यहाँ कति समयदेखि कार्यरत हुनुहुन्छ ?
म विगत १२ वर्षदेखि स्टाफ नर्सको रूपमा नेपाल सरकारको एकमात्र केन्द्रीय मानसिक अस्पतालमा कार्यरत छु ।
यहाँ नर्सिङ केयर कसरी प्रदान गरिन्छ ?
यो ५० शैयाको मानसिक अस्पताल हो । यहाँ पुरुष (मेल) र महिला (फिमेल) वार्ड छुट्टाछुट्टै छन् । नर्सिङ डिपार्टमेन्ट पनि मेल र फिमेल छुट्याएर नै सञ्चालन गरिएको छ जसले गर्दा सेवा व्यवस्थापन सहज र सुरक्षित हुन्छ ।
बेड व्यवस्थापनको वर्तमान अवस्था कस्तो छ ?
विगतमा २५ बेड पुरुष र २५ बेड महिला गरी सेवा दिइँदै आएको थियो । तर पछिल्लो समय हिंसात्मक (भ्वाइलेन्स) केसहरू छुट्याएर राख्नुपर्ने भएकाले अहिले पुरुषका लागि २३ बेड, महिलाका लागि २३ बेड र भ्वाइलेन्स केसका लागि ४ बेड व्यवस्था गरिएको छ ।
अहिले अस्पतालमा कति जना नर्सिङ स्टाफ कार्यरत छन् ?
नर्सिङ स्टाफको अवस्था भन्नुपर्दा अलि कहालिलाग्दो नै छ । दरबन्दी अनुसार हामी १६ जना हुनुपर्ने हो । तर हाल केही साथीहरू थप अध्ययनका लागि अध्ययन बिदामा, कोही दुर्गम क्षेत्रमा काम गरेको समय पुर्याउन काजमा जानुभएको छ । त्यसैले अहिले वार्डमा प्रत्यक्ष रुपमा काम गर्ने जम्मा १२ जना नर्स छन् । उहाँहरुले मेल र फिमेल वार्डमा नर्सिग सेवा दिइरहनुभएको छ ।
सिफ्टमा कति जना नर्स खटिन्छन् ?
एउटा सिफ्टमा एकजना मात्र नर्स हुन्छ । त्यो एकजनाले २३ जना बिरामीको सम्पूर्ण केयर गर्नुपर्छ, जुन अत्यन्तै चुनौतीपूर्ण अवस्था हो ।
यो अवस्थालाई तपाईं कसरी हेर्नुहुन्छ ?
यो अवस्थामा राज्यको पर्याप्त ध्यान नपुगेको स्पष्ट देखिन्छ। व्यवस्थापन पक्ष कमजोर छ । हामीले पटक–पटक स्टाफ माग गरेका छौं तर अहिलेसम्म आवश्यक संख्यामा जनशक्ति दिइएको छैन ।
अध्ययन वा काजमा गएका नर्सहरूको स्थानमा प्रतिस्थापनको व्यवस्था छैन ?
पढ्न जाने नर्सको संख्या धेरै छ, काजमा जाने पनि धेरै छन्। तर उनीहरूको स्थानमा अस्थायी वा स्थायी प्रतिस्थापन पठाउने व्यवस्था छैन । यही कारणले बाँकी स्टाफमा थप बोझ परेको छ ।
एउटा नर्सले कति जना मानसिक बिरामी हेर्न पाउँछ ?
साइक्याट्रिक अस्पतालमा पनि नर्स–पेसियन्ट रेसियो स्पष्ट हुन्छ । जनरल वार्डकै कुरा गर्दा पनि एकजना नर्सले बढीमा ६ जना भन्दा बढी मानसिक बिरामी हेर्न पाइँदैन, हेर्नु पनि हुँदैन ।
के कुरामा सुधार भयो भने अवस्था राम्रो होला ?
मानसिक अस्पताल स्थापना हुँदाको समयमा तोकिएको दरबन्दी अहिलेको अवस्थासँग मेल खाँदैन। अब यसलाई परिमार्जन गर्ने बेला आएको छ । एक दशक अघि यहाँ आउने बिरामीहरू प्रायः बुढाबुढी र उमेर पुगेका हुन्थे । तर अहिले अवस्था बदलिएको छ । अहिले वार्डमा हेर्दा धेरैजसो बिरामी युवा वयस्क छन्—जो पढ्ने, केही गर्ने, भविष्य बनाउने उमेरका हुन् ।
युवा वयस्क बिरामी बढ्दा के चुनौती देखिन थालेको छ ?
युवा वयस्कहरू शारीरिक र मानसिक रूपमा सक्रिय हुने भएकाले नियन्त्रण गर्न गाह्रो हुन्छ । त्यसैले अहिलेको बिरामी प्रोफाइलअनुसार नर्सहरूको संख्या पनि बढाउनैपर्ने देखिन्छ ।
नर्स अभावले तपाईंहरूको काममा कस्तो असर पारेको छ ?
नर्सको अभावका कारण इमर्जेन्सी पर्दा पनि बिदा लिन नसक्ने अवस्था छ। एउटा नर्स बिरामी हुँदा अर्को को आउने ? भन्ने अवस्था सिर्जना हुन्छ । यो न केवल नर्सका लागि, बिरामीको सुरक्षाका लागि पनि गम्भीर विषय हो ।
मानसिक बिरामीको केयर गर्दा सबैभन्दा ठूलो चुनौती के हो ?
