नेभिगेशन

जनरल साइक्याष्ट्रिष्ट उत्पादन हुँदैछन्, तर विशिष्टिकृत मनोचिकित्सा सेवा अझै शून्य

१३ वर्षदेखि निरन्तर चलिरहेको एमडी साइक्याट्रि कार्यक्रम
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत सञ्चालन भइरहेको एमडी साइक्याट्रि कार्यक्रम वि.सं. २०६९ सालदेखि सुरु भएको हो । निरन्तर रूपमा सञ्चालन हुँदै आएको यो कार्यक्रमले हाल १३ वर्ष पूरा गरिसकेको छ । शुरुआती चरणमा वर्षमा जम्मा दुई जना विद्यार्थीलाई मात्र तालिम दिन सकिने अवस्था थियो ।

तर समयसँगै पूर्वाधार, जनशक्ति र अनुभव थपिँदै जाँदा अहिले यो क्षमता वर्षमा पाँच जना विद्यार्थी सम्म विस्तार गरिएको छ । हाल १३ औं ब्याच भर्ना भइसकेको छ । तीन वर्षे यो शैक्षिक कार्यक्रमबाट हालसम्म करिब २२ जना मनोचिकित्सक उत्पादन भइसकेका छन् ।

उनीहरू देशका विभिन्न भागमा मनोचिकित्सकका रूपमा कार्यरत छन् भने केही चिकित्सक विदेशमा पनि सेवा दिइरहेका छन् । अहिले पनि करिब ९ जना विद्यार्थी यसै कार्यक्रममा अध्ययनरत छन् ।

एमफिल इन क्लिनिकल साइकोलोजीदेखि साइक्याट्रिक नर्सिङसम्म
एमडी साइक्याट्रि बाहेक यहाँ एमफिल इन क्लिनिकल साइकोलोजी कार्यक्रम सञ्चालन गर्ने योजना समेत बनाइएको थियो र त्यसको पाठ्यक्रम पनि तयार गरिएको थियो । तर विभिन्न कारणले गर्दा हालसम्म त्यो कार्यक्रम सुरु हुन सकेको छैन ।

यद्यपि पछिल्ला दुई वर्षदेखि साइक्याट्रिक नर्सिङ विषयको स्नातकोत्तर कार्यक्रम भने सञ्चालनमा आएको छ । मास्टर्स इन साइक्याट्रिक नर्सिङ अन्तर्गत सैद्धान्तिक कक्षा विर नर्सिङ क्याम्पसमै हुने र प्रयोगात्मक (क्लिनिकल) तालिम मानसिक अस्पतालमा दिइने व्यवस्था गरिएको छ । हालसम्म सञ्चालन भएका शैक्षिक कार्यक्रम यिनै भए पनि भविष्यमा आवश्यकता र सम्भावनाअनुसार थप कार्यक्रमहरू सञ्चालन हुँदै जाने अपेक्षा गरिएको छ ।

मनोचिकित्सक जनशक्तिः कमी कि संक्रमणकाल ?
नेपालमा मनोचिकित्सकको संख्या अझै पनि जनसंख्याको अनुपातमा कम छ । तर पछिल्ला वर्षहरूमा सरकारी तथा निजी क्षेत्रमा साइक्याट्रिक तालिम कार्यक्रमहरू बढ्दै गएका छन् । गत वर्षदेखि नेपालभित्रै वार्षिक ४५ देखि ५० जना मनोचिकित्सक उत्पादन हुने अवस्था बनेको छ ।

यसबाहेक भारत, चीन, बंगलादेश लगायतका देशबाट अध्ययन गरेर फर्किने चिकित्सकहरू पनि छन् । आउँदा वर्षहरूमा वार्षिक ५० देखि ५५ जना मनोचिकित्सक थपिँदै जाने अनुमान छ । यसरी हेर्दा एक दशकभित्र मनोचिकित्सकको अभाव नहुन सक्ने अवस्था देखिन्छ । तर यो केवल जनरल मनोचिकित्सा सम्म सीमित छ ।

सुपर–स्पेशलाइज्ड मनोचिकित्साको ठूलो खाडल

हाल नेपालमा जनरल मनोचिकित्सा मात्र पढाइ भइरहेको छ । मनोचिकित्सापछि आवश्यक पर्ने बाल मनोचिकित्सा, जेरियाट्रिक साइक्याट्री, फरेन्सिक साइक्याट्री, कम्युनिटी साइक्याट्री, मनोयौन रोग जस्ता सुपर–स्पेशलाइज्ड कार्यक्रमहरू नेपालमा सञ्चालनमा छैनन् । यी क्षेत्रमा जनशक्ति अत्यन्तै कम छ जसले सेवाको गुणस्तर र पहुँच दुवैमा असर पारिरहेको छ ।

साइक्याट्रिक नर्सिङ उत्पादन भए पनि प्रयोग नहुने जनशक्ति
साइक्याट्रिक नर्सिङ क्षेत्रमा पछिल्ला केही वर्षमा जनशक्ति उत्पादन राम्रो भइरहेको छ । तर समस्या उत्पादनमा होइन, प्रणालीमा छ । सरकारी दरबन्दीमा साइक्याट्रिक नर्सिङका लागि छुट्टै दरबन्दी छैन । यसले गर्दा साइक्याट्रिक नर्सिङ पढेका नर्सहरू पनि जनरल नर्सिङकै पोष्टमा काम गर्न बाध्य छन् । यो अवस्था न सुध्रिएसम्म साइक्याट्रिक नर्सिङ शिक्षा प्रभावकारी बन्न सक्दैन ।

