नेभिगेशन

भृकुटीमण्डपमा सुरु भयो ‘नेपाल मेडिकल सो तथा ल्याब एक्स्पो–२०२६’

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा, मेडिकल प्रविधि र प्रयोगशाला क्षेत्रलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ आजदेखि राजधानीको भृकुटीमण्डप मा सुरु भएको छ। तीन दिनसम्म चल्ने यस प्रदर्शनी रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) को आयोजनामा  सुरु भएको हो।

प्रदर्शनीको उद्घाटन गर्दै चन्द्रप्रसाद ढकालले स्वास्थ्य क्षेत्रमा तीव्र रूपमा भित्रिँदै गरेका नयाँ प्रविधिहरूको जानकारी सर्वसाधारणसम्म पुर्‍याउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए। उनले निजी क्षेत्रको सक्रिय सहभागिताले अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै स्वास्थ्य सेवाको गुणस्तर सुधारमा पनि योगदान पुग्ने धारणा राखे।

कार्यक्रममा भक्त हमालले अस्पताल स्थापना वा सेवा विस्तार गर्न चाहनेहरूका लागि एक्स्पो उपयोगी हुने उल्लेख गरे। उनका अनुसार यहाँ अक्सिजन सप्लाइ प्रणालीदेखि सीटी स्क्यान र एमआरआईजस्ता अत्याधुनिक उपकरणसम्म प्रत्यक्ष अवलोकन र तुलना गर्न सकिन्छ, जसले लगानी र प्रविधि छनोटलाई सहज बनाउँछ।

हमालले स्वास्थ्य सामग्री आपूर्तिसँग सम्बन्धित केही चुनौतीहरू पनि औंल्याए। समयमै भुक्तानी नहुनु, करसम्बन्धी जटिलता तथा मूल्य निर्धारणका विषयले व्यवसायीहरू प्रभावित भएको भन्दै उनले उपकरणको गुणस्तर सुनिश्चित गर्न प्रभावकारी मान्यता प्रणाली आवश्यक रहेको बताए। उद्घाटन सत्रमा डा. अनिल बिक्रम कार्की, डा. पदमबहादुर खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए।

प्रदर्शनीमा नेपालसहित भारत र अन्य देशका कम्पनीहरूको सहभागिता रहेको छ। यहाँ अस्पताल, नर्सिङ होम, डायग्नोस्टिक सेन्टर, औषधि उद्योग, अनुसन्धान संस्था तथा शैक्षिक संस्थासँग सम्बन्धित स्टलहरू राखिएका छन्। आयोजकका अनुसार सयौँ अन्तर्राष्ट्रिय ब्रान्ड र हजारौँ स्वास्थ्यसम्बन्धी उत्पादन तथा सेवाहरू एउटै स्थानमा अवलोकन गर्न सकिनेछ।

स्वास्थ्य क्षेत्रमा क्रियाशील उद्यमी, चिकित्सक, प्राविधिक तथा विद्यार्थीहरूबीच प्रत्यक्ष अन्तर्क्रिया र ज्ञान आदानप्रदानको अवसर सिर्जना गर्ने लक्ष्यसहित आयोजना गरिएको यो एक्स्पोले आधुनिक प्रविधिको प्रयोग विस्तार गर्न तथा सेवा सुधारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट