नेपाल हेल्थ न्युज, ललितपुर । ७५ वर्षका यमबहादुर मल्लका लागि उमेरभन्दा ठूलो थियो छोराको जीवन बचाउने चाहना ।
उहाँका ४५ वर्षीय छोरा सुजेन्द्र ठकुरी मल्लको उच्चरक्तचापका कारण मिर्गौला बिग्रिएको थियो । नियमित डायलाइसिसको अवस्थामा पुगेका छोराको उपचारका क्रममा अन्ततः मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो ।
छोरालाई नयाँ जीवन दिने निर्णयमा बाबु यमबहादुर आफैँ अघि सर्नुभयो । उहाँले आफ्नो एउटा मिर्गौला छोरालाई दान गर्नुभयो । मिर्गौला प्रत्यारोपण सफल भयो र प्रत्यारोपणपछि बाबु र छोरा दुवैको अवस्था सन्तोषजनक रहेपछि सुजेन्द्र अस्पतालबाट आज घर फर्किनुभएको छ ।
यो घटना बी एन्ड बी अस्पतालमा सम्पन्न भएको १०औँ मिर्गौला प्रत्यारोपण पनि हो ।
बी एन्ड बीमा नियमित हुँदैछ मिर्गौला प्रत्यारोपण
बी एन्ड बी अस्पतालमा पछिल्लो समय मिर्गौला प्रत्यारोपण सेवा नियमित रूपमा सञ्चालन हुँदै आएको छ । अस्पतालमा गरिएको पछिल्लो प्रत्यारोपणसहित हालसम्म १० वटा मिर्गौला प्रत्यारोपण सम्पन्न भइसकेका छन् ।
ट्रान्सप्लान्ट टोलीका डा. किरणजंग कुँवरका अनुसार प्रत्यारोपणका परिणाम उत्साहजनक छन् । प्रो.डा. जगदीश लाल बैद्यको नेतृत्वमा मिर्गौला प्रत्यारोपणमा नेफ्रोलोजी पक्षबाट डा. शैलेन्द्र कुमार श्रेष्ठ तथा ट्रान्सप्लान्ट सर्जरीतर्फ डा. किरणजंग कुँवरलगायत डा. सरोज लाल बैद्य, डा. अतुल कसजु, डा. दिपेश श्रेष्ठ, डा. दिपेश धिताल, डा. रबि गौतम, नर्सलगायत महत्वपूर्ण टिमको संलग्नता रहेको थियो ।
प्रो. डा. वैद्य नेपालमा युरोलोजी क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएका वरिष्ठ सर्जन हुनुहुन्छ । नेपालमा दूरबिन प्रविधिबाट युरोलोजी शल्यक्रियाको सुरुवातमा उहाँको महत्वपूर्ण भूमिका रहेको छ ।
प्रत्यारोपणका लागि छुट्टै आईसीयू र वार्ड
मिर्गौला प्रत्यारोपण सामान्य शल्यक्रियाभन्दा फरक र संवेदनशील प्रक्रिया हो । प्रत्यारोपणपछि बिरामीलाई संक्रमणबाट जोगाउनेदेखि नयाँ मिर्गौलाको कार्यसम्पादन निगरानी गर्नेसम्मका लागि विशेष व्यवस्थापन आवश्यक हुन्छ । बी एन्ड बी अस्पतालमा प्रत्यारोपण गरिएका बिरामीका लागि छुट्टै आईसीयू र वार्डको व्यवस्था गरिएको चिकित्सक टोलीको भनाइ छ । प्रत्यारोपणपछि बिरामीको अवस्था नजिकबाट निगरानी गर्ने, औषधिको मात्रा मिलाउने तथा नयाँ मिर्गौलाले राम्रोसँग काम गरिरहेको छ कि छैन भन्ने परीक्षण नियमित रूपमा गरिन्छ ।
हालसम्म भएका प्रत्यारोपणको समग्र परिणाम राम्रो रहेको चिकित्सक टोलीले जनाएको छ ।
सरकारी सहुलियत छैन, निजी अस्पतालमा आफैँ खर्च
