नेभिगेशन
मिर्गौलाबाट बहुअंग प्रत्यारोपणसम्म, सेवामा नयाँ सुरुवात्

काँडाघारीमा गान्धी तुल्सी मेहर अस्पताल तथा प्रत्यारोपण केन्द्र स्थापना: सरकारी शुल्कमै अंग प्रत्यारोपण गर्ने तयारी 

२ सयभन्दा बढी मिर्गाैला प्रत्यारोपण गरिसकेका चिकित्सकको नेतृत्वमा अस्पताल सञ्चालन

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा मानव अंग प्रत्यारोपण सेवाको पहुँच विस्तार गर्न निजी क्षेत्रको गैरनाफामूलक संस्था किड्नी होप फाउन्डेसनले काठमाडौंमा सुविधा सम्पन्न अंग प्रत्यारोपण केन्द्र सञ्चालनको तयारी थालेको छ ।

सरकारी अस्पतालमा प्रत्यारोपणका लागि लामो समय कुर्नुपर्ने र निजी अस्पतालमा महँगो शुल्क तिर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यसहित फाउन्डेसनले कागेश्वरी मनोहरा नगरपालिका–९, काँडाघारीमा गान्धी तुल्सी मेहर अस्पताल तथा प्रत्यारोपण केन्द्र स्थापना गर्न लागेको हो ।


मिर्गाैला प्रत्यारोपण क्षेत्रमा लामो अनुभव हाँसिल गर्नुभएका प्रत्यारोपण सर्जन डा. नारायणप्रसाद भुषालसहित दक्ष चिकित्सकहरूको टोलीले स्थापना गरेको फाउन्डेसनले अस्पताललाई व्यापारिकभन्दा पनि सेवामुखी संस्थाका रूपमा अघि बढाउने जनाएको छ ।

अस्पतालमा सरकारी स्वास्थ्य संस्थाले तोकेको शुल्कसरहकै शुल्कमा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराउने योजना रहेको डा. भुषालले बताउनुभयो । उहाँका अनुसार नेपालमा प्रत्यारोपण सेवाको माग बढिरहेको भए पनि सहज र सुलभ पहुँच अझै चुनौतीपूर्ण छ । यही अवस्थालाई मध्यनजर गर्दै गैरनाफामूलक अवधारणामा अस्पताल सञ्चालन गर्न लागिएको हो ।gandhi-tulsi-mehar-1786864106.jpg

डा. भुषालका अनुसार उहाँको नेतृत्वमा रहेको टोलीले काठमाडौंको एक निजी मेडिकल कलेजमा हालसम्म २ सयभन्दा बढी बिरामीको मिर्गौला प्रत्यारोपण गरिसकेको छ । सोही अनुभवलाई आधार बनाएर अब आफ्नै संस्थामार्फत थप बिरामीलाई सहज र गुणस्तरीय सेवा दिने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

मिर्गौलाबाट मुटु, कलेजोसम्मको प्रत्यारोपण योजना
गान्धी तुल्सी मेहर अस्पताल तथा प्रत्यारोपण केन्द्रलाई भविष्यमा बहुअंग प्रत्यारोपण केन्द्रका रूपमा विकास गर्ने योजना रहेको डा. भुषालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा मिर्गौलासँगै मुटु, कलेजो, बोन म्यारो लगायतका मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य छ । त्यसका लागि आवश्यक दक्ष चिकित्सक तथा प्राविधिक जनशक्तिको टोली निर्माण गरिसकिएको र चरणबद्ध रूपमा सेवा विस्तार गरिने उहाँले बताउनुभयो ।

‘अस्पताललाई व्यापार होइन, सेवाको माध्यम बनाउने हाम्रो उद्देश्य हो,’ डा. भुषालले भन्नुभयो, ‘गुणस्तरीय प्रत्यारोपण सेवा नेपालमै सहज र सुलभ रूपमा उपलब्ध गराउने गरी हामी अघि बढिरहेका छौं ।’

