क्यान्सरको प्रभावकारी उपचारमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?
क्यान्सरको चाँडो निदान हुनु सबैभन्दा महत्वपूर्ण कुरा हो । ढिलो पहिचान हुनु वा सही तरिकाले पहिचान नहुनु नै क्यान्सर राम्रोसँग निको नहुने मुख्य कारण हो । प्रारम्भिक चरणमै क्यान्सर पत्ता लागेमा उपचार सरल, कम खर्चिलो र सफल हुने सम्भावना धेरै हुन्छ ।
हामीले क्यान्सरलाई सतही रूपमा होइन, सूक्ष्म रूपमा अध्ययन गर्नुपर्छ । सबै क्यान्सर एउटै प्रकृतिका हुँदैनन । क्यान्सर कसरी सुरु हुन्छ भन्ने प्रकृति फरक हुन्छ । जिनमा हुने म्युटेसन फरक–फरक हुन्छन् र शरीरमा फैलिने ढाँचा पनि फरक नै हुन्छ । त्यसैले प्रत्येक बिरामीको क्यान्सरलाई व्यक्तिगत रूपमा बुझेर उपचार योजना बनाउनु नै प्रभावकारी उपचारको आधार हो भन्ने विश्वव्यापी मान्यता छ ।
तर आजको दिनसम्म नेपालमा यो स्तरको सूक्ष्म र समग्र डायग्नोस्टिक प्रणाली पूर्ण रूपमा स्थापित हुन सकेको छैन । यही कारणले धेरै नेपाली क्यान्सरका बिरामीहरू उपचारका लागि विदेश जान बाध्य भइरहेका छन् । विशेषगरी समयमै र सही तरिकाले डायग्नोसिस हुन नसक्दा विदेश जानुपरेको भारत जाने अधिकांश बिरामीहरूको गुनासो हुन्छ ।
क्यान्सर उपचारको पहिलो शर्त नै सही र समयमै पहिचान हो । यदि त्यही चरण कमजोर भयो भने उपचार जटिल, महँगो र कहिलेकाहीँ अप्रभावकारीसमेत हुनसक्छ ।
नेपालमा बायोप्सी हुँदैन भन्ने गुनासो सुनिन्छ, कति सत्य हो ?
यो पूर्ण रूपमा भ्रम हो । हाम्रो अस्पतालमा दैनिक १५–२० वटा बायोप्सी भइरहेका छन् । बायोप्सी भनेको शरीरको क्यान्सर शंकास्पद भागबाट सानो तन्तु (टिस्यु) वा कोष (सेल) को नमूना निकालेर माइक्रोस्कोपबाट जाँच गर्ने प्रक्रिया हो । क्यान्सर भए–नभएको पुष्टि गर्न, गाँठोको वास्तविक प्रकार पहिचान गर्न, संक्रमण वा सूजन छुट्याउन तथा क्यान्सरको स्टेज र ग्रेड निर्धारण गर्न बायोप्सी अत्यन्तै महत्वपूर्ण मानिन्छ । बायोप्सी विभिन्न तरिकाले गर्न सकिन्छ ।
माइक्रोस्कोपबाट टिस्यु अध्ययन गर्ने प्रक्रियालाई हिस्टोप्याथोलोजी भनिन्छ, जुन सेवा हामीले विगत २० वर्षदेखि निरन्तर प्रदान गर्दै आएका छौं । अन्य अस्पतालहरूमा पनि यो सुविधा उपलब्ध छ । तर आधुनिक क्यान्सर डायग्नोस्टिक केवल आधारभूत हिस्टोप्याथोलोजीमा सीमित हुँदैन । थप सूक्ष्म विश्लेषणका लागि अन्य एडभान्स्ड परीक्षण आवश्यक पर्छ ।
विशेषगरी आईएचसी (इम्युनोहिस्टोकेमिस्ट्री) जस्ता प्रविधिबाट क्यान्सरका फरक–फरक मार्कर पहिचान गर्न सकिन्छ । हामीले अस्पतालमा यो सेवा सुरु गरिसकेका छौं ।
क्यान्सर एक रोग मात्र नभई विभिन्न प्रकारको समूह हो । प्रत्येक क्यान्सरमा फरक–फरक जैविक विशेषता र मार्कर हुन्छन् । ती मार्करको पहिचान गरेर उपचार योजना बनाउँदा उपचार अझ प्रभावकारी हुन्छ । यस्तो प्रणाली नेपालमै पहिलोपटक सुरु गरिएको हो भन्ने हाम्रो विश्वास छ । मुख्यतः बायोप्सी पाँच प्रकारले गरिन्छः।
- सुई बायोप्सी
- सर्जिकल बायोप्सी
- एन्डोस्कोपिक बायोप्सी
- इमेज–गाइडेड बायोप्सी
- बोन म्यारो बायोप्सी
बायोप्सी सही उपचारको दिशानिर्देश गर्ने निर्णायक चरण हो ।
रगतसम्बन्धी क्यान्सरका लागि के सुविधा छ ?