मानसिक स्वास्थ्यको ‘होलिस्टिक’ उपचार किन सम्भव छैन ?
मानसिक रोगको पूर्ण उपचार केवल औषधि र डाक्टरमा सीमित हुँदैन । त्यसका लागि क्लिनिकल साइकोलोजिस्ट, साइक्याट्रिक सोसल वर्कर, अकुपेसनल थेरापिस्ट, भोकेशनल ट्रेनर आवश्यक पर्छ ।  तर नेपालमा यी सबै जनशक्ति गम्भीर अभावमा छन् । क्लिनिकल साइकोलोजिस्टको तालिम हाल त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा मात्र उपलब्ध छ । अन्यत्र सुरु गर्न खोज्दा जनशक्तिको अभाव नै मुख्य चुनौती बनेको छ ।

अभ्यासमै आधारित एमडी साइक्याट्रिक तालिम
एमडी साइक्याट्रिक चिकित्सा शास्त्रको क्लिनिकल विधा भएकाले यहाँ प्रयोगात्मक तालिमको भूमिका अत्यन्त ठूलो हुन्छ । तीन वर्षसम्म विद्यार्थीहरूले वार्ड र ओपिडीमा आएका बिरामीसँग प्रत्यक्ष अन्तरक्रिया, विशेषज्ञको निगरानीमा उपचार व्यवस्थापन, मनोपरामर्शदेखि न्युरो–मोडुलेसनसम्म जस्ता सबै कुरा प्रयोगात्मक रूपमा सिक्ने गर्छन् ।

एमडी साइक्याट्रिकको सैद्धान्तिक र प्राक्टिकल तालिम दुवै यहीँ नै सञ्चालन हुन्छ  । साइक्याट्रिक नर्सिङको सैद्धान्तिक कक्षा वीर अस्पताल परिसरमा र प्रयोगात्मक तालिम मानसिक अस्पतालमा हुने गर्छ ।

नेपालमा साइक्याट्रिक अध्ययन गराउने संस्था
सरकारी अस्पतालमाहरुमा त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत रहेका छन्  । यसैगरी निजी अस्पतालमा काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज, युनिभर्सल मेडिकल  कलेज, भैरहवा, चितवन मेडिकल कलेज,मणिपाल कलेज अफ मेडिकल साइन्सेस, गण्डकी मेडिकल कलेज छन् । 

सरकारले के गर्ने ?
वि.सं. २०४० सालमा लगनखेलमा स्थापना भएको मानसिक अस्पतालको क्षेत्रफल करिब ९ रोपनी मात्र छ । यस क्षेत्रमा ठूलो संरचना विस्तार गर्न सम्भव छैन ।

सरकारबाट लामो समय सम्म उपचार चाहिने मनोरोगीका लागि अकुपेसनल र भोकेशनल रिह्याबिलिटेशन सेन्टर, डिएडिक्शन सेवा (नशालु पदार्थ दुव्र्यसन उपचार) केन्द्र हालसम्म एउटा पनि स्थापना भएको छैन । अस्पताल अझै पनि वि.सं. २०४२ सालको अर्गनाइजेसन एण्ड म्यानेज्मेन्ट (ओएण्डएम) सर्भे अनुसार सञ्चालन भइरहेको छ जुन समयसापेक्ष रूपमा परिमार्जन हुनैपर्छ । सरकारले सेवा विस्तारका लागि थप जग्गा उपलब्ध गराउनुपर्छ ।

वीर अस्पतालसँगको ऐतिहासिक सम्बन्ध
मानसिक अस्पताल स्थापना हुनु अघि वीर अस्पतालमै मानसिक स्वास्थ्य विभाग सञ्चालनमा थियो । अहिले पनि वीर अस्पतालमा हप्तामा दुई दिन मानसिक अस्पतालका चिकित्सकहरूले सेवा दिइरहेका छन् ।

अब नीति र प्रतिबद्धताको खाँचो
नेपालमा मनोचिकित्सक र साइक्याट्रिक नर्सिङ जनशक्ति संख्यात्मक रूपमा पर्याप्त हुने दिशामा छ । तर सुपर–स्पेशलाइज्ड मनोचिकित्सा, अन्य सहयोगी जनशक्ति, पुनस्र्थपना केन्द्र, आधुनिक निदान तथा उपचार विधिणसहितको संरचना बिना मानसिक स्वास्थ्य सेवा होलिस्टिक बन्न सक्दैन ।

अब राजनीतिक इच्छाशक्ति, नीतिगत सुधार र दीर्घकालीन लगानीको  आवश्यकता छ ।  मानसिक स्वास्थ्य कुनै एक अस्पताल वा चिकित्सकको मात्र विषय नभई समाज र राज्य दुवैको जिम्मेवारी हो ।

(प्रा. डा. जोशी  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत सञ्चालन भइरहेको एमडी साइक्याट्रि कार्यक्रमका कार्यक्रम संयोजक हुनुहुन्छ । )

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मानसिक स्वास्थ्य