नेपाल हेल्थ न्युज, काठमाडौं । स्वदेशी औषधि उत्पादन कम्पनी एमडीएच फार्मास्युटिकल्स प्रालि ले प्रतिष्ठित ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ प्राप्त गर्न सफल भएको छ ।
युरोपियन सोसाइटी फर क्वालिटी रिसर्च (इएस्क्वीआर) ले बेल्जियमको ब्रसेल्समा हालै आयोजना गरेको विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक दाहाललाई उक्त सम्मान प्रदान गरिएको हो ।
दाहाल नेपाल औषधि उत्पादक सङ्घका पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।
यस सम्मानलाई नेपाली औषधि उद्योगको गुणस्तर, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमताको मान्यताका रूपमा हेरिएको छ । विशेषगरी स्वदेशमै उच्चस्तरीय औषधि उत्पादन गर्दै आएको एमडीएच फार्मास्युटिकल्सले पछिल्ला वर्षहरूमा अनुसन्धान, विकास र नवीन प्रविधिको प्रयोगमा उल्लेखनीय प्रगति गर्दै आएको छ ।
कम्पनीले नेपालमै पहिलोपटक ‘ड्राइ पाउडर इनहेलर’ उत्पादन गर्दै आएको छ । दम, निमोनियालगायत श्वासप्रश्वास तथा फोक्सोसम्बन्धी विभिन्न रोगका बिरामीहरूको उपचारमा प्रयोग हुने यो प्रविधि स्वदेशमै उत्पादन हुनुले आयात प्रतिस्थापनका साथै बिरामीलाई सहज पहुँच सुनिश्चित गर्न सहयोग पुगेको बताइएको छ ।
अवार्ड ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत दाहालले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली औषधि उद्योगको प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँले गुणस्तरीय उत्पादन, अनुसन्धान र नवप्रवर्तनमार्फत नेपाली औषधि उद्योगलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।
मानव स्वास्थ्यका साथै पशु स्वास्थ्यका लागि आवश्यक विभिन्न औषधिहरू उत्पादन गर्दै आएको एमडीएच फार्मास्युटिकल्सले औषधि अनुसन्धान तथा विकास (आर एन्ड डी) क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गरिरहेको जनाएको छ ।
उद्योग क्षेत्रका जानकारहरूका अनुसार अन्तर्राष्ट्रिय स्तरको यस्तो सम्मानले नेपाली औषधि उद्योगप्रति विश्व समुदायको विश्वास बढ्नुका साथै स्वदेशी उत्पादनको गुणस्तर र विश्वसनीयतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । साथै यसले नेपालमा उत्पादित औषधिहरूको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि समेत सकारात्मक आधार तयार पार्ने विश्वास गरिएको छ ।
‘ब्रान्डभन्दा पर औषधि’ विषयमा नेपाल फार्मास्युटिकल्स ल्याबको वैज्ञानिक प्रशिक्षण
बिहीबार, असार ३२, २०८३
युरोपबाट म्याग्नस फार्मालाई अन्तर्राष्ट्रिय सम्मान
शुक्रबार, जेठ २९, २०८३
चितवनमा औषधि पसलमा छापाः आहारपूरक, कस्मेटिक र मसाज तेलको नियमनमा उठेका प्रश्न
बुधबार, जेठ २७, २०८३

