नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगत तर्फको कार्यकारीणी सदस्यमा नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी निर्वाचित हुनुभएको छ। तर यो विजय सामान्य थिएन । निर्वाचनमा दुवै प्रतिस्पर्धीले समान ५०–५० मत प्राप्त गरेपछि नेतृत्व बाँडफाँटको अनौठो सहमति भएको छ।
बराबरीले जन्मायो सहकार्यको मोडेल
वैशाख २२ गते सम्पन्न निर्वाचनमा स्पष्ट विजेता नआएपछि दुवै पक्षबीच संवाद सुरु भयो। अन्ततः ‘प्रतिस्पर्धा होइन, सहकार्य’ भन्ने सन्देश दिने गरी कार्यकाल आधा–आधा बाँड्ने सहमति जुट्यो। यो सहमतिअनुसार विप्लव अधिकारी र उनका प्रतिस्पर्धीले निश्चित अवधिसम्म पालैपालो कार्यकारीणी सदस्यको जिम्मेवारी सम्हाल्नेछन्। महासंघको इतिहासमा यस्तो अभ्यास दुर्लभ मानिन्छ। यसले नेतृत्वमा सहअस्तित्व, समझदारी र संस्थागत परिपक्वताको संकेत दिएको विश्लेषण गरिएको छ।
औषधि क्षेत्रबाट उकासिँदै नेतृत्व
पहिलो पटक महासंघको निर्वाचनमा सहभागी भएका अधिकारी औषधि उत्पादन तथा आपूर्ति क्षेत्रका अनुभवी व्यवसायीका रूपमा परिचित छन्।
नेपाल औषधि उत्पादक संघमार्फत उनले देशभित्र औषधि उत्पादन विस्तार, गुणस्तर सुधार र आयात निर्भरता घटाउँदै आत्मनिर्भरता प्रवर्द्धनमा निरन्तर भूमिका खेल्दै आएका छन्।
उनको नेतृत्वले स्वदेशी औषधि उद्योगलाई व्यवस्थित बनाउने, नीतिगत सुधारमा आवाज उठाउने र अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन प्रणाली विकास गर्ने अपेक्षा गरिएको छ।
निजी क्षेत्रको नयाँ संकेत
महासंघभित्र देखिएको यो सहमति केवल एउटा पद बाँडफाँट मात्र होइन, निजी क्षेत्रभित्र बढ्दो सहकार्य संस्कृतिको संकेत पनि हो।
विशेषतः स्वास्थ्य र औषधि क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने नेतृत्वले सहमति र समन्वयलाई प्राथमिकता दिनु सकारात्मक रूपमा हेरिएको छ। बराबरी मतबाट सुरु भएको यो यात्रा अन्ततः सहकार्यमा रूपान्तरण भएको छ। विप्लव अधिकारीको महासंघ प्रवेशसँगै औषधि उत्पादन क्षेत्रको आवाज अझ सशक्त बन्ने अपेक्षा गरिएको छ भने आधा–आधा कार्यकालको मोडेलले नेतृत्वमा नयाँ अभ्यासको ढोका खोलेको छ।
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३
युरोपबाट म्याग्नस फार्मालाई अन्तर्राष्ट्रिय सम्मान
शुक्रबार, जेठ २९, २०८३
चितवनमा औषधि पसलमा छापाः आहारपूरक, कस्मेटिक र मसाज तेलको नियमनमा उठेका प्रश्न
बुधबार, जेठ २७, २०८३
युरोपेली स्किनकेयर ब्रान्ड ‘प्योर डर्मा’ को नेपाल प्रवेश
आइतबार, जेठ २४, २०८३