अन्य अस्पतालमा बिरामीले ‘गुड मर्निङ’, ‘नमस्कार’ जस्ता आदरार्थी शब्दबाट दिन सुरु गर्छन्। तर मानसिक अस्पतालमा भने दिनको सुरुवात गालीबाट हुन्छ । त्यो गाली यस्तो हुन्छ, जुन सामान्य समाजमा कहिल्यै सुन्न नसकिने खालको हुन्छ । सुरु–सुरुमा त कतिपय गालीको अर्थसमेत हामी बुझ्दैनौं ।
त्यसले मानसिक रूपमा असर गर्दैन ?
हामीले त्यसलाई बिरामीको रोग अवस्थाको अभिव्यक्ति भनेर बुझ्ने प्रयास गर्छौं । ‘गाली गर्ने भएर नै त उहाँलाई यहाँ ल्याइएको हो’ भनेर आफ्नै मन बुझाउँछौं। हिजो मात्रै एउटा नर्स साथीले भन्नुभयो—‘यस्तो गाली खाएँ कि जागिर छोडेर हिँडौँ जस्तो भयो ।’ मैले भनेँ— ‘त्यो बिरामीले भनेको होइन, बिरामीको अवस्थाले बोलेको हो ।’ नर्स भएर हामीले यस्तो सोच राख्नुपर्छ भन्छौं । तर हामी पनि मानव नै हौं, हाम्रो पनि मन हुन्छ । कहिलेकाहीँ खिन्न त अवश्य हुन्छ ।
के शारीरिक आक्रमणको जोखिम पनि हुन्छ ?
कहिलेकाहीँ पछाडिबाट पिट्ने, धकेल्ने, कुट्ने जस्ता घटना पनि हुन्छन्। धेरै नर्स साथीहरूले शारीरिक आक्रमण भोगिसक्नुभएको छ । मानसिक बिरामीको केयर अन्य अस्पतालमा बिरामीको केयर गरेजस्तो बिल्कुलै हुँदैन ।
सुरक्षाको अवस्था कस्तो छ ?
यहाँ सुरक्षाको दोहोरो चुनौती छ। एकातिर बिरामी पक्षबाट जोखिम हुन्छ भने अर्कोतिर भिजिटरहरू पनि अवस्थालाई बुझ्दैनन्। बिरामी र भिजिटर दुवैबाट आक्रमणको शिकार हुनुपर्ने बाध्यता छ ।
राज्यलाई तपाईंको मुख्य सन्देश के हो ?
सबैभन्दा पहिले दरबन्दीअनुसार नर्सिङ जनशक्ति पठाइनुपर्छ । यहाँ करारमा नर्स राख्ने व्यवस्था पनि छैन । काम गर्ने नर्सहरू यहाँ पठाइनुपर्छ । अहिले अवस्था यस्तो छ— दुई जना नर्सले ५० बेड हेर्नुपर्छ। यदि एउटा नर्स बिरामी भयो भने एउटैले ५० जना बिरामीको जिम्मा लिनुपर्ने हुन्छ ।
सेवा सुविधा कत्तिको पर्याप्त छ ?
सत्य भन्नुपर्दा हामी सुरक्षित छैनौं । हाजार्ड छ तर त्यसअनुसार सुविधा छैन। रात्रीकालीन ड्युटीमा खाजा खर्च भनेर जम्मा १५० रुपैयाँ दिइन्छ, त्यो पनि ट्याक्स काटेर । त्यो पर्याप्त हुँदैन । हामी २४ सै घण्टा बिरामीको सेवामा हुन्छौं । कतिपय बिरामी अत्यन्तै फोहोरी अवस्थामा हुन्छन् । समयमा औषधि खुवाउनुपर्छ तर उहाँहरू औषधि खान मान्दैनन् । एउटा बिरामीलाई औषधि खुवाउनै आधा घण्टा लाग्छ ।
यति चुनौतीका बाबजुद पनि तपाईंहरू कसरी काम गरिरहनु भएको छ ?
यी सबै चुनौती हुँदाहुँदै पनि हामी खुशीका साथ काम गरिरहेका छौं । हामी नर्स हौं, हाम्रो पेशा सेवा हो । तर सेवाको नाममा राज्यले हामीमाथि कञ्जुस गर्नु हुँदैन । सेवा सँगै सेवा सुविधा पनि दिनुपर्छ ।
कोभिडकालको अनुभव कस्तो रह्यो ?
हामीले मानसिक अस्पतालमै कोभिड वार्ड अत्यन्तै सफल रूपमा सञ्चालन गरेका थियौं । मलाई आफैंलाई दुई पटक कोभिड भयो । मानसिक बिरामीका लागि कोभिड वार्ड चलाउनु अत्यन्तै चुनौतीपूर्ण थियो । अन्य अस्पतालमा कोभिडमा काम गर्दा थप सुविधा र ६–७ महिनाको अतिरिक्त तलब पाएको सुन्दा निकै नरमाइलो लाग्थ्यो । यहाँ भने एक कप चियासमेत कोभिड सुविधाको नाममा दिइएन ।
अन्त्यमा तपाईंको पीडा के हो ?
नेपाल सरकारले कसैलाई दिने, कसैलाई नदिने गर्नु हुँदैन । यो पनि केन्द्रीय अस्पताल हो । हामीलाई दिइनुपर्ने सेवा सुविधा किन घटाइयो ? अहिलेसम्म पनि किन दिइएन ? यही कुरा सबैभन्दा नरमाइलो लाग्छ ।
भिडियो पनि हेनुहोस्:
बिन कारण रिस उठ्छ ? यस्ता छन् सम्भावित कारण
सोमबार, माघ १९, २०८२
