नेभिगेशन

मुगुमा भाइरल ज्वरोको प्रकोप, ४०० बढी बिरामी

नेपाल हेल्थ न्युज, मुगु । मुगु जिल्लाको खत्याड गाउँपालिका–९ अन्तर्गत नर्खजी गाउँमा केही दिनयता फैलिएको भाइरल ज्वरोका कारण चार सयभन्दा बढी स्थानीय बिरामी परेका छन्। फागुन ७ गतेदेखि देखिन थालेको ज्वरो नर्खजीका चार बस्तीमा तीव्र रूपमा फैलिएको बताइएको छ।

स्थानीयका अनुसार बालबालिका, महिला तथा ज्येष्ठ नागरिक बढी प्रभावित छन्। नर्खजी स्वास्थ्य चौकीमा बिरामीको चाप बढे पनि आवश्यक जनशक्ति र औषधि अभाव देखिएको छ। दैनिक २० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।

उपचार सहयोगका लागि रातापानी प्राथमिक स्वास्थ्य केन्द्रबाट चिकित्सकसहितको टोली गाउँ पुगेको थियो। सो टोलीले करिब ३ सय बिरामीको परीक्षण गर्नुका साथै ५० जनालाई खोपसमेत लगाएको जनाएको छ। तर औषधि र जनशक्ति अभावका कारण रोग नियन्त्रणमा कठिनाइ भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। टोलीका चिकित्सकसमेत ज्वरोबाट प्रभावित भएपछि केही दिनअघि फर्किएको जनाइएको छ।

हाल स्वास्थ्य चौकीमा सीमित मात्रामा सिटामोल बाँकी रहेको र एक जना स्वास्थ्यकर्मीले मात्रै सेवा दिइरहेको अवस्था छ। समयमै औषधि आपूर्ति र थप जनशक्ति व्यवस्थापन नभए अवस्था जटिल बन्न सक्ने चिकित्सकहरूको चेतावनी छ। दीर्घरोगी बिरामीहरूका लागि जोखिम अझ बढ्न सक्ने बताइएको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार पहिलो चरणमा पठाइएको औषधि सकिएको र दोस्रो चरणका लागि खरिद गरिएको औषधि ल्याउने तयारी भइरहेको छ। जिल्ला अस्पतालसँग पनि आवश्यक सहयोगका लागि आग्रह गरिएको जनाइएको छ।

यसबीच, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू गाउँमा पुगिरहेका भए पनि स्वास्थ्य संकट समाधानका लागि ठोस पहल नदेखिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।

स्वास्थ्यकर्मीहरूले ज्वरो नर्खजीमा मात्र सीमित नरही छिमेकी बस्तीमा फैलिन सक्ने जोखिम औँल्याउँदै सतर्कता अपनाउन र तत्काल स्वास्थ्य सेवा सुदृढ गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट