नेपाल हेल्थ न्युज, काठमाडौं । विश्व स्वास्थ्य समुदायमा हान्ता भाइरसको प्रकोपको कारण पुनः सतर्क बनेको छ। हालै नेदरल्यान्ड्सको ओसनवाइड एक्स्पेडिसन्स कम्पनीको ‘एमभी होन्डियस’ क्रुज जहाजमा सात जनामा हान्ता भाइरसको सङ्क्रमण पुष्टि वा आशङ्का गरिएको छ। सङ्क्रमितमध्ये तीन जनाको मृत्यु भइसकेको छ भने एक जना अझै गम्भीर अवस्थामा उपचाररत छन्।
जहाज गत अप्रिल १ मा अर्जेन्टिनाबाट प्रस्थान गरेको थियो र अन्टार्कटिका, साउथ जर्जिया तथा ट्रिस्टन दा कुन्हा जस्ता दुर्गम टापुहरूको भ्रमणमा रहेको थियो। मृतकहरूमा एक जना जर्मन नागरिक र नेदरल्यान्ड्सका एक दम्पती रहेका छन्। डच दम्पतीमध्ये पतिको अप्रिल ११ मा जहाजमै मृत्यु भएको थियो भने पत्नीको अप्रिल २६ मा दक्षिण अफ्रिकामा उपचारको क्रममा ज्यान गएको थियो।
हान्ता भाइरस के हो ?
हान्ता भाइरस ‘बुनियाभिरिडी’ परिवारमा पर्ने घातक जुनोटिक भाइरस हो। मुख्य स्रोत मुसाजन्य जीवहरू हुन् र यो भाइरस प्रायः मुसाको पिसाब, दिसा वा र्यालबाट मानिसमा सर्छ। यसले मानिसको फोक्सो, मुटु र मृगौलामा गम्भीर असर पुर्याउन सक्छ।
अमेरिकी महाद्वीपमा पाइने न्यू वर्ल्ड हान्ता भाइरसले हान्ता भाइरस पल्मोनरी सिन्ड्रोम निम्त्याउँछ भने युरोप, एसिया र अफ्रिकामा पाइने ओल्ड वर्ल्ड प्रजातिले हेमरेजिक फिभर विथ रिनल सिन्ड्रोम गराउँछ।
सामान्यतया यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्दैन। तर दक्षिण अमेरिकामा पाइने ‘एन्डिज’ प्रजातिमा केही सीमित घटना रेकर्ड भएका छन्। विश्व स्वास्थ्य सङ्गठनका महामारी विशेषज्ञ डा. मारिया भान केर्खोभका अनुसार, क्रुज जहाजमा केही सङ्क्रमितबीच घनिष्ठ सम्पर्क भएको देखिँदा मानिसबाट मानिसमा सर्ने सम्भावना पूर्ण रूपमा नकार्न सकिँदैन।
उपचार र रोकथाम
अहिलेसम्म हान्ता भाइरसको कुनै निश्चित औषधि वा खोप छैन। सङ्क्रमितलाई अस्पतालमा सहयोगी उपचार (सघन उपचार कक्ष, अक्सिजन, भेन्टिलेटर) उपलब्ध गराइन्छ।
सबैभन्दा प्रभावकारी रोकथाम भनेको मुसाहरूसँग सम्पर्क टाढा राख्नु, सरसफाइमा ध्यान दिनु, मास्क र पञ्जा प्रयोग गर्नु हो। खाना र भण्डारण सतहहरू मुसाबाट सुरक्षित राख्न आवश्यक छ।
विश्व स्वास्थ्य सङ्गठनले संकेत गरेको छ, सचेतना, सावधानी र व्यक्तिगत सरसफाइ हान्ता भाइरससँग लड्ने सबैभन्दा बलियो हतियार हुन्।
१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३

