नेभिगेशन

एक बर्षको न्यूरोलोजी फेलोशिपलाई विशेषज्ञको मान्यता नदिन 'नान'को माग

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल एकेडेमी अफ न्युरोलोजी (नान) ले निजी क्षेत्रबाट सञ्चालन भइरहेका एक वर्षे न्युरोलोजी फेलोशिप कार्यक्रमप्रति गम्भीर चासो व्यक्त गरेको छ। एकेडेमीले छोटो अवधिको यस्तो तालिमका आधारमा चिकित्सकलाई ‘नसा रोग विशेषज्ञ’ वा ‘न्युरोलोजिस्ट’को रूपमा मान्यता दिनु उपयुक्त नहुने बताएको छ।

जारी विज्ञप्तिमा एकेडेमीले स्पष्ट पारेको छ कि निजी क्षेत्रका ‘नन–एकेडेमिक’ एक वर्षे फेलोशिप कार्यक्रमबाट प्राप्त प्रमाणपत्रलाई विशेषज्ञताको मान्यता दिन मिल्दैन।

त्यसैले लोक सेवा आयोग, मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरूलाई यस्ता प्रमाणपत्रलाई विशेषज्ञको रूपमा स्वीकार नगर्न आग्रह गरिएको छ। साथै बिरामीहरूलाई पनि आधिकारिक रूपमा मान्यता प्राप्त विशेषज्ञबाट मात्र सेवा लिन सुझाव दिइएको छ।

नानका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड तथा नेपाल मेडिकल काउन्सिलको नियमअनुसार न्युरोलोजीमा विशेषज्ञ बन्न एमडी, डीएम वा पीएचडी जस्ता कम्तीमा तीन वर्ष वा सोभन्दा लामो अवधिको उच्चस्तरीय अध्ययन आवश्यक हुन्छ। एक वर्षे फेलोशिप गरेका चिकित्सकहरूले आफूलाई न्युरोलोजिस्ट भनेर प्रस्तुत नगर्न पनि एकेडेमीले सचेत गराएको छ।

त्यस्तै, यस्ता कार्यक्रम सञ्चालन गरिरहेका संस्थाहरूलाई तुरुन्त बन्द गर्न सुझाव दिँदै जनस्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्दा बिरामीको सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ। विशेषज्ञ सेवाको मान्यताका लागि चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलका निर्देशिका अनिवार्य रूपमा पालना गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट