नेपाल हेल्थ न्युज, काठमाडौं। स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी बनाउन स्पष्ट सरकारी नीति, उद्योगमैत्री वातावरण तथा निजी क्षेत्रसँगको प्रभावकारी सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
क्वेष्ट फर्मास्युटिकल्स प्रालिले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा शुक्रबार काठमाडौंमा आयोजना गरेको रजत जयन्ती समारोहमा वक्ताहरूले स्वदेशी औषधि उद्योगले आयात प्रतिस्थापन, रोजगारी सिर्जना र स्वास्थ्य सुरक्षामा उल्लेखनीय योगदान पुर्याइरहेको उल्लेख गर्दै यसको थप प्रवर्द्धनका लागि नीतिगत सुधार अपरिहार्य रहेको धारणा राखे।
वि.सं. २०५६ मा स्थापना भएको कम्पनीले २०५९ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। कम्पनीका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) मापदण्डअनुसार गुणस्तरीय, सुरक्षित र प्रभावकारी औषधि उत्पादन गर्दै आएको क्वेष्टले अनुसन्धान तथा विकास (आरएन्डडी) मा निरन्तर लगानी गर्दै नेपालमै पहिलो पटक सफ्ट जेलाटिन क्याप्सुल र ब्लिस्टर प्याकिङ प्रविधि भित्र्याएको छ।
हाल कम्पनीले १०० भन्दा बढी ब्रान्डका जेनेरिक औषधि उत्पादन गर्दै वार्षिक ३० करोडभन्दा बढी ट्याब्लेट उत्पादन गरिरहेको जनाएको छ। देशभर १५० भन्दा बढी वितरण सञ्जालमार्फत करिब ३० लाख बिरामीसम्म सेवा पुर्याइरहेको कम्पनीले नेपालको करिब पाँच प्रतिशत औषधि आवश्यकताको आपूर्ति गर्दै आएको दाबी गरेको छ। कम्पनीमा हाल ६०० भन्दा बढी कर्मचारी कार्यरत छन्।
समारोहलाई सम्बोधन गर्दै कम्पनीका कार्यकारी निर्देशक उमेशलाल श्रेष्ठले २५ वर्षको यात्रा ग्राहक, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, वितरक, व्यावसायिक साझेदार तथा नियामक निकायको विश्वास र सहयोगकै परिणाम भएको बताउनुभयो। उहाँले भक्तपुरमा अत्याधुनिक इनोभेसन सेन्टर स्थापना गरी हाल आयातमा निर्भर रहेका केही औषधि स्वदेशमै उत्पादन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
उहाँले २०७२ सालको भूकम्प र कोभिड–१९ महामारीजस्ता चुनौतीपूर्ण अवस्थामा पनि कम्पनीले औषधिको आपूर्ति निरन्तर कायम राख्न सफल भएको उल्लेख गर्दै स्वदेशी औषधि उद्योगको थप विकासका लागि उद्योग प्रवर्द्धन, औषधिको मूल्य समायोजन तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने स्पष्ट सरकारी नीति आवश्यक रहेको बताउनुभयो। आगामी दिनमा अनुसन्धान, नवप्रवर्तन, अन्तर्राष्ट्रिय गुणस्तर तथा उत्पादन क्षमता विस्तारमा कम्पनीले थप लगानी गर्ने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले स्वदेशी औषधि उद्योग नेपालको अर्थतन्त्र, रोजगारी र स्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधार भएको बताउनुभयो। नेपालमा करिब ८० अर्ब रुपैयाँको औषधि बजारमध्ये झन्डै ४०–४५ अर्ब रुपैयाँ बराबरको उत्पादन स्वदेशमै भइरहेको उल्लेख गर्दै उनले अनुसन्धान, नवप्रवर्तन र निर्यात प्रवर्द्धनमा क्वेष्ट फर्मास्युटिकल्सले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो।
उहाँले उद्योगीहरूले उठाएका नीतिगत सुधारका माग जायज रहेको उल्लेख गर्दै उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जना गर्ने उद्योगलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुने क्रममा औषधि उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर, बौद्धिक सम्पत्ति अधिकार तथा प्रयोगशाला मान्यता (एक्रेडिटेसन) जस्ता विषयमा क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो। राष्ट्रिय एक्रेडिटेसन प्रणालीलाई सुदृढ बनाउँदै सरकार नीतिगत व्यवस्था, नियमन र पूर्वाधार विकासमा केन्द्रित रहने तथा उद्योग सञ्चालनको नेतृत्व निजी क्षेत्रले नै गर्नुपर्ने उहाँले बताउनुभयो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख साझेदारका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको बताउनुभयो। प्रधानमन्त्रीसँग हालै उद्योग–व्यवसायको मनोबल, नियमन र सहजीकरणका विषयमा छलफल भएको जानकारी दिँदै उहाँले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई समेटेर सरकार–निजी क्षेत्रबीच निरन्तर संवादका लागि संयुक्त संयन्त्र गठन गर्ने तयारी भइरहेको बताउनुभयो। यसबाट उद्योग–व्यवसायमैत्री वातावरण निर्माण हुने र निजी क्षेत्रको मनोबल थप मजबुत हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।
कम्पनीका अध्यक्ष शंकर दास श्रेष्ठ, निर्देशकहरू पृथ्वीराज भण्डारी (निजु), शैलेन्द्र प्रसाद वर्मा तथा उत्तमकुमार श्रेष्ठले कम्पनीको सफलताको श्रेय संस्थापक, कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, ग्राहक, वितरक तथा व्यावसायिक साझेदारलाई दिँदै आगामी दिनमा पनि गुणस्तरीय औषधि उत्पादन, अनुसन्धान, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत नेपालको स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, कम्पनीका एसोसियट डाइरेक्टर आशीष श्रेष्ठले २५ वर्षको सफल यात्रा ग्राहक, चिकित्सक, कर्मचारी तथा व्यावसायिक साझेदारले कम्पनीप्रति देखाएको विश्वासको प्रतिफल भएको बताउनुभयो । उहाँले नयाँ पुस्ताले अनुसन्धान, डिजिटल रूपान्तरण र नवप्रवर्तनलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय औषधि उत्पादनमार्फत नेपालको औषधि उद्योगलाई अझ प्रतिस्पर्धी, आत्मनिर्भर र निर्यातमुखी बनाउने दिशामा काम गरिरहेको उल्लेख गर्नुभयो।
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३
युरोपबाट म्याग्नस फार्मालाई अन्तर्राष्ट्रिय सम्मान
शुक्रबार, जेठ २९, २०८३
चितवनमा औषधि पसलमा छापाः आहारपूरक, कस्मेटिक र मसाज तेलको नियमनमा उठेका प्रश्न
बुधबार, जेठ २७, २०८३
युरोपेली स्किनकेयर ब्रान्ड ‘प्योर डर्मा’ को नेपाल प्रवेश
आइतबार, जेठ २४, २०८३
