१३ वर्षदेखि निरन्तर चलिरहेको एमडी साइक्याट्रि कार्यक्रम
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत सञ्चालन भइरहेको एमडी साइक्याट्रि कार्यक्रम वि.सं. २०६९ सालदेखि सुरु भएको हो । निरन्तर रूपमा सञ्चालन हुँदै आएको यो कार्यक्रमले हाल १३ वर्ष पूरा गरिसकेको छ । शुरुआती चरणमा वर्षमा जम्मा दुई जना विद्यार्थीलाई मात्र तालिम दिन सकिने अवस्था थियो ।
तर समयसँगै पूर्वाधार, जनशक्ति र अनुभव थपिँदै जाँदा अहिले यो क्षमता वर्षमा पाँच जना विद्यार्थी सम्म विस्तार गरिएको छ । हाल १३ औं ब्याच भर्ना भइसकेको छ । तीन वर्षे यो शैक्षिक कार्यक्रमबाट हालसम्म करिब २२ जना मनोचिकित्सक उत्पादन भइसकेका छन् ।
उनीहरू देशका विभिन्न भागमा मनोचिकित्सकका रूपमा कार्यरत छन् भने केही चिकित्सक विदेशमा पनि सेवा दिइरहेका छन् । अहिले पनि करिब ९ जना विद्यार्थी यसै कार्यक्रममा अध्ययनरत छन् ।
एमफिल इन क्लिनिकल साइकोलोजीदेखि साइक्याट्रिक नर्सिङसम्म
एमडी साइक्याट्रि बाहेक यहाँ एमफिल इन क्लिनिकल साइकोलोजी कार्यक्रम सञ्चालन गर्ने योजना समेत बनाइएको थियो र त्यसको पाठ्यक्रम पनि तयार गरिएको थियो । तर विभिन्न कारणले गर्दा हालसम्म त्यो कार्यक्रम सुरु हुन सकेको छैन ।
यद्यपि पछिल्ला दुई वर्षदेखि साइक्याट्रिक नर्सिङ विषयको स्नातकोत्तर कार्यक्रम भने सञ्चालनमा आएको छ । मास्टर्स इन साइक्याट्रिक नर्सिङ अन्तर्गत सैद्धान्तिक कक्षा विर नर्सिङ क्याम्पसमै हुने र प्रयोगात्मक (क्लिनिकल) तालिम मानसिक अस्पतालमा दिइने व्यवस्था गरिएको छ । हालसम्म सञ्चालन भएका शैक्षिक कार्यक्रम यिनै भए पनि भविष्यमा आवश्यकता र सम्भावनाअनुसार थप कार्यक्रमहरू सञ्चालन हुँदै जाने अपेक्षा गरिएको छ ।
मनोचिकित्सक जनशक्तिः कमी कि संक्रमणकाल ?
नेपालमा मनोचिकित्सकको संख्या अझै पनि जनसंख्याको अनुपातमा कम छ । तर पछिल्ला वर्षहरूमा सरकारी तथा निजी क्षेत्रमा साइक्याट्रिक तालिम कार्यक्रमहरू बढ्दै गएका छन् । गत वर्षदेखि नेपालभित्रै वार्षिक ४५ देखि ५० जना मनोचिकित्सक उत्पादन हुने अवस्था बनेको छ ।
यसबाहेक भारत, चीन, बंगलादेश लगायतका देशबाट अध्ययन गरेर फर्किने चिकित्सकहरू पनि छन् । आउँदा वर्षहरूमा वार्षिक ५० देखि ५५ जना मनोचिकित्सक थपिँदै जाने अनुमान छ । यसरी हेर्दा एक दशकभित्र मनोचिकित्सकको अभाव नहुन सक्ने अवस्था देखिन्छ । तर यो केवल जनरल मनोचिकित्सा सम्म सीमित छ ।
सुपर–स्पेशलाइज्ड मनोचिकित्साको ठूलो खाडल
हाल नेपालमा जनरल मनोचिकित्सा मात्र पढाइ भइरहेको छ । मनोचिकित्सापछि आवश्यक पर्ने बाल मनोचिकित्सा, जेरियाट्रिक साइक्याट्री, फरेन्सिक साइक्याट्री, कम्युनिटी साइक्याट्री, मनोयौन रोग जस्ता सुपर–स्पेशलाइज्ड कार्यक्रमहरू नेपालमा सञ्चालनमा छैनन् । यी क्षेत्रमा जनशक्ति अत्यन्तै कम छ जसले सेवाको गुणस्तर र पहुँच दुवैमा असर पारिरहेको छ ।
साइक्याट्रिक नर्सिङ उत्पादन भए पनि प्रयोग नहुने जनशक्ति
साइक्याट्रिक नर्सिङ क्षेत्रमा पछिल्ला केही वर्षमा जनशक्ति उत्पादन राम्रो भइरहेको छ । तर समस्या उत्पादनमा होइन, प्रणालीमा छ । सरकारी दरबन्दीमा साइक्याट्रिक नर्सिङका लागि छुट्टै दरबन्दी छैन । यसले गर्दा साइक्याट्रिक नर्सिङ पढेका नर्सहरू पनि जनरल नर्सिङकै पोष्टमा काम गर्न बाध्य छन् । यो अवस्था न सुध्रिएसम्म साइक्याट्रिक नर्सिङ शिक्षा प्रभावकारी बन्न सक्दैन ।
मानसिक स्वास्थ्यको ‘होलिस्टिक’ उपचार किन सम्भव छैन ?
