नेभिगेशन

सरकारी मानसिक अस्पतालभित्रको  वास्तविकता, चुनौती र साइक्याट्रिक नर्सिङको अपरिहार्यता

नर्सिङ केयर मानसिक स्वास्थ्य सेवाको मेरुदण्ड

मानसिक स्वास्थ्य उपचारको चर्चा हुँदा प्रायः मनोचिकित्सक, औषधि वा अस्पतालका संरचनामाथि मात्र वहस केन्द्रित हुन्छ ।  तर ती सबैको बीचमा एउटा यस्तो पेशा छ, जसले २४ सै घण्टा बिरामीसँगै बसेर उनीहरूको व्यवहार, मनोदशा, औषधि सेवन, आक्रामकता, मौनता र सुधार–बिग्रेको साक्षी बन्छ—त्यो हो नर्सिङ केयर ।

मानसिक स्वास्थ्य नर्सिङ केवल पेशा होइन, लामो संघर्ष, अध्ययन, धैर्यता र मानवीय सम्वेदनाको अभ्यास हो ।  यो कथा केवल एक नर्सको करियरको कथा होइन—यो नेपालको मानसिक स्वास्थ्य सेवा प्रणालीभित्र लुकेका संरचनागत समस्या, सामाजिक स्टिग्मा, जनशक्ति संकट र नर्सिङ पेशाको अपार सम्भावनाको दस्तावेज हो ।
 

५० शैया, १४ नर्स र कहिल्यै खाली नहुने वार्ड
मानसिक अस्पतालमा हाल ५० शैया छन् । कागजमा हेर्दा सानो संख्या जस्तो देखिए पनि वास्तविकता फरक छ । यहाँ प्रायः सबै शैया भरिएका हुन्छन् ।  हाल करिब २३ जना पुरुष र २० जना महिला बिरामी उपचाररत छन् । सरकारी अस्पताल भएकाले सेवा शुल्क न्यून, औषधि सुलभ र पहुँच देशव्यापी छ । यही कारण देशका विभिन्न जिल्लाबाट, विशेषगरी अन्यत्र उपचार प्रभावकारी नभएका रोग क्रोनिक भइसकेका बिरामीहरू यही अस्पताल आइपुग्छन् । 

तर बिरामीको चाप अनुसार नर्सिङ जनशक्ति भने पर्याप्त छैन । मानसिक अस्पतालमा १६ जना नर्सको दरबन्दी छ । तर अहिले १४ जना नर्स मात्र नियमित रूपमा कार्यरत छन् । यही सीमित जनशक्तिले २४ सै घण्टा सिफ्टमा बिरामीको हेरचाह गर्नुपर्छ । यो काम सजिलो छैन । तर हामीले सेवा रोकिन दिनु हुँदैन ।

मानसिक नर्सिङः औषधिभन्दा बढी ‘उपस्थिति’
मानसिक बिरामीको उपचार शारीरिक उपचारभन्दा फरक हुन्छ । यहाँ केवल औषधि दिएर काम सकिँदैन । नर्सहरू बिरामीसँग निरन्तर सम्पर्कमा रहन्छन् —कसले औषधि खायो, कसले लुकायो, कसको निद्रा बिग्रिएको छ, कसले आज बोल्न छाड्यो, कसले अचानक आक्रामक व्यवहार देखायो—यी सबै सूक्ष्म परिवर्तन नर्सकै आँखाले पहिचान गर्छ ।

बिरामीको दैनिक क्रियाकलाप, मानसिक अवस्था, व्यवहारमा आएको सानो परिवर्तन पनि हामीले नोट गर्नुपर्छ, । धेरैजसो प्रारम्भिक समस्या नर्सले नै पहिचान गर्छन् । यही कारण मानसिक स्वास्थ्य सेवामा नर्सिङ केयरलाई ‘मेरुदण्ड’ भनिन्छ । डाक्टर आवश्यक परेको बेलामा आउनुहुन्छ तर २४ सै घण्टा बिरामीसँग रहने नर्स नै हो ।

क्रोनिक अवस्थामा आइपुग्ने बिरामी र उपचारको कठिनाइ
मानसिक अस्पतालमा आउने अधिकांश बिरामीहरू प्रारम्भिक अवस्थामा हुँदैनन् । घरपरिवार, समाज र आफैंभित्रको लाजका कारण उनीहरू लामो समय उपचारबिनै बस्छन् । धेरैजसो बिरामी घरमै लुकाइन्छन् । अवस्था अति बिग्रिएपछि मात्र मेडिकल डाक्टरकहाँ जाने कि धामी–झाँक्रीकहाँ जाने भन्ने निर्णय हुन्छ ।

यस ढिलाइको प्रत्यक्ष असर उपचारमा पर्छ । रोग क्रोनिक हुन्छ, औषधिको मात्रा बढाउनुपर्छ, कडा औषधि प्रयोग गर्नुपर्छ, जसका साइड इफेक्ट पनि गम्भीर हुन्छन् । अझ चुनौती तब बढ्छ, जब बिरामीले औषधि खान अस्वीकार गर्छन्, आक्रामक हुन्छन्, परिवारको कुरा मान्दैनन् । यसले घरपरिवारमा मात्र होइन, केयर टेकरमा गम्भीर मानसिक बोझ (केयरगिभर वर्डन) सिर्जना गर्छ ।