नेपालमा मिर्गौला रोगीका लागि सरकारले विभिन्न किसिमका उपचार तथा प्रत्यारोपणसम्बन्धी सहुलियत उपलब्ध गराउँदै आएको छ । तर निजी अस्पतालमा हुने मिर्गौला प्रत्यारोपणका हकमा सरकारी सहुलियत लागू नहुने भएकाले बिरामीले उपचार खर्च आफैँ व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ । बी एन्ड बी अस्पतालमा मिर्गौला प्रत्यारोपणको खर्च औषधिसहित १० लाख रुपैयाँभन्दा माथि पर्ने बताइएको छ । यसमा प्रत्यारोपणसँग सम्बन्धित उपचार, अस्पताल सेवा तथा आवश्यक औषधि समावेश हुने जनाइएको छ । चिकित्सकका अनुसार प्याकेजभित्रै करिब ३ देखि ४ लाख रुपैयाँसम्मको औषधि तथा अन्य आवश्यक खर्च समेटिने गर्छ । तर प्रत्यारोपणपछि लामो समयसम्म सेवन गर्नुपर्ने औषधि, नियमित परीक्षण तथा सम्भावित जटिलताका कारण बिरामीको दीर्घकालीन खर्च भने फरक हुन सक्ने चिकित्सकहरू बताउँछन् ।
बाबुको मिर्गौलाले छोरालाई नयाँ जीवन
७५ वर्षीय बाबुले ४५ वर्षीय छोरालाई मिर्गौला दान गरेको यो घटना चिकित्सा उपचारसँगै पारिवारिक सम्बन्धको भावनात्मक उदाहरणसमेत बनेको छ । मिर्गौला प्रत्यारोपणका लागि उपयुक्त दाता र ग्रहणकर्ताबीच विभिन्न चिकित्सकीय परीक्षण गरिन्छ । उमेर मात्रका आधारमा दाता बन्न नमिल्ने वा मिल्ने निर्णय हुँदैन, दाताको समग्र स्वास्थ्य अवस्था, मिर्गौलाको कार्यक्षमता तथा आवश्यक परीक्षणका आधारमा चिकित्सकीय निर्णय गरिन्छ ।
यमबहादुर मल्लको मिर्गौला छोराका लागि उपयुक्त देखिएपछि प्रत्यारोपण प्रक्रिया अघि बढाइएको थियो । सफल प्रत्यारोपणपछि छोराले नयाँ मिर्गौलासहित सामान्य जीवनतर्फ फर्किने अवसर पाएका छन् ।
प्रत्यारोपण सेवा विस्तारसँगै चुनौती पनि उस्तै
नेपालमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार हुँदै गएपनि प्रत्यारोपणका लागि आवश्यक जनशक्ति, पूर्वाधार, औषधि तथा दीर्घकालीन उपचार व्यवस्थापन अझै महत्वपूर्ण चुनौतीका रूपमा छन् । विशेषगरी प्रत्यारोपणपछि बिरामीले जीवनभरजसो नियमित औषधि सेवन र चिकित्सकीय निगरानी आवश्यक पर्ने भएकाले प्रत्यारोपणलाई केवल एउटा शल्यक्रियाका रूपमा मात्र हेर्न नहुने चिकित्सकहरू बताउँछन् । यसका लागि प्रत्यारोपणपूर्वको मूल्यांकन, शल्यक्रिया, प्रत्यारोपणपछिको निगरानी र दीर्घकालीन फलोअपलाई एउटै उपचार प्रणालीका रूपमा अघि बढाउनुपर्ने हुन्छ ।
बी एन्ड बी अस्पतालमा सम्पन्न भएको १०औँ प्रत्यारोपणले नेपालमा निजी क्षेत्रबाट पनि मिर्गौला प्रत्यारोपण सेवा विस्तार हुँदै गएको संकेत गरेको छ । अझ महत्वपूर्ण कुरा, ७५ वर्षीय बाबुले आफ्नो मिर्गौला दिएर ४५ वर्षीय छोरालाई नयाँ जीवनतर्फ फर्काएको यो घटना प्रत्यारोपण चिकित्साभन्दा बाहिर मानवीय सम्बन्धको एउटा मार्मिक कथा पनि बनेको छ ।

