नेपाल हेल्थ न्युज, काठमाडौं । देशभरिका बालबालिकाको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै सरकारले आजदेखि दुई दिनसम्म भिटामिन ‘ए’ तथा जुकाविरुद्धको औषधि वितरण अभियान सञ्चालन गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसार, राष्ट्रिय कार्यक्रममार्फत छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल प्रदान गरिँदैछ।
साथै, एक वर्षदेखि पाँच वर्षमुनिका झण्डै २० लाख बालबालिकालाई जुकाविरुद्धको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाइँदैछ।
बालबालिकालाई सहज पहुँच सुनिश्चित गर्न स्थानीय तहहरूले विभिन्न स्थानमा अस्थायी स्वास्थ्य तथा खोप केन्द्र स्थापना गरेका छन्। कार्यक्रम सफल बनाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको जनाइएको छ।
नेपालमा भिटामिन ‘ए’ को कमीबाट हुने स्वास्थ्य समस्या न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम पहिलो पटक विसं २०५० मा केही जिल्लाबाट सुरु गरिएको थियो। पछि यसको प्रभावकारिता देखिएपछि विसं २०५९ देखि देशव्यापी रूपमा विस्तार गरिएको हो।
त्यसैगरी, जुकाको संक्रमण नियन्त्रण गर्ने लक्ष्यसहित विसं २०५६ मा सीमित जिल्लाबाट सुरु गरिएको औषधि वितरण कार्यक्रम २०६७ सालदेखि देशभर लागू हुँदै आएको छ।
बागमती प्रदेश स्वास्थ्य सचिवमा संघीय कर्मचारी पठाउने निर्णयप्रति प्रदेशका कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
शुक्रबार, कात्तिक १३, २०८३
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
