नेपाल हेल्थ न्युज, काठमाडौं । कसैका लागि १४ वर्षको उमेर कक्षा ८–९ को पढाइ, साथीभाइ, मोबाइल र सामाजिक सञ्जालको समय हो । तर यही उमेर कसैका लागि डर, चिन्ता, रातभर निद्रा नलाग्ने अवस्था, आत्मग्लानी र भविष्यप्रतिको निराशाले भरिएको हुनसक्छ । नेपाली समाजमा अझै खुलेर स्वीकार नगरिएको सत्य के हो भने— किशोर–किशोरी पनि गम्भीर मानसिक समस्याबाट ग्रसित हुन्छन् ।
यही मौन यथार्थलाई सम्बोधन गर्न मानसिक अस्पतालमा स्थापना गरिएको छ— किशोर–किशोरी मानसिक स्वास्थ्य इकाइ । सन् २०२३ डिसेम्बरदेखि सञ्चालनमा आएको यो इकाइ आज देशभरका किशोर–किशोरीका लागि आशाको केन्द्र बन्दै गएको छ । किशोरावस्थाको मानसिक समस्या गम्भीर रूपमा नलिनु हाम्रो सबैभन्दा ठूलो भूल हो ।बच्चादेखि वृद्धसम्म जसरी शारीरिक रोग लाग्छ, त्यसैगरी किशोर–किशोरीमा पनि मानसिक रोग लाग्छ । फरक यत्ति हो— ‘उनीहरू बोल्न सक्दैनन्, व्यक्त गर्न सक्दैनन् ।’
किशोर–किशोरीमा मानसिक समस्या हुँदैन भन्ने भ्रम
किशोर–किशोरी मानसिक स्वास्थ्य इकाइमा आउने प्रमुख समस्यामा साइकोसिस, सिजोफ्रेनिया, बाइपोलार मेन्टल डिसअर्डर, डिप्रेसन, व्यवहारजन्य समस्या, डिसोसिएसन, डर, त्रास, इन्टेलिजेन्समा कमी हुनेलगायत रहेका छन् । यी समस्या सामान्य ‘जिद्दीपन’ वा ‘उमेरको असर’ होइनन्, चिकित्सकीय उपचार आवश्यक पर्ने अवस्था हुन् ।
किन बढ्दै छन् किशोर–किशोरीमा मानसिक समस्या ?
सामाजिक परिवेश, वंशाणुगत प्रभाव, शारीरिक समस्या, विद्यालयको दबाब, कमजोर आर्थिक अवस्था, अभिभावकबीचको द्वन्द्व, बुबाआमासँगको कमजोर सम्बन्ध, जीवनमा घटेका आघातजन्य घटना विशेषगरी पछिल्लो समय स्कुलको प्रतिस्पर्धा, अपेक्षा र सामाजिक सञ्जालको दबाबले किशोर मनलाई थप असुरक्षित बनाएको देखिन्छ ।
आघातः नदेखिने तर गहिरो चोट
मनपर्ने व्यक्तिको मृत्यु, यौन हिंसा, बलात्कार, बारम्बार यौन अंगमा छोइने घटना, युद्ध वा हिंसाजन्य जस्ता अनुभवले किशोर–किशोरीको मस्तिष्कमा गहिरो चोट पु¥याउँछ । यस अवस्थालाई पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) भनिन्छ । पिटिएसडी भएका किशोर–किशोरीमा डर लाग्ने दृश्य बारम्बार सम्झनु, सपना र कल्पनामा पुरानो घटना देखिनु, अत्यधिक तनाव र चिन्ता, अचानक डराएर झस्किनु जस्ता लक्षण देखिन्छन् ।
१४ देखि १९ वर्षसम्मका लागि विशेष इकाइ
मानसिक अस्पतालको यो इकाइ १४ वर्षदेखि १९ वर्ष मुनिका किशोर–किशोरीका लागि सञ्चालन गरिएको हो । इकाइमा १२ बेड रहेका छन् । यो मानसिक अस्पतालको माथिल्लो तलामा अवस्थित छ । यहाँ जम्मा ३४ जना स्टाफ कार्यरत छन् । यो वातावरण जानाजानी ‘अस्पतालजस्तो’ नदेखिने गरी तयार गरिएको छ ताकि किशोर–किशोरीले आफूलाई सुरक्षित र सहज महसुस गर्न सकून् ।
मल्टिडिसिप्लिनरी (बहुविषयगत) टिम
यहाँ टिम–आधारित उपचार प्रणाली लागू गरिएको छ । टिममा ३ जना साइक्याट्रिक डाक्टर, १ जना चाइल्ड साइक्याट्रिस्ट, ४ जना क्लिनिकल साइकोलोजिस्ट, १ जना नर्सिंग इन्जार्ज, २ जना सोसल वर्कर, १ जना स्पेशल एजुकेटर, ८ जना नर्सिङ स्टाफ, २ जना मेडिकल अफिसर (रात्रीकालीन), १० जना सपोर्टिङ स्टाफ, २ जना एडमिन एसोसिएड समावेश छन् ।
अस्पतालमै पढाइ, पढाइमै उपचार
बिहान ११ बजेदेखि स्पेशल एजुकेटरद्वारा कक्षा, केही किशोर–किशोरीलाई अस्पतालमै पढाइ, केहीलाई स्कुल पठाउने र ल्याउने व्यवस्था छ । यसले किशोर–किशोरीलाई ‘म बिरामी हुँ’ भन्ने भावना होइन, ‘म निरन्तर अगाडि बढिरहेको छु’ भन्ने आत्मविश्वास दिन्छ ।
३ हजारभन्दा बढी किशोर–किशोरीले सेवा लिइसके
अहिलेसम्म ओपिडीमार्फत करिब ३ हजार भन्दा बढी, भर्ना गरेर २०० भन्दा बढी किशोर–किशोरीले सेवा लिइसकेका छन् ।
उपचार कति दिन चल्छ ?