मानसिक रोगको पूर्ण उपचार केवल औषधि र डाक्टरमा सीमित हुँदैन । त्यसका लागि क्लिनिकल साइकोलोजिस्ट, साइक्याट्रिक सोसल वर्कर, अकुपेसनल थेरापिस्ट, भोकेशनल ट्रेनर आवश्यक पर्छ । तर नेपालमा यी सबै जनशक्ति गम्भीर अभावमा छन् । क्लिनिकल साइकोलोजिस्टको तालिम हाल त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा मात्र उपलब्ध छ । अन्यत्र सुरु गर्न खोज्दा जनशक्तिको अभाव नै मुख्य चुनौती बनेको छ ।
अभ्यासमै आधारित एमडी साइक्याट्रिक तालिम
एमडी साइक्याट्रिक चिकित्सा शास्त्रको क्लिनिकल विधा भएकाले यहाँ प्रयोगात्मक तालिमको भूमिका अत्यन्त ठूलो हुन्छ । तीन वर्षसम्म विद्यार्थीहरूले वार्ड र ओपिडीमा आएका बिरामीसँग प्रत्यक्ष अन्तरक्रिया, विशेषज्ञको निगरानीमा उपचार व्यवस्थापन, मनोपरामर्शदेखि न्युरो–मोडुलेसनसम्म जस्ता सबै कुरा प्रयोगात्मक रूपमा सिक्ने गर्छन् ।
एमडी साइक्याट्रिकको सैद्धान्तिक र प्राक्टिकल तालिम दुवै यहीँ नै सञ्चालन हुन्छ । साइक्याट्रिक नर्सिङको सैद्धान्तिक कक्षा वीर अस्पताल परिसरमा र प्रयोगात्मक तालिम मानसिक अस्पतालमा हुने गर्छ ।
नेपालमा साइक्याट्रिक अध्ययन गराउने संस्था
सरकारी अस्पतालमाहरुमा त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत रहेका छन् । यसैगरी निजी अस्पतालमा काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, भैरहवा, चितवन मेडिकल कलेज,मणिपाल कलेज अफ मेडिकल साइन्सेस, गण्डकी मेडिकल कलेज छन् ।
सरकारले के गर्ने ?
वि.सं. २०४० सालमा लगनखेलमा स्थापना भएको मानसिक अस्पतालको क्षेत्रफल करिब ९ रोपनी मात्र छ । यस क्षेत्रमा ठूलो संरचना विस्तार गर्न सम्भव छैन ।
सरकारबाट लामो समय सम्म उपचार चाहिने मनोरोगीका लागि अकुपेसनल र भोकेशनल रिह्याबिलिटेशन सेन्टर, डिएडिक्शन सेवा (नशालु पदार्थ दुव्र्यसन उपचार) केन्द्र हालसम्म एउटा पनि स्थापना भएको छैन । अस्पताल अझै पनि वि.सं. २०४२ सालको अर्गनाइजेसन एण्ड म्यानेज्मेन्ट (ओएण्डएम) सर्भे अनुसार सञ्चालन भइरहेको छ जुन समयसापेक्ष रूपमा परिमार्जन हुनैपर्छ । सरकारले सेवा विस्तारका लागि थप जग्गा उपलब्ध गराउनुपर्छ ।
वीर अस्पतालसँगको ऐतिहासिक सम्बन्ध
मानसिक अस्पताल स्थापना हुनु अघि वीर अस्पतालमै मानसिक स्वास्थ्य विभाग सञ्चालनमा थियो । अहिले पनि वीर अस्पतालमा हप्तामा दुई दिन मानसिक अस्पतालका चिकित्सकहरूले सेवा दिइरहेका छन् ।
अब नीति र प्रतिबद्धताको खाँचो
नेपालमा मनोचिकित्सक र साइक्याट्रिक नर्सिङ जनशक्ति संख्यात्मक रूपमा पर्याप्त हुने दिशामा छ । तर सुपर–स्पेशलाइज्ड मनोचिकित्सा, अन्य सहयोगी जनशक्ति, पुनस्र्थपना केन्द्र, आधुनिक निदान तथा उपचार विधिणसहितको संरचना बिना मानसिक स्वास्थ्य सेवा होलिस्टिक बन्न सक्दैन ।
अब राजनीतिक इच्छाशक्ति, नीतिगत सुधार र दीर्घकालीन लगानीको आवश्यकता छ । मानसिक स्वास्थ्य कुनै एक अस्पताल वा चिकित्सकको मात्र विषय नभई समाज र राज्य दुवैको जिम्मेवारी हो ।
(प्रा. डा. जोशी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत सञ्चालन भइरहेको एमडी साइक्याट्रि कार्यक्रमका कार्यक्रम संयोजक हुनुहुन्छ । )
गालीबाट सुरु हुने ड्युटी: वार्डमा बिताएका हजारौं रात र नदेखिएका आँसु
सोमबार, माघ २६, २०८२
बिन कारण रिस उठ्छ ? यस्ता छन् सम्भावित कारण
सोमबार, माघ १९, २०८२
