलो मानवीय क्षति भएको इतिहास दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने बताएका छन्। ‘कर्णालीले धेरै सहन सिकेको छ, तर सहनशीलताको पनि सीमा हुन्छ,’ उनीहरूको भनाइ छ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

