नेभिगेशन
आफ्नै भवन अभावले सेवा विस्तारमा चुनौती

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ वर्षे यात्राः १६ सय मिर्गौला र दर्जनौँ कलेजो प्रत्यारोपण सफल 

मस्तिष्क मृत्युबाट प्राप्त हुने अंगलाई व्यापक गराउन जरुरी

add final

 

नेपाल हेल्थ न्युज, भक्तपुर — शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफ्नो स्थापना भएको १४औँ वार्षिकोत्सव शुक्रबार भव्य रूपमा मनाएको छ। सन् २०१३ मा स्थापना भएको केन्द्रले छोटो अवधिमै अंग प्रत्यारोपण सेवामा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।

केन्द्रकी कार्यकारी निर्देशक डा। कल्पना कुमारी श्रेष्ठ का अनुसार १४ वर्षको अवधिमा करिब १६ सय मिर्गौला तथा दर्जनौँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। साथै, केन्द्रबाट दैनिक करिब २०० जना बिरामीले डायलाइसिस सेवा लिइरहेका छन्।

उहाँले २०८२ साल बैशाखदेखि चैत्र मसान्तसम्म २१३ वटा मिर्गौला र ३ वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको जानकारी दिनुभयो। कानुनी व्यवस्था बनिसकेको अवस्थामा मस्तिष्क मृत्युपछि प्राप्त हुने अंगको प्रयोगलाई अझ व्यापक बनाउन सके नेपाल मिर्गौला लगायतका प्रत्यारोपण सेवामा आत्मनिर्भर बन्न सक्ने उहाँको भनाइ छ।

डा. श्रेष्ठले केन्द्रका चिकित्सक, नर्स तथा सम्पूर्ण कर्मचारीहरूको निरन्तर समर्पण र योगदानकै कारण यस्तो उपलब्धि सम्भव भएको उल्लेख गर्नुभयो। तर, केन्द्रको नाममा आफ्नै पर्याप्त जग्गा तथा भवन नभएकाले सेवा विस्तारमा कठिनाइ भइरहेको भन्दै उहाँले सरकारसँग आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो।

वार्षिकोत्सवको अवसरमा मिर्गौला प्रत्यारोपण शल्यक्रिया विषयमा एक वर्षे फेलोशिप कार्यक्रम सफलतापूर्वक पूरा गरेका डा. विकास खड्का लाई प्रमाणपत्र प्रदान गरिएको थियो।

यसैगरी, उत्कृष्ट सेवा प्रदान गरेबापत डा। निभा श्रेष्ठ, ल्याब टेक्निसियन प्रशान्त बासुकला, स्टाफ नर्स अनु शाही, खरिदार बालिका ढकाल र सवारी चालक बलराम पाँउ उत्कृष्ट कर्मचारी घोषित भएका थिए। नर्सिङ इन्चार्ज एलिसा श्रेष्ठ लाई नगद पुरस्कारसहित सर्वोत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा मानव अंग प्रत्यारोपण केन्द्र विकास समितिका अध्यक्ष डा.केशर बहादुर ढकालले केन्द्रका सम्पूर्ण कर्मचारीहरूको सेवाप्रति उच्च प्रशंसा व्यक्त गर्दै केन्द्रको विकासका लागि आफू सधैं सकारात्मक र सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।                          

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्