नेपाल हेल्थ न्युज, काठमाडौं । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको दोस्रो युनिटमा पहिलोपटक मुटु सम्बन्धी सफल उपचार सेवा प्रदान गरिएको छ। यससँगै उक्त अस्पतालले हृदय रोग उपचारतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
भक्तपुर नगरपालिका–इनाचोका ६९ वर्षीय मसिनु माकजू यस सेवाबाट लाभ लिने पहिलो बिरामी बनेका छन्। पेट र छाती दुख्ने समस्याबाट पीडित उनलाई उनका छोरा अजय माकजूले उपचारका लागि अस्पताल पुर्याएका थिए।
अस्पतालमा पुगेपछि मुटुरोग विशेषज्ञ डा. सहदेव ढुंगाना र डा. पविन्द्र तामाङको टोलीले अत्याधुनिक उपकरणको प्रयोग गरी विस्तृत परीक्षण गरेको थियो। सो क्रममा क्याथ ल्याबमा करिब ३० मिनेट लगाएर गरिएको डायग्नोस्टिक एन्जियोग्राम परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालले जनाएको छ।
परीक्षणबाट बिरामीको मुटुका दुईवटा नशामा अवरोध रहेको पत्ता लागेको छ। चिकित्सकका अनुसार बिरामीको अवस्था हाल स्थिर छ र आगामी दिनमा अवरुद्ध नशा खोल्ने तथा स्टेन्ट राख्ने योजना बनाइएको छ।
एन्जियोग्राम मुटुको नशाको अवस्था मूल्यांकन गर्ने एक महत्वपूर्ण परीक्षण हो। यसले हृदयघातको जोखिम, नशा अवरुद्ध भएको अवस्था लगायतका विषय स्पष्ट पार्न सहयोग गर्छ।
केएमसी दुवाकोटमा स्थापना गरिएको क्याथ ल्याबमा अब मुटु सम्बन्धी विभिन्न जटिल उपचार जस्तै हृदयघातको उपचार, नशा खोल्ने प्रक्रिया, स्टेन्ट राख्ने, तथा भल्भ सम्बन्धी शल्यक्रिया समेत उपलब्ध हुने बताइएको छ।
यस सेवाको सुरुवातसँगै भक्तपुर तथा आसपासका क्षेत्रका बिरामीलाई आफ्नै नजिकै गुणस्तरीय मुटु उपचार सेवा प्राप्त हुने अपेक्षा गरिएको छ। अस्पतालको यो दोस्रो युनिट नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको पहलमा सञ्चालनमा आएको हो।
२३ लाख बालकालिकालाई खुवाइयो भिटामिन ‘ए’
मंगलबार, वैशाख ८, २०८३
गुणस्तर नपुगेपछि ओन्डाट्रोन–४ नामक औषधि बजारबाट फिर्ता लिन निर्देशन
मंगलबार, वैशाख ८, २०८३
नेतृत्व अभाव र बजेट संकटले थलिँदै स्वास्थ्य बीमा बोर्ड
मंगलबार, वैशाख ८, २०८३
डा. दिनेशनाथ गोंगलको निधन
मंगलबार, वैशाख ८, २०८३

