नेपाल हेल्थ न्युज, दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा पर्दा सेवा विस्तार र पूर्वाधार निर्माण प्रभावित भएको छ। घोराही उपमहानगरपालिका–१४ मा रहेको उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पटक–पटक पहल गरे पनि समस्या अझै समाधान हुन सकेको छैन।
अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक संरचना विस्तार तथा पार्किङ निर्माणजस्ता अत्यावश्यक काम अघि बढाउन नसकेको जनाएको छ। यस विषयमा समन्वय र सहजीकरण गर्न २०८२ चैत १८ गते गृह मन्त्रालय अन्तर्गतको शाखाले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचारसमेत गरेको थियो।
यता, उक्त क्षेत्रमा बसोबास गर्दै आएका सुकुमवासी तथा भूमिहीनहरूले भने वैकल्पिक पुनर्वासको सुनिश्चितता भए मात्र जग्गा खाली गर्ने अडान लिएका छन्। स्थानीय भीमा कामीले आफूहरूसँग आफ्नै जमिन नभएकाले बाध्यतावश खोला किनारमा बस्नुपरेको बताउँदै स्थायी बसोबासको व्यवस्था भए अन्यत्र सर्न तयार रहेको बताइन्।
स्थानीय मानबहादुर बुढाले पनि २०४० सालदेखि सोही क्षेत्रमा बस्दै आएको उल्लेख गर्दै अहिले हटाउन खोज्दा आफूहरू कहाँ जाने भन्ने अन्योल बढेको बताए। स्थानीयवासीहरूको साझा माग पुनः विस्थापित नहुने गरी स्थायी व्यवस्थापन गरिनुपर्ने रहेको छ।
वडा सदस्य तथा टोल विकास समितिकी अध्यक्ष रचना कुमालका अनुसार उक्त क्षेत्रमा हाल १५९ घरपरिवार बसोबास गर्दै आएका छन्। जसमध्ये पुलचोक खोलीगाउँमा ५४ र ट्राफिकचोक खोलीगाउँ टोलमा १०५ घरपरिवार रहेका छन्। प्रतिष्ठानका निमित्त निर्देशक प्रा.डा. जनार्दन पन्थीले सेवा विस्तार र शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक भौतिक संरचना निर्माण गर्नुपर्ने भए पनि बस्तीका कारण समस्या उत्पन्न भएको बताए।
जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रतिष्ठान, स्थानीयवासी र घोराही उपमहानगरपालिकाबीच समन्वय गरी वास्तविक सुकुमवासीको पहिचान गर्दै समस्या समाधानका लागि पहल गरिने जानकारी दिए।
१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३

