नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य करबाट संकलित रकम स्वास्थ्य क्षेत्रमै प्रयोग हुनुपर्नेमा जोड दिनुभएको छ। सो बजेट स्वास्थ्य मन्त्रालयकै कार्यक्रम र प्राथमिकतामा खर्च गर्न अर्थ मन्त्रालयलाई दबाब दिइने उहाँले स्पष्ट पानुभयो।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले विभिन्न देशका अभ्यास तथा स्वदेशी विज्ञहरूको सुझावअनुसार पनि स्वास्थ्य कर कोषको रकम स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो।
उहाँले बजेट माग गर्दा मातहतका निकायले जिम्मेवार र प्रमाणमा आधारित ढंगले प्रस्ताव पेश गर्नुपर्नेमा जोड दिँदै, केवल माग मात्र गर्ने प्रवृत्तिबाट माथि उठ्न निर्देशन दिनुभयो।
मन्त्री गौतमका अनुसार धूम्रपानजस्ता स्वास्थ्य जोखिमसँग सम्बन्धित करबाट उठ्ने रकम पनि स्वास्थ्य क्षेत्रमा पूर्ण रूपमा उपलब्ध हुन सकेको छैन। त्यसका लागि सरकार र अर्थ मन्त्रालयसँग निरन्तर पहल गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।
देशको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै योजनाहरू अघि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले स्वास्थ्य क्षेत्रका कर्मचारी तथा सरोकारवालालाई विवेकपूर्ण र तथ्यमा आधारित सुझावमार्फत सरकारलाई मार्गदर्शन गर्न आग्रह गर्नुभयो।
मुलुक आर्थिक दबाबमा रहेको अवस्थामा स्वास्थ्य क्षेत्रले पनि यथार्थपरक ढंगले योजना निर्माण गर्नुपर्ने मन्त्री गौतमको भनाइ थियो।
नयाँ बानेश्वरमा टिपरको ठक्करः सरकारी कर्मचारीको ज्यान गयो
मंगलबार, फागुन १९, २०८२
काठमाडौंमा होली उत्सव मनाइदै: रमाइलोसँगै स्वास्थ्य सुरक्षा आवश्यक
सोमबार, फागुन १८, २०८२