मिथ्या, भ्रम र स्टिग्माको जाल
मानसिक स्वास्थ्य उपचारको सबैभन्दा ठूलो अवरोध औषधिको अभाव होइन—स्टिग्मा हो । पूर्वजन्मको पाप, भूतप्रेत लागेको जस्ता विश्वासले आज पनि समाजमा गहिरो छाप छोडेको छ । 

दुखद पक्ष के भने यस्ता भ्रम कहिलेकाहीँ स्वास्थ्यकर्मीहरूमा समेत देखिन्छन् । अरु विषय नपाएपछि साइक्याट्रिक पढ्ने’, ‘यो काम छैन’, ‘यस्तै मगज भएकाले पढ्ने’ भन्ने धारणा अझै कायम छ । । यही मानसिकताले बिरामी उपचारमा आउन ढिला गर्छन्, नर्सिङ पेशालाई हेप्छन् र मानसिक स्वास्थ्यलाई दोस्रो दर्जाको स्वास्थ्य समस्या जस्तो व्यवहार गरिन्छ ।

साइक्याट्रिक नर्सिङः संयोग होइन, सचेत छनौट
मेरो साइक्याट्रिक नर्सिङ यात्रा संयोग होइन । ललितपुरको ठेचोस्थित दीपमाला सेकेन्डरी स्कुलबाट एसएलसी, सेन्ट मेरिज जावलाखेलबाट प्लस टु गरेपछि मैले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  धरानबाट बीएससी नर्सिङ गरेँ । नर्सिङमा कसैको प्रभावले आएको होइन । ज्वाइन गरेपछि रुचि बढ्दै गयो ।  शिक्षा मन्त्रालयको छात्रवृत्तिमा चीनको सिचवान युनिभर्सिटीबाट साइक्याट्रिक नर्सिङमा मास्टर्स गर्दा मैले जानाजान यही विषय रोजेँ । 

एकेडेमिकदेखि क्लिनिकल नेतृत्वसम्म
मास्टर्सपछि आर्मी नर्सिङ कलेज, अल्का नर्सिङ कलेज र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन गरेँ ।  पछि लोकसेवा आयोग पास गरेर खुला प्रतिस्पर्धाबाट नवौं तहमा चयन भई अहिले मानसिक अस्पतालको नर्सिङ नेतृत्व सम्हालेकी छु ।  पहिला एकेडेमिकमा थिएँ, अहिले क्लिनिकल एडमिनिस्ट्रेसनमा छु । दुवै नर्सिङकै पाटो हुन् । नर्सिङ केवल वेडसाइड सेवा होइन—यो व्यवस्थापन, नेतृत्व र मानवीय सम्बन्धको कला हो ।

साइक्याट्रिक नर्सको दरबन्दी किन छैन ?

सरकारी सेवामा आउन लोकसेवा आयोग अनिवार्य छ । तर नेपालमा अहिलेसम्म ‘साइक्याट्रिक नर्स’ भनेर छुट्टै दरबन्दी छैन । जनरल नर्स वा हस्पिटल नर्सको दरबन्दीबाट नै मानसिक अस्पतालमा नर्स आउनुपर्छ । साइक्याट्रिक नर्सिङ पढेका नर्स पर्नु संयोग मात्र हुन्छ । मानसिक स्वास्थ्य सेवाको प्रभावकारिताका लागि साइक्याट्रिक नर्सको छुट्टै दरबन्दी अत्यावश्यक छ । 
 

mentel-hospital-nurse-1-1771742250.JPG
 

नर्सिङको भविष्य र सन्देश
नर्सिङ क्षेत्रमा एकेडेमिक, क्लिनिकल, म्यानेज्मेन्ट—सबै क्षेत्रमा सम्भावना छ । तर यो क्षेत्र मान्छेसँग काम गर्न सक्ने, धैर्य र संवाद गर्न सक्नेहरूका लागि मात्र हो । हामी स्वयं हेल्थ प्रोफेसनमा रहेकाले मिथ्या र स्टिग्माको पछि लाग्नु हुँदैन । साइक्याट्रिक नर्सिङलाई गम्भीर रूपमा लिएर सरकारले पनि सोही विधामा दरवन्दी सृजना गरेमा पेशागत सन्तुष्टि र अवसर दुवै पाइन्छ ।

नेपालको मानसिक स्वास्थ्य सेवा प्रणाली सुधार्न चाहिने कुरा केवल अस्पताल भवन वा औषधि मात्र होइन— विशिष्टिकृत नर्सिङ जनशक्ति, नीतिगत प्रतिबद्धता र सामाजिक सोच परिवर्तन हो । साथै मानसिक स्वास्थ्य सेवामा नर्सिङ केयर विकल्प होइन, अनिवार्यता हो । 

भिडियो पनि हेर्नुहोस्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मानसिक स्वास्थ्य