ऐतिहासिक भूमिमा प्रत्यारोपण अस्पताल
गान्धी तुल्सी मेहर अस्पताल निर्माण हुन लागेको स्थान आफैंमा ऐतिहासिक महत्व बोकेको छ । वरिष्ठ समाजसेवी तुल्सीमेहर श्रेष्ठ महात्मा गान्धीको विचारबाट प्रभावित भएर नेपालमा चर्खा चलाउने तथा स्वदेशी कपडा उत्पादन गर्ने अभियानमा सक्रिय भएको यही ऐतिहासिक परिसरमा अस्पताल स्थापना हुन लागेको हो ।gandhi-tulsimeher2-1786864020.JPG

नेपाल र भारतबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धको सेतुका रूपमा समेत चिनिएको यस स्थानमा अत्याधुनिक स्वास्थ्य संस्था स्थापना हुनुलाई कार्यक्रमका सहभागीहरूले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।

भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा अस्पताल सञ्चालनको तयारीबारे जानकारी दिइएको थियो ।


कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुनिल केसीले अनुभवी चिकित्सक तथा अस्पताल व्यवस्थापनको टोलीबाट आफू प्रभावित भएको बतानुभयो । उहाँले अस्पताल सञ्चालनका लागि आफू, आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टी तथा सरकारका तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल–भारत सम्बन्धको ऐतिहासिक स्थलमा स्वास्थ्य सेवा

नेपालस्थित भारतीय दूतावासका उपनियोग प्रमुख डा. राकेश पाण्डेले ऐतिहासिक महत्व बोकेको स्थानमा प्रत्यारोपण अस्पताल स्थापना हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाल र भारतबीचको सम्बन्धलाई जीवन्त राख्ने ऐतिहासिक स्थलमा स्वास्थ्य सेवाजस्तो महत्वपूर्ण संस्था स्थापना हुनु सकारात्मक भएको बताउनुभयो । नेपाल र नेपालीको हितमा हुने सत्कर्ममा भारत सधैं सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।

डा. पाण्डेले अस्पताल निर्माणका लागि प्रस्तावित स्थलको समेत अवलोकन गर्नुभएको थियो ।

स्थानीय सरकार पनि सहकार्यका लागि तयार
कागेश्वरी मनोहरा नगरपालिका–९ का वडाध्यक्ष अनिल थापाले ऐतिहासिक महत्व बोकेको क्षेत्रमा अस्पताल स्थापना हुनु नगरपालिका र स्थानीयवासीका लागि गौरवको विषय भएको बताउनुभयो ।Gandhi-Tulsimeher-1786864003.JPG

उहाँले अस्पताल सञ्चालनमा स्थानीय सरकारका तर्फबाट आवश्यक सहकार्य र समन्वय गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल चर्खा प्रचारक गान्धी तुल्सी स्मारक महागुठीका कार्यवाहक अध्यक्ष भुवन ढुंगाना, महासचिव गोमा गौतम तथा कार्यकारी प्रमुख प्रेमप्रसाद लामिछानेलगायतले ऐतिहासिक भूमिमा प्रत्यारोपण अस्पताल बन्न लागेकामा खुसी व्यक्त गर्दै गुठीका तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

विदेशिने रकम रोक्ने अपेक्षा

नेपालमा मानव अंग प्रत्यारोपणका लागि ठूलो रकम खर्च हुने गरेको छ । स्वदेशमा आवश्यक सेवा सहज रूपमा उपलब्ध नहुँदा कतिपय बिरामी उपचारका लागि विदेश जानुपर्ने अवस्था समेत रहेको छ ।

यस्तो अवस्थामा नेपालमै गुणस्तरीय, सुलभ र गैरनाफामूलक प्रत्यारोपण सेवा विस्तार गर्न सके उपचारका लागि विदेशिने रकम घटाउन तथा बिरामी र परिवारमाथिको आर्थिक भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

किड्नी होप फाउन्डेसनले प्रस्ताव गरेको मोडल कार्यान्वयनमा आएमा प्रत्यारोपण सेवामा सरकारी र निजी क्षेत्रबीच देखिएको शुल्क तथा पहुँचको अन्तर कम गर्नसमेत सहयोग पुग्ने देखिन्छ ।

गान्धी तुल्सी मेहर अस्पताल तथा प्रत्यारोपण केन्द्र सञ्चालनमा आएपछि नेपालमा अंग प्रत्यारोपणको क्षेत्रमा नयाँ सेवा मोडल स्थापित गर्ने लक्ष्य फाउन्डेसनले लिएको छ । Gandhi-tulsimeher1-1786864011.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मिर्गौला