नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा क्यान्सर गम्भीर स्वास्थ्य समस्याका रूपमा उभिँदै गएको छ । साथै क्यान्सरको स्वरूप पनि बदलिँदै गएको पछिल्ला तथ्यांकहरुले स्पष्ट संकेत गरेका छन् ।
२२ हजार नयाँ बिरामी, १४ हजारभन्दा बढी मृत्यु
ग्लोबोक्यानको पछिल्लो २०२२ को तथ्यांकमा नेपालमा वर्षेनी २२ हजार ८ जनामा नयाँ क्यान्सर पहिचान हुने र १४ हजार ७०४ जनाको मृत्यु हुने उल्लेख छ ।
पुरुषभन्दा महिलामा क्यान्सर !
क्यान्सरको नयाँ केस हेर्दा पुरुषमा ९,७९२ र महिलामा १२,२१६ देखिएका छन् । महिलामा क्यान्सरको संख्या बढी देखिनुको प्रमुख कारण स्तन र पाठेघरको मुख (सर्भिक्स) क्यान्सरलाई मानिएको छ । उमेर–मानकीकृत क्यान्सर दर दुवै लिङ्गमा झण्डै समान देखिए पनि ७५ वर्ष पुग्नुअघि क्यान्सर हुने जोखिम पुरुषमा ८.९ प्रतिशत र महिलामा ८.४ प्रतिशत रहेको छ ।
फोक्सो क्यान्सर अझै पनि नम्बर एक
नेपालमा क्यान्सरको चित्र हेर्दा फोक्सो क्यान्सर अझै पनि सबैभन्दा अगाडि देखिन्छ । सन् २०२२ मा दुवै लिङ्ग मिलाएर २,४३१ जनामा फोक्सो क्यान्सर देखिएको छ जुन कुल क्यान्सरको ११ प्रतिशत हो । धूम्रपान, प्रदूषण र दाउरा–धुवाँलाई यसको प्रमुख कारणका रूपमा लिइन्छ ।
महिलामा स्तन र पाठेघरको मुख क्यान्सरको दबदबा
महिलामा देखिने क्यान्सरमध्ये स्तन क्यान्सर पहिलो स्थानमा छ । सन् २०२२ मा २,२५५ महिला स्तन क्यान्सरबाट प्रभावित भएका थिए जुन कुल महिला क्यान्सरको करिब १८.५ प्रतिशत हो । त्यसपछि पाठेघरको मुख (सर्भिक्स) क्यान्सर दोस्रो स्थानमा छ । समयमै स्क्रिनिङ र खोपको पहुँच बढाउन सके यस प्रकारको क्यान्सर धेरै हदसम्म रोकथाम गर्न सकिने चिकित्सकहरूको भनाइ छ ।
पुरुषमा फोक्सो र पेट क्यान्सर प्रमुख
पुरुषमा सबैभन्दा धेरै फोक्सो क्यान्सर (१५.६%) देखिएको छ । त्यसपछि पेट (आमाशय) क्यान्सर र ओठ तथा मुखगुहाको क्यान्सर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । विशेषगरी धुम्रपान, मदिरा सेवन, सुर्तीजन्य पदार्थको प्रयोग र अस्वस्थ खानपानलाई यसको प्रमुख जोखिम कारक मानिन्छ ।
क्यान्सरबाट मृत्युको मुख्य कारण पनि फोक्सो
क्यान्सरबाट हुने मृत्युको तथ्यांक झनै चिन्ताजनक देखिन्छ । सन् २०२२ मा क्यान्सरका कारण १४ हजारभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । पुरुषमा फोक्सो, पेट र कलेजो क्यान्सर मृत्युको मुख्य कारण बनेको छ भने महिलामा पाठेघरको मुख, स्तन र फोक्सो क्यान्सर अग्रस्थानमा छन् । दुवै लिङ्ग मिलाएर हेर्दा फोक्सो क्यान्सर नै सबैभन्दा धेरै मृत्यु गराउने क्यान्सर हो ।
सर्भाइभर दर बढ्नु सकारात्मक संकेत
पाँच वर्षभित्र बाँच्न सफल क्यान्सर बिरामीको संख्या ४४ हजारभन्दा बढी हुनुले उपचार पहुँच र सेवामा सुधार आएको संकेत पनि हो । विशेषज्ञहरू भन्छन्—‘क्यान्सर चाँडै पहिचान भएमा उपचार सम्भव छ, तर ढिलो हुँदा मृत्युदर बढ्छ ।’
रोकथाम र प्रारम्भिक पहिचान नै समाधान
स्वास्थ्य विशेषज्ञहरू क्यान्सर नियन्त्रणका लागि रोकथाम, स्क्रिनिङ र जनचेतनालाई मुख्य उपाय मान्छन् । धूम्रपान त्याग, स्वस्थ जीवनशैली, नियमित स्वास्थ्य परीक्षण, महिलामा स्तन तथा सर्भिक्स क्यान्सरको स्क्रिनिङ र खोप कार्यक्रम प्रभावकारी बनाउन सके क्यान्सरको बोझ घटाउन सकिने उनीहरूको सुझाव छ । क्यान्सर अब केवल अस्पतालको समस्या नभई समाज, परिवार र राष्ट्रकै साझा चुनौती बनेको छ । समयमै सचेतना र नीति–कार्यक्रमको प्रभावकारी कार्यान्वयन नै नेपालमा क्यान्सर नियन्त्रणको दिगो बाटो हुनसक्छ ।
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक तथा शैक्षिक सहकार्यको सम्झौता
आइतबार, साउन १७, २०८३
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव
शुक्रबार, साउन १५, २०८३