हामीले फ्लोसाइट्रोमेट्री जाँच सुरु गरेका छौं । यो विशेषगरी रगतसम्बन्धी क्यान्सर पहिचानका लागि अत्यन्त उपयोगी हुन्छ । बाहिर ३०–४० हजार पर्ने परीक्षण हामी ८ हजारमै गरिरहेका छौं ।
जेनेटिक परीक्षणको अवस्था कस्तो छ ?
जिनमा म्युटेसन नभई क्यान्सर हुँदैन । कुन जिनमा परिवर्तन भयो भनेर पत्ता लगाउन जेनेटिक ल्याब आवश्यक हुन्छ । हामी दोस्रो चरणमा जेनेटिक ल्याब स्थापना गर्ने तयारीमा छौं । बजेट प्राप्त भएपछि अर्को वर्ष सुरु गर्ने योजना छ । अहिले यो सुविधा नहुँदा केही बिरामी भारत जान बाध्य छन् ।
इमेजिङ सुविधाको अवस्था कस्तो छ ?
क्यान्सर कहाँ छ, कति फैलिएको छ भन्ने जान्न इमेजिङ आवश्यक हुन्छ । यसका लागि
- अल्ट्रासाउन्ड
- सीटी स्क्यान
- एमआरआई
- पेट–सिटी स्क्यान
गर्नुपर्छ । पेट–सिटी स्क्यान यस वर्ष खरिद प्रक्रियामा छ । साउन–भदौसम्म सरकारीमा पहिलोपटक भक्तपुर क्यान्सर हस्पिटलमा सेवा सुरु हुने अपेक्षा छ । त्यसपछि हाम्रो डायग्नोस्टिक प्रणाली लगभग पूर्ण हुनेछ ।
अन्य परीक्षणहरू के–के उपलब्ध छन् ?
- क्यान्सरमा आवश्यक सबै रगत परीक्षण
- ट्युमर मार्कर टेस्ट
- एलबीसी
- प्याप स्मियर
- एचपीभी टेस्ट
यी सबै सुविधा हामीले उपलब्ध गराइरहेका छौं । अहिले हाम्रो प्रयोगशालामा आउने परीक्षणहरूमध्ये आधाभन्दा बढी अन्य अस्पतालहरूबाट रिफर भएर आउने गरेका छन् । धेरैजसो केसमा बायोप्सी नमूनाहरू नै सिधै यहाँ पठाइन्छन् ।
खर्च कति पर्छ ?
हामी सरकारी अस्पताल हौं । अस्वाभाविक शुल्क लिन पाइँदैन । जीन परीक्षण गर्ने प्रविधि महँगो हुनसक्छ । तर हामीले फ्लोसाइट्रोमेट्री र आईएचसी डायग्नोसिस प्यानल ८ हजारमा सेवा दिन सफल छौं । बाहिर गर्दा ३०–४० हजार लाग्ने परीक्षण हामीले सस्तो र छिटो (तीन दिनभित्र) उपलब्ध गराइरहेका छौं । क्यान्सर पहिचानमा समयको मूल्य अत्यन्तै महत्वपूर्ण हुन्छ । हामी समय र खर्च दुवै बचत गर्ने प्रयासमा छौं ।
अन्तिममा के सन्देश दिनुहुन्छ ?
क्यान्सरको सूक्ष्म र उन्नत डायग्नोस्टिक सेवाका लागि हाम्रो प्रयोगशाला राष्ट्रिय सन्दर्भ केन्द्र (सबै ठाउँमा गर्न नसकिने विशेष जाँचहरू गर्ने मुख्य केन्द्र) को रूपमा स्थापित हुँदै गएको छ । बाहिर परीक्षण गराउँदा रिपोर्ट आउन तीन हप्तासम्म लाग्ने अवस्थालाई ध्यानमा राखेर हामीले त्यसलाई तीन दिनभित्र सीमित गर्ने लक्ष्य राखेका छौं । छिटो, सटीक र विश्वसनीय रिपोर्ट उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो । यस उद्देश्यका साथ हामीले निरन्तर नयाँ सुविधा थप्दै गइरहेका छौं ।
मधेश प्रदेशमा भक्तपुर क्यान्सर हस्पिटलद्धारा पाठेघरको मुख र स्तन क्यान्सर स्क्रिनिङ
सोमबार, वैशाख २८, २०८३
नेपालमा क्यान्सरको वास्तविक चित्र
मंगलबार, वैशाख २२, २०८३
क्यान्सर पर्खालभित्रको मानवीय कथा
मंगलबार, वैशाख २२, २०८३
क्यान्सरविरुद्धको रणनीति कागजमै सीमित
शुक्रबार, वैशाख ११, २०८३