सामान्य डर, त्रास, बेहोस हुने समस्या भएकाहरुमा १–२ हप्ता र गम्भीर मानसिक समस्या भएकामा १–२ महिना वा बढी उपचार चल्छ ।
औषधिमात्र होइन, जीवनशैलीमार्फत उपचार
औषधोपचारसँगै मिलियो थेरापी, फेमिली थेरापी, काउन्सिलिङ थेरापीको व्यवस्था रहेको छ ।
मिलियो थेरापीः दिनचर्यामै उपचार
मिलियो थेरापी भनेको—बिहान उठेदेखि बेलुका सुत्नेसम्मको तालिका बनाएर गरिने उपचार विधि हो । यसमा किशोर–किशोरीको रायलाई महत्व, विभिन्न चित्र ड्रोइङ, खेलकुद, पढाइ, संवाद, नियमित गतिविधिबाट व्यवहार सुधार गरिन्छ । हप्तामा दुई पटक टेबल राउन्ड हुन्छ जहाँ सम्पूर्ण टिम सहभागी हुन्छ । आवश्यक परे परिवारलाई पनि समेटिन्छ ।
नर्सको भूमिकाः २४ घण्टे अभिभावक
नर्सहरूको जिम्मेवारीमा २४ सै घण्टा निगरानी, औषधि समयमा दिने, व्यवहार, मनोभाव, निद्रा, खानपिनको निगरानी, सुरक्षा सुनिश्चित, व्यक्तिगत आवश्यकता अनुसार केयर सेवा प्रदान गरिन्छ । नर्स यहाँ किशोर–किशोरीका लागि सुरक्षित अभिभावक पनि हो ।
उपचारपछि के हुन्छ ?
सुधार दर राम्रो छ । तर औषधि बीचमै छोड्दा, पारिवारिक वातावरण नबदलिँदा रिल्याप्स हुनसक्छ । त्यसैले फेमिली थेरापी, डिस्चार्जपछि गम्भीर मानसिक समस्या भएका व्यक्तिहरुलाई १५ दिनमा फोन फलोअप, टेलिकन्सल्टेसन जस्ता सेवा निरन्तर दिइन्छ ।
खर्च कति लाग्छ ?
प्रतिदिन १०० रुपैयाँमा दिनको ४ पटक खाना, बेड,औषधि, आधारभूत सेवा प्राप्त गर्न सकिन्छ । कुरुवाका लागि खाना छैन तर राति बस्न बेडको सुविधा छ ।
किन किशोर मानसिक स्वास्थ्य गम्भीर विषय हो ?
किशोरावस्था जीवनको आधार तयार हुने समय हो । त्यसैले किशोर–किशोरीको कुरा सुन्नुहोस्, व्यवहारमा आएको परिवर्तन छुटाउनुहोस्, घरको वातावरण सुरक्षित बनाउनुहोस्, मोबाइल र इन्टरनेटको दुरुपयोग रोक्नुहोस् । किशोर–किशोरीको मानसिक स्वास्थ्यमा ध्यान दिनु भनेको हाम्रो भविष्यमा लगानी गर्नु हो ।
(कोइराला मानसिक अस्पतालको किशोर–किशोरी मानसिक स्वास्थ्य इकाइमा नर्सिङ अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ ।)
भिडियो पनि हेर्नुहोस्
सरकारी मानसिक अस्पतालभित्रको वास्तविकता, चुनौती र साइक्याट्रिक नर्सिङको अपरिहार्यता
आइतबार, फागुन १०, २०८२
जनरल साइक्याष्ट्रिष्ट उत्पादन हुँदैछन्, तर विशिष्टिकृत मनोचिकित्सा सेवा अझै शून्य
शुक्रबार, फागुन १, २०८२
गालीबाट सुरु हुने ड्युटी: वार्डमा बिताएका हजारौं रात र नदेखिएका आँसु
सोमबार, माघ २६, २०८२
बिन कारण रिस उठ्छ ? यस्ता छन् सम्भावित कारण
सोमबार, माघ १९, २०८२
