नेपाल हेल्थ न्युज, भक्तपुर । मृत्युपछि शरीर माटोमा विलीन हुन्छ । तर त्यही शरीरका महत्वपूर्ण अंगले अरू कसैलाई नयाँ जीवन दिन सक्छन् । यही सन्देशसहित विश्व अंगदान दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बिहीबार भक्तपुरका सांसदहरू रुकेश रञ्जित, राजीव खत्री र गंगा लक्ष्मी अवालको विशेष आतिथ्यतामा आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको सहभागिता थियो । कार्यक्रममा भक्तपुरका सांसद रुकेश रञ्जित र राजीव खत्रीसहित पूर्वसंविधानसभा सदस्य विन्दा पाण्डे लगायत ९ जनाले मृत्युपछि अंगदान गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रममा जीवित दाताबाट हुने अंगदान तथा मस्तिष्क मृत्यु (ब्रेन डेथ) पछि हुने अंगदान र प्रत्यारोपणका विषयमा जानकारी दिइएको थियो । केन्द्रका अनुसार हालसम्म मस्तिष्क मृत्युपछि अंगदानका लागि मञ्जुरी दिने व्यक्तिको संख्या २ हजार ७९९ पुगेको छ ।
‘मृत्युपछि अंगदान गर्न सके खर्च पनि घट्छ, जोखिम पनि’
केन्द्रकी कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला विशेषज्ञ डा. कल्पना कुमारी श्रेष्ठले नेपालजस्तो विकासशील मुलुकमा जीवित व्यक्तिबाट अंग लिएर प्रत्यारोपण गर्दा दाता र बिरामी दुवैतर्फ उपचार तथा व्यवस्थापनको खर्च बढ्ने बताउनुुभयो ।
उहाँका अनुसार मस्तिष्क मृत्युपछि अंगदानको अभ्यास बढाउन सके प्रत्यारोपण सेवा थप प्रभावकारी र तुलनात्मक रूपमा कम खर्चिलो बनाउन सकिन्छ । जीवित व्यक्तिबाट अंग निकाल्नुपर्ने अवस्था कम हुँदा दाताको स्वास्थ्यमा पर्न सक्ने सम्भावित असरसमेत घटाउन सकिने उहाँको भनाइ छ ।
डा. श्रेष्ठले केन्द्रको सेवा विस्तारका लागि आवश्यक भौतिक पूर्वाधार विकास गर्न उपयुक्त स्थानमा पर्याप्त जग्गा तथा भवनको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
‘अंग नपाएर अकालमा मृत्यु हुने अवस्था अन्त्य गर्नुपर्छ’
केन्द्रका प्रत्यारोपण सर्जन डा. दिपेश श्रेष्ठले विश्वभर मिर्गौला रोगको प्रकोप बढिरहेको अवस्थामा रोगको पहिचान, उपचार र रोकथामबारे व्यापक जनचेतना आवश्यक रहेको बताउनुभयो ।
नेपालमा मिर्गौला फेल भएका धेरै बिरामी प्रत्यारोपणको प्रतीक्षामा रहने र आवश्यक समयमा अंग उपलब्ध नहुँदा केही बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
अंगदानसम्बन्धी भ्रम हटाउँदै जनचेतना विस्तार गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै डा. श्रेष्ठले केन्द्रको भौतिक पूर्वाधार विकाससँगै कर्मचारीको वृत्ति विकासमा समेत सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गर्नुभयो ।
एक जनाको निर्णयले धेरै जीवन बदलिन सक्छ
अंगदानको विषय स्वास्थ्य क्षेत्रको विषय नभई मानवीय सेवासँग जोडिएको विषय भएकाले समाजमा यसको सकारात्मक सन्देश फैलाउनुपर्ने कार्यक्रममा सहभागीहरूले बताएका थिए।
विश्व अंगदान दिवसको अवसरमा भएको घोषणाले सार्वजनिक व्यक्तित्वहरूबाटै अंगदानको संस्कार विकास गर्न सकिने सन्देश दिएको छ । मृत्यु सत्य भए पनि मृत्युपछि आफ्नो अंगले अर्को व्यक्तिलाई जीवनको अवसर दिन सक्छ भन्ने भावनालाई समाजमा स्थापित गर्नुपर्ने आवश्यकता कार्यक्रममा औँल्याइयो ।
सांसदहरू राजीव खत्री, रुकेश रञ्जित र गंगा लक्ष्मी अवालले अंगदानसम्बन्धी जनचेतना विस्तार गर्न आफूहरूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँहरूले नेपाली नागरिकलाई अंग प्रत्यारोपणसम्बन्धी सेवा सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउन आवश्यक सहयोग गर्ने तथा केन्द्रका लागि आवश्यक भवन व्यवस्थापनमा समेत प्रतिबद्ध रहने बताउनुभयो ।
अंगदाता परिवार र अस्पताल सम्मानित
कार्यक्रममा मस्तिष्क मृत्युपछि अंगदान गर्ने व्यक्तिका परिवारका सदस्य तथा अंगदान प्रक्रियामा योगदान गर्ने अस्पतालहरूलाई विशेष सम्मान गरिएको थियो ।

अंगदानको निर्णय गर्ने व्यक्ति मात्र होइन, त्यस्तो कठिन समयमा परिवारले देखाउने साहस र मानवीय भावना पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले अंगदाता परिवारको सम्मानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास केन्द्रले लिएको छ ।
नेपालमा अंग प्रत्यारोपण सेवाको विस्तार हुँदै गए पनि अंग उपलब्धताको अभाव अझै ठूलो चुनौतीका रूपमा रहेको छ । यस्तो अवस्थामा मस्तिष्क मृत्युपछि हुने अंगदानलाई व्यवस्थित र प्रभावकारी बनाउन सके प्रत्यारोपणको प्रतीक्षामा रहेका धेरै बिरामीले नयाँ जीवन पाउने सम्भावना बढ्नेछ।
त्यसैले यस वर्षको विश्व अंगदान दिवसले एउटा महत्वपूर्ण प्रश्न पनि उठाएको छ—‘हामीपछि हाम्रो अंगले कसैलाई जीवन दिन सक्छ भने, किन नदिने ?’
अंगदानसम्बन्धी सही जानकारी, वैज्ञानिक बुझाइ र सामाजिक विश्वास विस्तार गर्न सके मृत्युपछि पनि जीवन बाँड्ने संस्कार नेपालमा बलियो बन्न सक्छ ।

