क्यान्सर भनेको वंशाणुगत रोग हो ।
तथ्यांक अनुसार बालबालिकामा हुने क्यान्सरमध्ये करिब १०–२० प्रतिशत मात्र वंशाणुगत हुन्छ । बाँकी अधिकांशमा पारिवारिक इतिहास हुँदैन । बालबालिकामा देखिने वंशानुगत क्यान्सरमध्ये एक हो रेटिनोब्लास्टोमा जुन आँखाको पछाडिको भाग रेटिनामा हुने गर्छ । यो जन्मजात वा एक वर्ष मुनिका बालबालिकामा बढी देखिन्छ ।
जीनमा हुने परिवर्तन नै क्यान्सरको मुख्य कारण हो । यो परिवर्तन जन्मजात वा पछि उमेरसँगै विकसित हुनसक्छ । जीनमा हुने परिवर्तन धेरैजसो प्राकृतिक प्रक्रिया हो ।
त्यसैले बच्चालाई क्यान्सर भएकोमा अभिभावकले आफूलाई दोषी ठान्नु हुँदैन । तर परिवारको इतिहास सोध्नु आवश्यक हुन्छ किनकि केही अवस्थामा उच्च जोखिम समूह पहिचान गर्न मद्दत पुग्छ । सचेत समाज, सजग अभिभावक र संवेदनशील स्वास्थ्य प्रणाली नै यसको मुख्य आधार हो । बाल क्यान्सर उपचारयोग्य रोग हो । नेपालमै आवश्यक पूर्वाधार, प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध छन् ।
बच्चालाई क्यान्सर लाग्नु अन्तिम अवस्था हो ।
समयमै सही पहिचान गरेर आवश्यक उपचार सुरु गरेमा ८०–९० प्रतिशतसम्म बाल क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ । यसका लागि प्रारम्भिक लक्षण चिन्ने, छिटो निदान गर्ने र तुरुन्त उपचार सुरु गर्न आवश्यक हुन्छ । ब्लड क्यान्सर (ल्युकेमिया) जस्ता रोगहरू किमोथेरापीबाटै ८०–९० प्रतिशतसम्म निको हुने सम्भावना हुन्छ । त्यसैले क्यान्सर मृत्यु भन्ने सोच पूर्ण रूपमा गलत हो ।
क्यान्सर भएपछि बच्चाको जीवन कहिल्यै सामान्य हुँदैन ।
उपचारपछि बच्चा कमजोर हुन्छ, पढ्न सक्दैन, सामान्य जीवन जिउन नसक्ने कतिपयको सोच पाइन्छ । तर बाल क्यान्सरमा उपचारको लक्ष्य ज्यान बचाउनु मात्र नभई बच्चालाई सामान्य र गुणस्तरीय जीवन जिउन सक्ने अवस्थामा दिने हो । उपचार पूरा गरेर मेन्टेनेन्स चरणमा पुगेका बालकहरूलाई विद्यालयसमेत पठाउने गर्छौं । औषधि खाँदै पनि बच्चाहरू सामान्य जीवनमा फर्कन सक्छन् । उपचारपछि धेरै बालबालिका पूर्ण रूपमा सामान्य जीवन बिताइरहेका उदाहरणहरू छन् ।
क्यान्सर सरुवा रोग हो ।
क्यान्सर नसर्ने रोग हो । बिरामीको प्रतिरक्षा शक्ति कमजोर हुने भएकाले संक्रमणको जोखिम नबढोस् भनेर सुरक्षित वातावरणमा राखेर उपचार गरिन्छ । तर सर्ने भएर छुट्टै राखेको होइन ।
किमोथेरापी प्राणघातक उपचार हो ।
किमोथेरापी जीवनरक्षक उपचार हो । डराउनुपर्दैन । एन्टिबायोटिकले ब्याक्टेरिया मारेजस्तै किमोथेरापीले पनि क्यान्सरका कोशिका मार्छ । क्यान्सरमा औषधिको शक्ति बढी हुने भएकाले तीव्र रूपमा बढ्ने कोशिकामा असर गर्छ । यसबाट कपाल झर्ने, मुखमा घाउ आउने, कमजोरी महसुस हुने जस्ता साइड इफेक्ट देखिन सक्छन् । तर यी अस्थायी हुन्छन् । उपचार पूरा भएपछि कपाल फेरि उम्रिन्छ, बच्चा सामान्य अवस्थामा फर्किन्छ ।
युवावस्थामै क्यान्सरः अनुभूति होइन, डाटाले देखाएको गम्भीर संकट
बिहीबार, वैशाख १०, २०८३
क्यान्सर उपचारमा नर्सिङ नेतृत्व
बिहीबार, वैशाख १०, २०८३
भक्तपुर क्यान्सर हस्पिटलमा उन्नत क्यान्सर परीक्षण
बुधबार, वैशाख ९, २०८३
क्यान्सरबाट एक क्यान्सर सर्जनको अन्तिम विदाइ
शुक्रबार, चैत २०, २०८२

