नेभिगेशन
औषधिको गुणस्तर, जनस्वास्थ्य सुरक्षा र व्यवसायिक विश्वसनीयता जोगाउन कडा निर्देशन

औषधि बजारमा अनुशासनको अभियान: आधिकारिक स्रोतबाट मात्र औषधि खरिद गर्न आग्रह

औषधिको गुणस्तर, बिरामीको सुरक्षा र व्यवसायिक विश्वसनीयता जोगाउन नेपाल औषधि व्यवसायी संघको १० बुँदे निर्देशन, नियम उल्लङ्घन गरे कानुनी कारबाहीको चेतावनी

नेपाल हेल्थ न्युज, काठमाडौं। औषधिको गुणस्तर कायम राख्दै सुरक्षित आपूर्ति प्रणाली सुनिश्चित गर्न तथा जनस्वास्थ्यको संरक्षण गर्न सम्पूर्ण थोक तथा खुद्रा औषधि व्यवसायीहरूलाई अनधिकृत स्रोतबाट औषधि खरिद–बिक्री नगर्न आग्रह गरिएको छ। औषधि व्यवसायमा देखिन सक्ने अनियमितता, नक्कली वा स्रोत पुष्टि नभएका औषधिको कारोबार तथा कानुनी जटिलता न्यूनीकरण गर्ने उद्देश्यले नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले विस्तृत निर्देशन जारी गरेको हो।

काठमाडौं जिल्ला शाखा अध्यक्ष शंकर महर्जन र महासचिव शुभ मान श्रेष्ठद्वारा जारी सूचनामा औषधि व्यवसायीहरूले आधिकारिक उत्पादक, आधिकारिक आयातकर्ता वा उनीहरूले नियुक्त गरेका आधिकारिक स्टकिस्ट तथा थोक बिक्रेताबाट मात्र औषधि खरिद गर्नुपर्ने उल्लेख गरिएको छ। स्रोत पुष्टि नभएका वा अनधिकृत माध्यमबाट आएका औषधिको खरिद, बिक्री तथा वितरण नगर्न विशेष अनुरोध गरिएको छ।

सूचनाअनुसार खुद्रा औषधि व्यवसायीहरूले आधिकारिक थोक बिक्रेताबाहेक अन्य कुनै व्यक्ति वा माध्यमबाट प्राप्त औषधि बिक्री गर्न नहुने उल्लेख गरिएको छ। केही बढी मुनाफाको लोभमा स्रोत पुष्टि नगरी औषधि कारोबार गर्नु जनस्वास्थ्य र व्यवसाय दुवैका लागि गम्भीर जोखिम हुने भन्दै व्यवसायीहरूलाई सजग रहन आग्रह गरिएको छ।

त्यसैगरी थोक बिक्रेताहरूलाई बिल जारी गर्दा वा कम्प्युटर प्रणालीमा विवरण प्रविष्टि गर्दा औषधिको व्याच नम्बर, एक्पाइरी डेट, म्याक्सिम रिटेल प्राइस( एमआरपी) तथा क्वालिटी अनिवार्य रूपमा मिलान गरी मात्र बिल जारी गर्न निर्देशन दिइएको छ। कुनै पनि फर्मको नाममा बिल जारी गर्नुअघि सम्बन्धित आधिकारिक व्यक्तिको स्वीकृति वा प्रमाणित माध्यमबाट खरिद अनुरोध प्राप्त भएको सुनिश्चित गर्नुपर्ने व्यवस्था पनि सूचनामा समेटिएको छ।

सूचनाले अर्को गम्भीर विषयतर्फ पनि ध्यानाकर्षण गराएको छ। कुनै पनि फर्मको नाम, प्यान नम्बर वा अन्य आधिकारिक विवरण प्रयोग गरी तेस्रो पक्षलाई औषधि बिक्री गर्ने वा बिल जारी गर्ने कार्य तत्काल बन्द गर्न व्यवसायीहरूलाई आग्रह गरिएको छ। यस्तो कार्य प्रचलित कानुनअनुसार कसुर ठहर हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन भनिएको छ।

खुद्रा व्यवसायीहरूले पनि आफ्नो फर्मको नाम, एब्ल् नम्बर वा आधिकारिक विवरण कुनै अन्य व्यक्तिलाई प्रयोग गर्न नदिन र आफ्ना नियमित थोक बिक्रेतालाई प्रत्यक्ष उपस्थितिबिना वा आधिकारिक निर्देशनबिना आफ्नो नाममा बिल जारी नगर्न स्पष्ट जानकारी गराउन अनुरोध गरिएको छ।

एसोसिएसनले औषधि खरिद गर्दा डिडिए दर्ता नम्बर, प्यान, व्याच नम्बर, एक्सपाइरी डेट, उत्पादक वा आयातकर्ताको नाम, मार्केटिंग लाइसेन्स नम्बर लगायत सम्पूर्ण विवरण अनिवार्य रूपमा परीक्षण गरी अभिलेख व्यवस्थित राख्न आग्रह गरेको छ। कुनै पनि विवरणमा शंका उत्पन्न भए सम्बन्धित आयातकर्ता वा नियामक निकायसँग तत्काल सम्पर्क गर्न पनि भनिएको छ।

औषधिको गुणस्तर जोगाउन उचित भण्डारण व्यवस्थामा पनि विशेष जोड दिइएको छ। औषधिको प्रकृतिअनुसार आवश्यक तापक्रम, आर्द्रता, प्रकाश तथा अन्य भण्डारण मापदण्ड पालना गर्न तथा शीत शृंखला (कोल्ड चेन) आवश्यक पर्ने औषधिको हकमा थप सावधानी अपनाउन निर्देशन दिइएको छ।

यसैगरी थोक औषधि व्यवसायीहरूले चिकित्सकको पुर्जाको आधारमा प्रत्यक्ष बिरामीलाई औषधि बिक्री गर्ने वा खुद्रा प्रकृतिको कारोबार गर्ने कार्य कानुनविपरीत हुने भएकाले यस्ता गतिविधि पूर्ण रूपमा बन्द गर्न आग्रह गरिएको छ।

सूचनामा औषधिको खरिद, भण्डारण, ढुवानी, बिक्री तथा वितरणका सम्पूर्ण प्रक्रियामा औषधि ऐन, २०३५, औषधि बिक्री वितरण सहिता, २०८० तथा प्रचलित कानुन, मापदण्ड र निर्देशिकाको पूर्ण पालना गर्न सबै व्यवसायीलाई अनुरोध गरिएको छ।

एसोसिएसनले जारी गरेको सूचनाको अन्त्यमा, यस निर्देशनपछि पनि प्रचलित कानुन वा मापदण्डविपरीत गतिविधि गरेको पाइएमा वा सम्बन्धित व्यवसायबाट जारी भएको बिलबिजक वा अन्य प्रमाण फेला परेमा नेपालको प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। त्यस्ता गतिविधिबाट उत्पन्न हुने सम्पूर्ण कानुनी, प्रशासनिक तथा व्यवसायिक जिम्मेवारी सम्बन्धित व्यवसायी स्वयंले वहन गर्नुपर्ने पनि स्पष्ट पारिएको छ।

औषधि व्यवसायलाई पारदर्शी, जिम्मेवार र विश्वसनीय बनाउने तथा सुरक्षित औषधि आपूर्ति प्रणालीलाई थप सुदृढ गर्ने उद्देश्यले जारी गरिएको यो निर्देशनलाई औषधि क्षेत्रको सुशासन सुदृढीकरणतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फर्मा अपडेट